+

छातीमा पानी किन जम्छ, के छ उपचार ?

२०८० माघ  २३ गते १३:१७ २०८० माघ २३ गते १३:१७
Shares
छातीमा पानी किन जम्छ, के छ उपचार ?

छातीभित्र फोक्सोको आसपास पानी जम्मा हुनुलाई मेडिकल भाषामा ‘प्लुरल इफ्युजन’ भनिन्छ । फोक्सो र छातीबीचमा फोक्सोलाई ढाक्ने झिल्लीलाई ‘प्लुरा’ भनिन्छ । त्यसमा सामान्यतया पाँचदेखि १० एमएल पानी  हुन्छ । तर विभिन्न रोगको कारण त्यहाँ पानीको मात्रा बढ्न सक्छ, जसले छातीमा पानी जम्मा हुन्छ ।

फोक्सोमा पानी भरिनुको कारण के हो भन्ने जान्न जरुरी हुन्छ । विज्ञहरूका अनुसार मुटुरोगका कारण फोक्सोमा पानी भरिन्छ । यसबाहेक फोक्सोमा पानी भरिने समस्याका अन्य धेरै कारण छन् ।

छातीमा पानी जम्ने तीन कारण

-शरीरको कुनै अंगले राम्रोसँग काम गर्न नसक्दा फोक्सोमा पानी वा तरल पदार्थ जम्मा हुनसक्छ ।  मुटु, मिर्गौला वा कलेजो फेल हुनु यसको मुख्य कारण हुनसक्छ । लिभर सिरोसिस भएमा पनि फोक्सोमा पानी जम्मा हुनसक्छ ।

-प्लुराको संक्रमण भयो भने पनि छातीमा पानी जम्छ । प्लुरामा धेरै मात्रामा देखा पर्ने संक्रमण भनेको क्षयरोग र निमोनिया नै हो ।

-छातीमा पानी जम्ने तेस्रो कारण फोक्सोको क्यान्सर हुनसक्छ । यसको आशंका गर्न प्रभावित व्यक्तिको उमेर समूह र धुम्रपान गर्ने बानीको विश्लेषण गर्नुपर्छ । साथै मिर्गौलाको समस्या, कलेजोसम्बन्धी दीर्घरोग, विभिन्न खाले बाथरोगमा पनि छातीमा पानी जम्ने समस्या देखा पर्छ ।

छातीमा पानी जम्दा देखा पर्ने लक्षण

छातीमा पानी जम्दा देखा पर्ने मुख्य लक्षण छातीको दुखाइ हो । जतापट्टि छाती जमेको छ त्यो साइडमा दुख्ने समस्या हुन्छ । धेरै पानी जम्दा त्यसले फोक्सोलाई थिचेर श्वासप्रश्वासमा समस्या देखा पर्ने र सुख्खा खोकी लाग्ने जस्ता लक्षण देखा पर्छ ।

साथै पानी जम्नुको कारण अनुसारको लक्षण पनि देखा पर्छ । जस्तो क्षयरोगको कारण छातीमा पानी जमेको छ भने ज्वरो आउने, तौल कम हुने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छ । छातीको संक्रमण हो भने खोकीसँगै पाकेको वा रगत मिसिएको खकार आउने लक्षण देखिन सक्छ ।

उपचार

छातीमा पानी जमेको उपचार गर्न पहिले त के कारणले छातीमा पानी जमेको हो भन्ने कुरा पत्ता लगाउनुपर्छ । त्यसका लागि त्यो पानीलाई जाँच गर्नुपर्छ । यदि पानीको जाँच गर्दा पनि समस्या पत्ता लगेन भने बायोप्सी गर्नुपर्छ ।

यसरी जाँच गर्दा के कारणले पानी जमेको हो भन्ने कुरा पत्ता लग्छ । संक्रमण भएको छ भने एन्टिबायोटिक खानुपर्छ । क्षयरोग भएको छ भने त्यसको औषधि  खानुपर्छ । क्यान्सरको कारण पानी जमेको छ भने त्यसैअनुसार उपचार गर्नुपर्छ । यसरी कारणको उपचार गरेपछि यो समस्या निको हुन्छ ।

छातीमा पिप जम्ने समस्या

फोक्सोको संक्रमणका कारण छातीमा पानी जम्ने क्रममा त्यसमा कीटाणुहरू पनि हुन्छन् । ती कीटाणुका कारण छातीमा भरिएको पानी पिपमा परिणत हुनसक्छ । संक्रमणबाहे अन्य कारणले पनि छातीमा पिप जम्न सक्छ । त्यसैले यसमा पनि कारण पत्ता लगाउनु जरुरी हुन्छ । पिप जमेको छ भने त्यसलाई  तुरुन्त निकाल्नुपर्छ । नत्र त्यसले स्वास्थ्यमा निकै गम्भीर समस्या पनि निम्त्याउन सक्छ ।

छातीमा पानी जम्नु छातीरोग डा. अशेष ढुंगाना
डा. अशेष ढुंगाना
लेखक
डा. अशेष ढुंगाना
छातीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७०२० अध्ययन : एमडी (मेडिसिन), डीएम (पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन) हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन तथा वीर अस्पतालमा छातीरोग विशेषज्ञका रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा