+
+

ग्लोबल आईएमई बैंकले लियो आईएफसीबाट साढे ७ अर्ब ऋण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १९:११

१९ माघ, काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो ।

यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा सहयोग गर्न परिचालन गरिने बैंकले जनाएको छ ।

यो लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको बैंकले जनाएको छ ।

नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो यो लगानी तथा परिचालनले ग्लोबल आईएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड–१९ महामारीबाट प्रभावित उद्यम, महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम–व्यवसायलाई सहयोग गर्न सघाउ पुर्‍याउने छ ।

यो ऋणको ५० प्रतिशत ग्लोबल आईएमईले साना तथा मझौला र खुद्रा ग्राहकका लागि जलवायु तथा लैङ्गिक क्षेत्रको लगानीमा समान विनियोजन गर्ने छ । बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यममा कर्जा प्रवाह गर्न प्रयोग गर्ने छ ।

नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैङ्गिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलो हो ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा २२ प्रतिशत योगदान गरेको छ र २० लाख बढीलाई रोजगारी दिएको छ ।

यद्यपि, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा छ । यो अन्तर झन्डै ३ अर्ब ६० करोड डलरको छ । महिला स्वामित्व रहेका साना तथा मझौला उद्यममा यो स्थिति अझ कमजोर छ । महिला स्वामित्व रहेका करिब ५२ प्रतिशत साना तथा मझौला उद्यममा सीमित वित्तीय पहुँच रहेको तथ्यांक छ ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा केन्द्रीय बैंकबाट सधैं सहयोग पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

ग्लोबल आईएमई अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने बताए ।

नेपाल, बंगलादेश र भुटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले आर्ईएफसीको यो विनियोजनले नेपालमा थप महिला सशक्तीकरण गर्ने, रोजगारी सिर्जना गर्ने, र जलवायु तथा आर्थिक क्षेत्रमा वित्तीय पहुँच बढाउने लक्ष्य राखेको बताए ।

नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले आईएफसीको यो लगानीले नेपालका साना तथा मझौला उद्यममा फाइनान्सिङ गर्न सहयोग पुग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?