
काठमाडौं । लाहुरे विरासत त्यागेर फिल्म कर्ममा होमिएका निर्देशक माओत्से गुरुङको फिल्म ‘दयारानी’ माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ ।
गुरुङ फिल्मका यी उम्दा निर्देशकले नेपाली मूलधारमा डेब्यु निर्देशन समेत गर्दैछन् । यो सोसल-ड्रामा फिल्ममार्फत उनले गुरुङ संस्कृतिमा रहेको एक अमिलो पाटोलाई चित्रण गरेका छन् ।
उनको विचारमा सबै कथा बुलन्द हुन्छन् । तर, त्यसलाई मन पराइनु वा मन नपराइनु कुरा वाचकको शैलीमा भर पर्छ । भन्नुको अर्थ, उनी फिल्मको सफलता वा असफलता निर्देशकको शिल्पमा निर्भर हुन धारणा राख्छन् ।
कमेडी मिसाइएको यो फिल्ममार्फत माओत्सेले पुरुष अहंकारलाई कटाक्ष गरेका छन् । ‘यो फिल्मले अंहकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ । सबै पुरुष होइनन्, हाम्रा समाजमा केही पुरुष त्यस्ता छन् जो आफ्ना कमजोरीको दोष पनि अरुमाथि थोपर्ने चेष्टा गर्छन् । म कमजोर छु भन्ने कुरालाई आत्मसात गर्न नसक्ने पुरुषको मनोवृत्ति यसमा छ’ उनले भने ।
फिल्मले पुरुषको अंहकारलाई महिलाले कुनरुपमा झेल्नुपर्छ भन्ने कुरालाई फिल्मले चित्रण समेत गर्ने बतााए । ‘हाम्रो समाजको पितृसत्ता महिलामाथि अझै हावी छ भन्ने देख्नसक्नुहुन्छ’, उनले भने ।
‘दयारानी’ पाँच वर्ष अगाडि तयार भएको फिल्म हो । तर पर्दामा हेर्दा यो सदाबहार कथा सावित हुने गुरुङको बुझाइ छ । आफ्नै साथीभाइ, इष्टमित्रबिच भएको घटना रुचिकर हुनसक्ने भएकाले फिल्ममा उतारेको माओत्सेको कथन छ ।
निर्माता तयार भएमा फिल्मको दोसो श्रृंखला ल्याउने संकेत उनले दिए । ‘सिक्वेल हेर्न धेरै समय कुर्नुपर्दैन । कथा तयार छ । निर्माताले हरियो संकेत गरे एकडेढ वर्षभित्र सिक्वेल पस्किन तयार छौं’ उनले भने ।
यो फिल्म नेपाली डायस्पोरामा भने स्क्रिनिङ भैसकेको छ । त्यहाँबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।
प्रतिक्रिया 4