+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
विचार :

संवाद यात्रामा नागरिकले के सुनाइरहेका छन् ?

उत्पादित वस्तुले बजार नपाएको भन्दै बजार प्रणाली बारे अधिकांश नागरिकले प्रश्न गर्नुभएको छ, ‘बाटो बनिसक्यो तर, हामीले उत्पादन गरेको तरकारी किन बजार पुग्न सकिरहेको छैन ?’ 

गगन थापा गगन थापा
२०८० माघ २१ गते १४:५२

समुदायमा कांग्रेस अभियानको मुख्य उद्देश्य संवादसँगै यात्रा हो । यो अभियानका लागि पार्टीले निर्दिष्ट गरेका पाँच प्रारूप अन्तर्गत रहेर संवाद यात्रा जारी छ ।

झापाको छोटी भन्सारबाट माघ १३ गते संवाद यात्रा थालनी गरेका थियौं । यात्रा सुरु गर्दा महामन्त्रीमा प्रतिस्पर्धा गरेका तीन जना थियौं भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रारम्भ गर्ने समयमा सहभागी हुनुभयो । यात्रा गर्ने घोषणापछि सबै जनाले ‘कम सुनाउने, बढी सुन्ने’ सुझाव दिनुभएको थियो । पार्टी जिल्ला समितिले संवाद यात्राको अपनत्व लिएसँगै पार्टी पङ्क्ति क्रियाशील भएको छ ।

संवाद यात्रामा खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाहको अवस्था, अवलोकन भ्रमण लगायत माध्यमबाट नागरिकसँग संवाद गरिरहेका छौं । संवादका क्रममा कृषक, युवा लगायत स्थानीय समुदायका माझमा पुगेर कुरा गर्‍यौ । यसक्रममा डुबान, सिंचाइ र मलको विषयलाई महत्वका साथ नागरिकले उठाएका छन् ।

झापामा पहिलो दिन दुई स्थानमा संवाद गर्दा जंगली हात्तीको समस्या असाध्यै धेरै सुन्यौं । त्यहाँ सबैभन्दा ठूलो चिन्ताको विषय नै जंगली हात्ती रहेछ । दुई महिनाअघि मात्रै जंगली हात्तीको आक्रमणबाट एक स्थानीयले ज्यान गुमाएको थाहा भयो । कतिबेला कसरी जंगली हात्ती आउने हो भनेर स्थानीय अत्यन्तै चिन्तित देखिन्छन् ।

जंगली हात्तीको आतंकबाट बच्न केही समयअघि नेता कृष्ण सिटौलाको पहलमा ‘इलेक्ट्रिक तार’ राख्ने काम पनि भएको रहेछ । स्थानीय सरकार बनिसकेपछि यो समस्या समाधानका लागि स्थानीय सरकारले हेर्ने कि समुदायले हेर्ने भन्नेमा अलि द्विविधा जस्तो पनि देखिन्छ । प्राकृतिक संरक्षण कोषले थप काम गरिदियो भने त्यहाँको स्थानीय सरकार काम गर्न तयार नै छ ।

हुलाकी राजमार्ग बनिरहेका प्रायः जिल्लामा दैनिक जीवनयापनका लागि पारि (भारत)को भर छ । पारिकै बजारमा गएर सामान्य किनमेल हुने भयो । छोटी भन्सार नहुँदा दैनिक जीवनयापन गर्न गाह्रो भएको स्थानीयले सुनाए । साथै, भन्सार नहुँदा चोरी–निकासी बढी हुनेभयो । प्रशासन राम्रोसँग चल्दा कहाँ कसले के चोरी गरेर ल्यायो भन्नेमा ध्यान जानेभयो । तर, प्रशासन नै सहयोगी बनेको छ भने त्यहीं भित्रबाट चोरी–निकासीका लागि चलखेल हुनेभयो । यस्तो हुनुभन्दा छोटी भन्सार सञ्चालन गरिदिए सबै प्वाल बन्द हुन्छ भन्ने स्थानीयले सुझाव दिएका छन् । यो समस्या कोशीको झापादेखि मधेशका जिल्लामा सुनें ।

ठाउँ अनुसार समस्या फरक–फरक देखिएका छन् । पुलको समस्या सुनाउने स्थानीय धेरै भेटिए । झापाको कन्काइ पुल बन्ने हो भने त्यहाँका तीन पालिका विराटनगरसँग जोडिने छोटो बाटो बन्छ । कनेक्टिभिटीले आर्थिक विकासको नयाँ ढोका खुल्छ । बाटा बनेका छन् तर खण्ड–खण्ड छ । देशको अवस्थासँग त्यो पुलको अवस्था जोडिन्छ ।

मधेशी समुदाय बसोबास गरेका जिल्लामा जहाँ जाँदा पनि नागरिकताको समस्या सुनें । नागरिकताको कानुन बनेपछि त सजिलो भयो होला नि भनेर हामीले सोचेका थियौं तर होइन रहेछ ।

राजमार्ग बनिसकेपछि सडकलाई आर्थिक जीवनसँग कसरी जोड्ने भन्नेमा हाम्रो सोच पुगेको छैन । बनेका बाटोलाई पुलले जोडेपछि त्यसले अवसर लिएर आउँछ । त्यतिका खर्च गरेर बाटो बनाएपछि पनि पुल नबनाउने हो भने त हामीले ठूलो ‘अवसरको मूल्य’ चुक्ता गरिरहेका छौं । समयमा पुल नबन्दा स्थानीयको जनजीवन थप असहज बनेको छ । पुल नबन्दाको क्षतिलाई हेरिरहेका छैनौं । पुल नबन्नु भनेको त पूर्वाधारलाई आर्थिक उपार्जनसँग जोड्न नसक्नु हो ।

वैदेशिक रोजगारमा जानेहरूको संख्या ठूलो छ । पहाड र मधेश हेर्दै गर्दा वैदेशिक रोजगारबाट फर्कनेहरूको लागि लगानीको स्थान फरक देखिन्छ । पहाडबाट रोजगारीमा जानेहरूको कमाइ शहरी क्षेत्र वा पहाडबाट तराई झर्नका लागि खर्च भइरहेको देखिन्छ । विदेशमा गएको युवाको परिवार शहर बसिसकेका हुन्छन् । कमाएको रकम गाउँमा खर्च गर्ने विरलै हुन्छन् । लुम्बिनीका पहाडी जिल्लाबाट तलका जिल्ला झरेको देखिन्छ ।

तर, मधेशका जिल्लामा बसाइँसराइ गरेर घर बनाएको देखिंदैन । बाटोघाटो बनेकोले आफ्नै थातथलोमा सानो घर बनाएर बसेको देखिन्छ । पढाइका लागि परिवारका सदस्य डेरा लिएर शहर–बजारमा बसे पनि स्थायी बसोबास सारेको न्यून देखिन्छ । यसरी वैदेशिक रोजगारीबाट भएको आर्जन आफ्नै स्थानमा खर्च गरेका छन् ।

मधेशी समुदाय बसोबास गरेका जिल्लामा जहाँ जाँदा पनि नागरिकताको समस्या सुनें । नागरिकताको कानुन बनेपछि त सजिलो भयो होला नि भनेर हामीले सोचेका थियौं तर होइन रहेछ । जन्मसिद्धको आधारमा छोराछोरीले नागरिकता प्राप्त गर्नेमा केही कुरामा सजिलो भयो । तर, नागरिकताको समस्या सुनाउने प्रशस्तै भेटिए ।

आमाको नामबाट पाउने भनिए पनि सम्पूर्ण कागजात नपुगेको भन्दै रोकिएकाले नागरिकता पाउने कार्य जटिल बनिरहेको रहेछ । त्यसका लागि माथिबाट टोली नै पठाएर अध्ययन गर्नुपर्ने देखिन्छ । कानुन अनुसार नागरिकता पाउन नसक्नुको कारण कानुनी जटिलता नै हो कि ?

संवाद यात्रामा प्रशासनसँग पनि अन्तरक्रिया गर्दै हिंडिरहेको छु । मिटरब्याजको विषय गम्भीर पाएँ । सरकारले आयोग गठन गरेपछि थुप्रै व्यक्तिलाई राहत पुगेको पनि रहेछ । साथसाथै, सरकारी संयन्त्रको दुरुपयोग गर्ने क्रम बढेको पनि सुन्न पाएँ । खासगरी मधेशमा वर्षौंअघि अदालतबाट मिलिसकेको मुद्दा पनि ब्युँताउने गरेको सुनें । लेनदेन गर्ने वर्षौंदेखिको प्रचलन तोडिदिंदा रकम नपाउने र दैनिकीमा अप्ठ्यारो हुने चिन्ता पनि सुनाए । त्यसले स्थानीय जनजीवनमा अत्यन्तै ठूलो प्रभाव परेको नागरिकका कुरा सुन्न पाएँ ।

वित्तीय पहुँच नपुगेर दैनिक कार्यमा समस्या पर्ने चिन्ता कतिपयमा रहेछ । ऋण लिने वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँहरूको जोड थियो । गर्जो कसरी टार्ने ? भन्ने बारे बहस भएन भन्नेहरू पनि भेटिए ।

विद्यालय शिक्षाको गुणस्तर अत्यन्तै कमजोर छ । गणित, विज्ञान, अंग्रेजीको पढाइमा कमजोरी छ । विद्यालय शिक्षाको गुणस्तर बढाउन शैक्षिक संस्थामा गर्ने राजनीति बन्द गर्न सुझाव पाएका छौं । संवाद यात्रामा भएका भेटघाटमा धेरैको चिन्ता विद्यालय व्यवस्थापन समिति कस्तो बनाउने ? भन्नेमा देखियो । राजनीतिक विमर्शका कुरामा कसैलाई आरोप लगाएर मात्र हुँदैन । एउटा चरणमा विद्यालय व्यवस्थापनको अहिलेको तरिका लागू गरिए पनि अनुभवको आधारमा फरक तरिकाले हेर्ने विषय राजनीतिक चेतनाकै अंग बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

स्वास्थ्य बीमाको सुरुवातप्रति असाध्यै सकारात्मक प्रतिक्रिया पाएँ । तर बीमाबाट आवश्यक सेवा लिने क्रममा धेरै दुःख पाएको गुनासो पनि सुनियो । निश्चित ठाउँमा मात्रै स्वास्थ्य बीमाको सेवा पाउने, त्यहाँ जाँदा सेवा लिन लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने दुःखका कुरा नागरिकले सुनाए । सेवा दिने ठाउँमै धेरै कुरा अड्किएर बसेका रहेछन् ।

वित्तीय पहुँच नपुगेर दैनिक कार्यमा समस्या पर्ने चिन्ता कतिपयमा रहेछ । ऋण लिने वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँहरूको जोड थियो । गर्जो कसरी टार्ने ? भन्ने बारे बहस भएन भन्नेहरू पनि भेटिए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा पुगें । ३०० बेडको अस्पताल बन्ने र क्षमता विकास गर्ने भनिए पनि लामो समयसम्म त्यो कार्यान्वयनमा आउन नसकेर अड्किएर बसेको छ । प्रदेशले हेरिरहेका केही अस्पतालका सन्दर्भमा पनि कुरा भए । निर्णय कार्यान्वयन सुस्त देखियो । निर्णय गर्ने तर कार्यान्वयन नहुने प्रवृत्ति विरुद्ध अत्यन्तै धेरै गुनासो थियो ।

रोजगारी सिर्जना गर्ने बारेमा खासै काम भएको देखिएन । स्थानीय तहमा नै रोजगारी सिर्जना गर्न सकिन्छ भनेर बहस छ तर रोजगारी भन्यो कि वैदेशिक रोजगारी हुने रहेछ । परिवारको कुनै सदस्य वैदेशिक रोजगारमा जाने, बाँकीले खेती किसानी गर्ने । खेती–किसानीबाट आय बढ्नुपर्‍यो भन्ने नागरिकका कुरा सुनिन्छ ।

 

चिन्ता प्रमुख रूपमा खेती किसानीकै बारेमा बढी छ । सिंचाइ हुन नसकेको चिन्ता छ । मधेशमा कमला डाइभर्सनको कुरा छ । सुनसरीमा सानो सानो नहरको कुरा सुनिन्छ । शैलजा आचार्यको पालामा बन्ने निर्णय भएका नहर अहिले पनि नबनेको गुनासो स्थानीयको छ । नहर नबन्दाका समस्या सुनसरीका नागरिकले सुनाउनुभयो । सिंचाइका कारणले आम्दानी बढ्ने थियो, त्यो लाभ लिन सकिएन भन्ने संख्या ठूलो छ ।

हुलाकी राजमार्गले छोएका जिल्लामा केही स्थानमा व्यावसायिक खेती–किसानी भएको छ । उत्पादित वस्तुले बजार नपाएको भन्दै बजार प्रणाली बारे अधिकांश नागरिकले प्रश्न गर्नुभएको छ । उहाँहरूको प्रश्न छ, ‘बाटो बनिसक्यो तर, हामीले उत्पादन गरेको तरकारी किन धनकुटा पुग्न सकिरहेको छैन ?’

भारतको तरकारी पुग्दा नजिकको जिल्लामा उत्पादित कृषि उपज उपभोक्तासम्म किन पुग्दैन भन्ने चिन्ता उहाँहरूमा छ । उहाँहरूले कृषि उपज लागतभन्दा कम मूल्यमा बेच्नु परेको समस्या सुनाउनुभयो । बजार प्रणालीले काम नगरेको प्रति निराशा व्यक्त गर्दै उत्पादक र उपभोक्ता बीचमा पुग्न भइरहेको समस्यालाई निराकरण गरिदिन राज्यसँग उहाँहरूले आग्रह गर्नुभयो ।

सुनसरीमा रेलमार्गका लागि भनेर जग्गा अधिग्रहण गरिएकोमा नागरिक असन्तुष्ट छन् । बाटोमा जग्गा परेका नागरिकहरूले आफ्नो दुई कट्ठा जग्गा पर्दा पूरै जग्गा किनबेचमा रोक्का गरिदिएको असन्तुष्टि व्यक्त गर्नुभयो । न उहाँहरूलाई रेलमार्ग बन्छ भन्ने विश्वास छ न त जग्गा किनबेच गर्न पाइएको छ । हुलाकी राजमार्ग हिंड्दै गर्दा शक्तिको आडमा बाटो तल–माथि गरिएको पनि सुनाउनुभयो ।

यात्राका क्रममा पोषणको विषयले ध्यान बढी तान्यो । पोषण सम्बन्धी कार्यक्रममा सधैंजसो यसको पक्षमा वकालत गरिरहेको हुन्छु । कुपोषण हामीले अति धेरै छलफल गर्नुपर्ने विषय हो । बाल्यकालमै कुपोषित मानिसलाई पछि गरिने जत्रोसुकै लगानी पनि प्रभावहीन हुन्छ, उसको क्षमतामा विकास गर्न कठिन हुन्छ । उसको पूर्ण क्षमतामा विकास नै हुँदैन । बालबच्चालाई कुपोषणबाट बचाउन अहिले एक रुपैयाँ लगानी गरेनौं भने पछि हजार रुपैयाँ लगानी गरेर केही हुँदैन ।

कुपोषण गरिबीसँग जोडिएको हुन्छ । यो संवादका क्रममा नयाँ कुरा थाहा पाएँ । कुनै एक परिवारको एक सदस्य वैदेशिक रोजगारीमा जानुअघि गरिबी थियो । वैदेशिक रोजगारीले त्यो परिवार गरिबीबाट थोरै बाहिर निस्केको छ । आम्दानी बढ्दा रहनसहनमा परिवर्तन आएको छ । जीवनस्तर उकासिएको परिवारका बच्चाहरू बजारका खानेकुरा किन्न पुग्छन् । सोचनीय कुरा के छ भने यही गरिबीबाट उठेको परिवारमा कुपोषण देखिन्छ ।

यात्राका क्रममा पोषणको विषयले ध्यान बढी तान्यो । पोषण सम्बन्धी कार्यक्रममा सधैंजसो यसको पक्षमा वकालत गरिरहेको हुन्छु । कुपोषण हामीले अति धेरै छलफल गर्नुपर्ने विषय हो ।

जंक फुडमा बानी परेका बच्चाहरू पनि कुपोषणको मारमा परेको सप्तरीमा मलाई चिकित्सकले सुनाए । खराब खानेकुरा खान हुन्न भनेर हामीले सिकाउन सकिएको देखिएन । खानाको उपलब्धता नभएर वा खाना किन्न सक्ने क्षमता नभएर मात्र कुपोषण हुने होइन ।

ती क्षेत्रमा वैदेशिक रोजगारमा जानेहरूको संख्या ठूलो छ । जीवनस्तर उकासिएको छ, गरिबी छैन, कुपोषणबाट मुक्त छन् भनेर हामीले विश्लेषण गरे गलत हुने रहेछ । त्यहाँ त तत्काल पोषण सम्बन्धी कार्यक्रमहरू लैजानैपर्ने देखियो ।

संवाद यात्रामा पार्टीका विषयमा पनि थुप्रै कुरा उठे । प्रायः सबैको मत चुनावी गठबन्धन गर्नै नहुनेमा छ । मधेशकेन्द्रित दलहरूसँग त मिलेर राजनीति गर्नै नहुने सुझाव उहाँहरूले दिनुभएको छ । पार्टीले निर्णय गर्दा समावेशितालाई आधार नबनाएको गुनासो पनि सुन्यौं । मन्त्री र राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा मधेशी मूलका व्यक्ति नभएको आक्रोश मधेशमा छ । जिम्मेवारीमा बसेका कार्यकर्ताको आक्रोश खासै नदेखिए पनि आम शुभेच्छुकको आक्रोश भयंकर छ । ‘राष्ट्रिय सभामा मधेशीलाई किन उम्मेदवार बनाउनुभएन ? मन्त्री मधेशी मूलको किन बनाउनुभएन ?’ जस्ता प्रश्न व्यापक रूपमा उठाउनुभयो ।

मधेशी दलितको कुरा साह्रै धेरै उठे । उहाँहरूको प्रतिनिधित्व शून्य बराबर देखिन्छ । पार्टी केन्द्रीय समितिमा पनि मधेशी दलितको प्रतिनिधित्व शून्य छ । पहाडी दलितसँग आफूहरूले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै मधेशी दलितको आरक्षण छुट्टै आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।

संवाद यात्राको क्रममा एउटै जिल्लामा १०/१२ वटासम्म कार्यक्रम हुन्छन् । निर्धारित समयमा कतिपय स्थानमा पुग्न सकिएको हुँदैन । जाडोको समयमा आफ्ना कुराहरू सुनाउन अबेर रातिसम्म स्थानीयहरू पर्खिरहनुभएको हुन्छ ।

माघ २२ गते बस्ने संसद् बैठकको दिनसम्म करिब १३ जिल्लामा संवाद यात्रा सकिन्छ । संसद् बैठक नबस्ने दिन मिलाएर हुलाकी राजमार्गमा पर्ने अन्य जिल्लाको भ्रमणलाई निरन्तरता दिनेछौं ।

(कांग्रेस महामन्त्री थापासँग गरिएको कुराकानीमा आधारित)

लेखक
गगन थापा

थापा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?