+
+
नन्दी रात्रिका विद्यार्थी :

‘लेख्न पढ्न जानेपछि संसारै फरक हुँदोरहेछ’

नक्सालको नन्दी रात्रि स्कुलमा रातिको समयमा पढ्ने झण्डै ३०० जना विद्यार्थी छन् । सानैमा पढाइ छुटेका र दिउँसोमा पढ्न समय नमिल्नेहरुले अहिले अक्षर चिन्नेमात्र होइन १२ कक्षासम्म पढिरहेका छन् ।

नुनुता राई नुनुता राई
२०८० माघ २५ गते २१:५६

२५ माघ, काठमाडौं । भोजपुर टेम्के मैयुङका ३४ वर्षीय पुण्यप्रसाद सुवेदी साँझ ५ बजेसम्म एउटा कार्गो कम्पनीमा काम गर्छन् र त्यसपछि झोला बोकेर स्कुल जान्छन् । २०७५ सालमा नक्सालस्थित नन्दी रात्रि स्कुलमा ६ कक्षामा भर्ना भएका उनी अहिले १० कक्षामा पढ्छन् ।

बिहान ४ बजेदेखि चप्पल कारखाना र त्यसपछि १० देखि ५ बजेसम्म कार्गो कम्पनीमा काम गर्ने उनी विद्यालयको नियमित विद्यार्थी हुन् । उनी भन्छन्, ‘लेख्न पढ्न जानेपछिको संसार नै फरक हुँदोरहेछ ।’

बिहान ४ देखि १० बजेसम्म चप्पल कारखानामा र १० बजेदेखि ५ बजेसम्म कार्गो कम्पनीमा काम गर्ने उनले कार्गो कम्पनीमा बजारबाट पैसा उठाउने र बैंकमा जम्मा गर्नुपर्छ । पढ्न–लेख्न नजान्दा आफू जानुपर्ने ठाउँ नचिन्ने, बैंकमा भौचर भर्दा पनि अरूको सहायता लिनुपर्ने जस्ता समस्या भोगे ।

कक्षाकोठामा पूण्यप्रसाद सुवेदी ।

‘नपढेकोमा पछुतो लागेर कहिलेकाहीं त रुन्थें’, पुण्य सम्झिन्छन् । पढ्न पाए पनि हुने निष्कर्षमा पुगेका उनले साथीहरूबाट नक्सालको नन्दी स्कुलबारे सुनेपछि भर्ना हुन पुगेका थिए ।

काभ्रेकी बोधकुमारी घोरासैनी पनि नन्दी रात्रि स्कुलमा ८ कक्षामा पढ्छिन् । ५ कक्षा पढ्दापढ्दै बिहे भएपछि घर–व्यवहारमा व्यस्त हुनुपरेका कारण पढ्न पाइनन् ।

अहिले पढाइमा ध्यान दिइरहेकी बोधकुमारी भन्छिन्, ‘पढ्न थालेपछि ध्यान दिनुपर्छ भनेर मैले साथीभाइसँगको भेटघाट र आफन्तसँगको जमघटलाई कम गरेकी छु ।’

नापी सर्वेक्षक ५५ वर्षका चेतनाथ पराजुली पनि यही विद्यालयमा कक्षा १२ मा पढ्छन् । २०७९ सालमा एसईई पास गरेका छोराको कलेज खोज्ने सिलसिलामा नन्दी रात्रि विद्यालय पुगेका उनी आफ्नै भर्ना गरेर फर्किए ।

एसएलसी दिएलगत्तै सरकारी जागिर खाएका उनले सरुवा भइरहने कारण पढ्न नपाएको बताए । यहाँ रातिमा पढ्न पाएपछि भर्ना गरिहालेको बताउँछन् । ‘छोरालाई ल तँ अब कहाँ पढ्छस् पढ् म चाहिं यहाँ पढ्छु भनेर भर्ना भएँ’, ५५ वर्षका चेतनाथ सुनाउँछन् ।

चेतनाथ पराजुली ।

नक्सालको नन्दी रात्रि विद्यालयमा विभिन्न कारणले पढाइ छुटेका, दिउँसोमा पढ्न समय नमिल्ने विभिन्न उमेर समूहका करिब ३०० विद्यार्थी अध्ययनरत छन् । साँझ ५ देखि राति ९ बजेसम्म पढाइ हुने यहाँ पुस र माघ महिनामा भने राति साढे ८ बजेसम्म मात्र पढाइ हुन्छ ।

प्रधानाध्यापक राजेश हुमागाईं भन्छन्, ‘यहाँ विशेष परिस्थिति भएका विद्यार्थीहरू अध्ययनरत छन् ।’

सामाजिक अध्ययन विषयका शिक्षक अमृत थापा मगरका अनुसार अधिकांश विद्यार्थी शिक्षाको महत्व बुझेर आएकाहरू छन् । त्यसैले कक्षामा हल्ला हुँदैन, सबैले शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्छन् ।

‘पढाउन गाह्रो छैन र उहाँहरूलाई पनि शिक्षकले पढाएको नबुझ्ने भन्ने समस्या छैन । अक्षर पढ्न र लेख्नमा चाहिं उहाँहरूले अलि बढी मिहिनेत गर्नुपर्छ’, उनले भने ।


वर्षौंपछि पढ्न आएका र यसअघि विद्यालय नै नगएकाहरूलाई पनि बानी पार्न गाह्रो हुने अंग्रेजी विषयका शिक्षक दीपक अर्याल बताउँछन् । ‘त्यस्ता विद्यार्थीको हकमा आधारभूत कुरा बढी सिकाउनुपर्ने हुन्छ’, उनी भन्छन् ।

ओखलढुंगाका २९ वर्षीय नरेश बुढाथोकी नन्दी रात्रिमै ७ कक्षामा पढ्छन् । यही स्कुलबाट अक्षर चिनेका उनी भर्ना भएको दुई वर्षमा नेपाली अक्षर पढ्न सक्ने भएका थिए । ‘पढ्न जान्ने भएपछि संसार नै रंगीन हुने रहेछ । त्यति धेरै वर्ष अन्धकारमा रहेछु’, उनी भन्छन् ।

१४ वर्षको हुँदा काठमाडौं आएर पार्किङ शुल्क उठाउने काम सुरु गरेका उनी २०७२ सालमा मलेसिया पनि गए । १५ महिनामै फर्किएका उनी भन्छन्, ‘पढेको भए त अलि राम्रो ठाउँमा काम गर्न पुग्थें होला, कस्तो कम्पनी छ भन्ने बुझेर जान्थें होला, दुःख पाउँदिन थिएँ होला’, उनी भन्छन् ।

स्वयम्भू चमतीका ५० वर्षका अशोक पुजारी विद्यालय आउन थालेको एक वर्ष भयो । घरजग्गाको कारोबार गर्ने उनी अब जग्गाधनी प्रमाणपूर्जा आफैं हेर्न सक्ने भएका छन् । ‘धनीपूर्जा हेर्न आए पनि पढ्न आउँदैनथ्यो । अलि अलि जान्ने त भइसकें’ उनी भन्छन् ।

अशोकलाई अरूले पत्रिका, किताब पढेको देख्दा पढुँ–पढुँ लाग्थ्यो । त्यही इच्छाले नेपालीमा मुश्किलले नाम लेख्न सिकेका अशोकले फुर्सदको समयमा पढ्ने ठाउँ खोज्दै धेरै वटा इन्ष्टिच्युट धाए । तर धेरैले बीचमा पढाइ छाडेकालाई मात्र पढाउने जवाफ दिन्थे ।

गत वैशाखमा उनले साथीहरू मार्फत नन्दी रात्रि स्कुलबारे सुने । गएर भर्ना भए । यो अवधिमा उनले नेपाली भन्दा छिटो अंग्रेजी सिकेको सुनाउँछन् । अशोकलाई पत्रिका पढ्न सक्ने हुनुछ, त्यसैले स्वास्थ्यले साथ दिएसम्म विद्यालय आउने उनी बताउँछन् ।

४० वर्षका सञ्च मोक्तान यसै वर्ष कक्षा ८ मा भर्ना भएका छन् । नेपाल ल क्याम्पसको कार्यालय सहयोगी उनी ८ महिनामा धेरै कुरा सिकेको बताउँछन् । ‘सरले भनेको कुरा बुझ्छु तर लेख्न सक्दिनँ । लेख्ने, पढ्ने काममा दिमाग र हात सँगै नचल्दा निकै गाह्रो हुनेरहेछ’, मोक्तान भन्छन् ।

क्याम्पसको परीक्षा शाखामा काम गर्ने उनलाई विद्यार्थीको प्रवेश पत्र, मार्कसिट, फारम खोेजेर अरु कर्मचारीलाई सहयोग गर्न मन लाग्छ । तर पढ्न नजानेका कारण कठिन भइरहेको थियो । ‘परीक्षा फारम खुलेका बेला सर, म्याडमहरूले मात्रै काम भ्याउन मुश्किल पर्छ आफूले सहयोग गरौं भने पढ्न आउँदैन । त्यसैले पनि पढ्नुपर्छ भनेर पढ्न आउन थालेको हुँ’, उनी भन्छन् ।

नक्सालमा नन्दी नाममा दुईवटा विद्यालय छ । एउटा, २००४ सालमा स्थापना भएको नन्दी प्राथमिक विद्यालय । अर्को, २००७ सालमा नन्दी रात्रि माध्यमिक विद्यालय । २०३० सालसम्म यी दुवै विद्यालय एउटै भवनमा फरक–फरक व्यवस्थापनमा सञ्चालन भए ।

२०३० सालमा आएर नन्दी विद्यालय, नन्दी प्रौढ मन्दिर, नन्दी शिक्षा र नन्दी रात्रि गरी ४ वटा विद्यालय गाभिएर नन्दी रात्रि माध्यमिक विद्यालय बन्यो । त्यसपछि रात्रि र दिवा विद्यालयको रूपमा एकै प्रधानाध्यापक, व्यवस्थापन र एकै प्रशासनबाट २०३० सालदेखि सञ्चालन भयो ।

तर २०४७ सालदेखि नन्दी रात्रि माध्यमिक विद्यालय छुट्टै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । त्यसैले यो विद्यालयको इतिहास ७३ वर्ष पुरानो रहेको प्रधानाध्यापक राजेश हुमागाईं बताउँछन् ।

तत्कालीन सरकारले सरकारी कर्मचारी, प्रहरी, सेना तथा दरबारमा काम गर्नेहरूको शैक्षिक योग्यता बढाउने उद्देश्यले रात्रि कक्षा सुरु गरेको उनको भनाइ छ ।

हाल यो विद्यालयमा ६ देखि १२ कक्षासम्म रातिमा पढाइ भइरहेको छ । पहिला १० कक्षासम्म मात्र रहेको विद्यालयमा २०७६ सालदेखि भने कक्षा ११ र १२ को पनि पढाइ भएको हो ।

प्रधानाध्यापक हुमागाईं विद्यालय साँघुरो भएको बताउँछन् । ‘विद्यालयको छुट्टै भवन र बस सेवा थप्न पाए विभिन्न परिस्थितिले दिउँसो विद्यालय जान नपाएकाहरू लाभान्वित हुनेथिए’, उनले भने ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?