+
+
यात्रा संस्मरण :

थोरङ्लाको अनन्त प्रवाहमा हेलिंदा

उसले भन्यो, ‘म वर्षैपिच्छे नेपाल आउँछु । धेरै देशहरू घुमें तर ट्रेकिङका निम्ति नेपालभन्दा सुन्दर देश र नेपालभित्र अन्नपूर्ण सर्किटभन्दा राम्रो पदमार्ग अन्य भेटिनँ । जहिलेसम्म शरीरले साथ दिन्छ, आइरहन्छु ।’

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८० माघ २७ गते १३:२५

म हाई स्कुलको विद्यार्थी हुँदैदेखि नै हिंड्न रुचाउँथें । एसएलसीपछि वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएँ । हरेक शुक्रवारको प्रयोगात्मक कक्षा (एक्स्कर्सन) ले हिंड्ने बानीलाई सघन बनायो । टुरमा पनि लामोलामो दूरीमा हिंड्ने गर्दथ्यौं । अब यो नियमित रुटिन भयो ।

हिंडाइमा प्रकृतिको रसास्वादन पनि थपियो । जागिरका क्रममा सुरुसुरुमा निकै हिंडियो । त्यो वेला अधिकांश पैदल नै हिंड्नुपर्थ्यो । पैदल गस्तीको मजा पनि छुट्टै हुने । अहिले हामी यसलाई हाइकिङ भन्छौं, अहिलेका पुस्ताले मकैलाई पपकर्न भनेजस्तै ।

संगठित हिंडाइ भने प्रकृति प्रेमी समूहसँगको संगतबाट भयो । संस्थाले हरेक महिनाको चौथो शनिवार उपत्यकाको वरिपरिका विभिन्न डाँडाकाँडामा हाइकिङ (एकदिने पदयात्रा) आयोजना गर्दथ्यो । वर्षको एकपटक समूहले ट्रेकिङ (बहुदिने) आयोजना गर्दथ्यो । त्यो अहिले पनि कायमै छ ।

२०७० सालमा समूहले अन्नपूर्ण सर्किट (परिक्रमा) ट्रेकिङको आयोजना गर्‍यो । त्यो समाचार अत्यन्त रोमाञ्चकारी थियो । मैले तुरुन्त नाम लेखाएँ । संस्थाको नियम अनुसार केही तयारी गर्नुपर्‍यो । पदमार्गबारे जानकारी लिने, यात्रा अवधिभरि बोक्नुपर्ने करिब १० केजीको झोला र अत्यावश्यक बन्दोबस्तीका सामानहरूको सूची तयार गर्नु आदि । विश्वप्रसिद्ध थोराङ पास (५,४१६ मिटर) पार गर्नका निमित्त पर्याप्त मानसिक एवं शारीरिक तयारी आवश्यक पर्दथ्यो ।

एकजना सहभागी मात्र हिंड्न नसकेर फर्कनु पर्‍यो भने सबै टिमलाई अप्ठ्यारो पर्दथ्यो । तसर्थ मानसिक र शारीरक रूपमा मजबुत हुनुपर्ने संस्थाको पहिलो र अनिवार्य सर्त थियो । पदयात्रा लहडमा गर्ने होइन रहेछ, त्यसमा मनग्य तयारी गर्नुपर्ने रहेछ भन्ने बोध भयो ।

नाम दर्ता गरें तर आपत् आइलाग्यो । मेरो तौल लिएपछि उमेश सरले अयोग्य घोषणा गरिदिनुभयो । त्यसवेला म ७९ केजी आसपास थिएँ । उहाँको भनाइ अनुसार अत्यावश्यक सरसामान र १० केजीको झोलासहित ९० केजीको भार बोक्न मेरो खुट्टा समर्थ थिएन । सुझाव प्रस्ट थियो, ‘महिना दिनभित्र कम्तीमा १० केजी तौल घटाऊ ।’ मसँग केवल दुई विकल्प थिए । पहिलो, तौल घटाउने । दोस्रो, थोराङ पासको आशा मार्ने । मैले पहिलो विकल्प रोजें ।

त्यतिवेला म तनहुँको विमलनगर वन कार्यालयमा कार्यरत थिएँ । सौभाग्यवश सिद्धगुफा नजिक थियो, अलिक माथि बन्दीपुर डाँडो । सोचें, अभ्यासका लागि योभन्दा उपयुक्त स्थान अरू नहोला । हामी उक्त स्थानमा डुल्न र कहिलेकाहीं मर्निङ वाकमा जान्थ्यौं । महिना दिनमा १० केजी घटाउनुपर्ने उमेशको सुझाव अनुसार दिनमा दुई पटक सिद्धगुफाको यात्रा गर्न थालें ।

सुरुमा ४५–५० मिनट लाग्ने समय क्रमशः घट्दै गएर ३०–३२ मिनटमै पुग्ने भएँ । अलिपछि त समय २१ मिनटमा झर्न पुग्यो । हरेक शनिवार भने बन्दीपुर डाँडासम्म पुग्थें । तोकेको कोटा पूरा नभए पनि केही सर्तसहित प्रवेश परीक्षामा उत्तीर्ण भएँ । प्रवेश परीक्षामा उत्तीर्ण हुनु मेरा लागि विशेष थियो । त्यतिवेलाको लगभग एसएलसी जस्तै । म उत्साहसहित फुरुङ्ग भएर यात्राको पर्खाइमा बसें ।

२०७० दसैंको त्रयोदशीको दिन हामी काठमाडौंबाट हिंड्यौं । हिमाली भेगको यात्रा गर्न सबैभन्दा उपयुक्त समय दशैं–तिहारको आसपास मानिन्छ । मानौं शरद ऋतु आमन्त्रण गरिरहेको छ । कवि शिरोमणि लेखनाथ पौड्यालले शरद ऋतुको महिमागान त्यसै गरेका होइनन् ।

सबैसँग हाइकिङ स्टिक, ट्रेकिङ बुट, बलियो झोला, तुम्लेट र संस्थाको टोपी थियो । तालिका अनुसार दोस्रो दिन हाम्रो यात्रा चामेसम्म थियो । भाडाको जिपमा लमजुङका खेतका फाँट, बाटो वरपरका साना र चिटिक्क परेका घर र चियापसल हेर्दै, कविवर माधवप्रसाद घिमिरेको गाउँ पुस्तुनलाई समेत पछाडि छाडेर अगाडि बढ्यौं । जिपका चालकले हामीलाई स्थान र त्यसका विशेषताहरू बताउँदै थिए ।

बिहानीे खाना लमजुङको च्याम्चेमा खाने तय थियो । त्यहाँ पुगेपछि थाहा भयो, अघिल्लो रातको वर्षाले अगाडिको बाटो पूरै बिग्रेको रहेछ । चामेबाट थाल्ने भनिएको पैदलयात्रा अब च्याम्चेबाट नै सुरु भयो । चिटिक्कको सफा होटल, ढुंगा ओच्छाएको बाटो, घरको बार्दली, बुइँगल, बरन्डामा रंगीबिरंगी फूल सजिएको च्याम्चे बजार सुन्दर रहेछ । दसैंपछिको उपयुक्त मौसम र उत्साहित मन– यात्रा सुन्दर नहुने कुरै थिएन ।

थोरै हिंडेपछि अत्यन्त मनमोहक, देख्दै लोभलाग्दो, हेरिरहुँ लाग्ने अनेकन् सानासाना लहरा अनि नागबेली चुल्ठो जस्तो झरना देखियो । अहिले त्यो अक्टोपस झरना भनेर चिनिन्छ । सहयात्रीहरू उत्साहित हुँदै पानी खेल्दै फोटो खिच्न थाले । झरनाको सामीप्यतामा धीत मरेको थिएन । तर, त्यहीं बसिरहन सम्भव पनि थिएन । फर्कीफर्की आँखाले सकुन्जेल झरनाको दृश्यलाई सोहोर्दै हामी अगाडि बढ्यौं ।

त्यो दिन चामे पुग्न सम्भव थिएन, तालिका खजमजिएकाले । उमेश सरले कतै उपयुक्त स्थानमा बास बस्ने जानकारी दिनुभयो । कतै तीव्र, कतै सुस्त तर अनवरत ४–५ घन्टा हिंडेपछि हामी धारापानी पुग्यौं र त्यो रात त्यहीं बस्ने भयौं । बेलुकी यात्राको समीक्षा, आगामी दिनको मौसम र पदमार्गको अवस्थाबारे छलफल गर्‍यौं । नाचगान गरेर दिनभरको थकानलाई बिर्सने प्रयास पनि भयो ।

अघिल्लो दिनको हिंडाइ सामान्य हुनाले थकानको अनुभव भएन । मूलबाटो र कहींकतै जंगलको बाटो, मर्स्याङ्दी नदीको किनारै किनार, माधवप्रसाद घिमिरेको गीत ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको …’ गीत गाउँदै टोली अघि बढ्यो । गीतमा मैले पनि साथ दिएँ । मेरो मनमा एउटा प्रश्न जन्मियो । माधवप्रसाद घिमिरे जीवित हुन्थे भने म उहाँलाई सोध्ने थिएँ, ‘आफ्नो गीतमा प्रकृतिको चित्रण गर्दा तपाईंले मर्स्याङ्दीले सुसाएको किन मन नपराउनु भएको ?’

उमेश सर अनुभवी भएको हुनाले वेलावेला सहयात्रीहरू थाकेको, नथाकेको, आराम चाहिएको बुझ्नुहुन्थ्यो । र, बीचबीचमा छोटो विश्राम लिएर यात्रालाई सहज बनाउनुहुन्थ्यो । टोलीलाई प्रस्ट निर्देशन थियो, जतिसुकै छिटो हिंड्नेले पनि उमेश सरभन्दा अगाडि नजाने र जतिसुकै थाके पनि अन्तिममा हिंड्ने रामदेवी महर्जन र सरिता डंगोलभन्दा पछाडि नबस्ने ।

टोलीको उपनेता पुरेन्द्रविक्रम लाखे अगाडि पछाडि सबैको अवस्था हेर्दै, रिपोर्टिङ गर्दथे । त्यसैले कुनै पनि सहभागी हराउने, छुट्ने सम्भावना थिएन । त्यो कसिलो अनुशासन थियो । सबैले कडाइका साथ नियमको पालना गरेका थिए । उकालोसँगै चिस्यान बढ्नु र हुस्सुले घेरिनु स्वाभाविक थियो । बाटामा गोठालाहरू, भरिया र गाइड दाइसँग भेट्दा छोटो कुराकानी गर्दथ्यौं । यात्रामा मात्र होइन जीवनमा पनि अनुशासनलाई पालना गर्ने हो भने अलपत्र नपरिने रहेछ भन्ने पाठ पनि सिकें मैले, यात्राको दौरान ।

अगाडि बढ्दै जाँदा धेरै स्थानमा चाङका चाङ दाउरा थुपारिएको भेटियो । वनकर्मी हुनाले यस्तैमा आँखा जाँदो रहेछ । हिउँदलाई दाउराको जोहो गरेका होलान् । उकाली, ओराली, हुस्सु कुहिरोसँग लुकामारी खेल्दै दिनको करिब १ बजे चामे पुग्यौं । आकाश खुलेको थिएन । सिमसिम पानी परिरहेको थियो । चामे पुग्नु अगावै नदी किनारको पारिपट्टि भीरमौरीको थुप्रै गोलो देखियो । मैले भीरमौरीको सिकार सम्बन्धी लेख सम्झिएँ ।

त्यो दिन चामेमै बस्ने सल्लाह भयो । प्राकृतिक वातावरणसँग अनुकूलनका लागि पनि त्यो आवश्यक थियो । भीरपहरा छिचोल्दै आएका थियौं । त्यस दिनको थकान बढी थियो । चामे मनाङ जिल्लाको सदरमुकाम भए पनि ठूलठूला भीरको बीचमा रहेको साँगुरो बजार रहेछ । चामेमा घाम एकछिन देखिएर डाँडापर्तिर ओझेल परिहाल्ने रहेछ ।

चामे बजार सफा लागेन । हिलो, प्लास्टिकका प्याकेटहरू र खच्चडका लादी यत्रतत्र । होटलमा सामान राखेर साँझपख हामी तातोपानी कुण्डमा गयौं । कोही नुहाउन थाले । म भने खुट्टा डुबाएर बसिरहें । ठूलो राहत अनुभव भयो । पैताला दुखेको थियो, तातोपानीमा डुबाएर हल्का मसाज गर्दा आनन्दित बनें ।

दृश्यजति सुन्दर भए पनि झ्याल बन्द गर्नु नै पर्थ्यो । हिमाल पर्यटक वा अतिथिका लागि मात्र मनमोहक हुँदा रहेछन् । स्थानीय बासिन्दाका लागि दुःखका सागर रहेछन् । मैले यस्तै ठानें ।

बजारमा सामान हेर्न पस्यौं । पसले दाइले कोल्ड क्रिम किन्न सल्लाह दिनुभयो । ‘तपाईंहरू तलबाट आउनुभएको छ, यहाँ ठीकै जस्तो लाग्छ तर फर्केको केही दिनमा तपाईंको अनुहारमा चिसोको कारण पाप्रा देखिन थाल्छ, तसर्थ क्रिम अलिअलि होइन बाक्लो लगाउनु होला’ भन्नुभयो । मैले एउटा क्रिम किनें ।

चौथो दिन हामी माथिल्लो पिसाङलाई गन्तव्य बनाएर हिंड्यौं । हामीले सुनेको, पढेको र देखेको हिमाल सधैं उत्तरतिर हुन्थ्यो । तर, चामे काटेपछि हिमाल त दक्षिण दिशातिर देखिन थाल्यो । अनि मलाई याद भयो, किन मनाङलाई हिमालपारिको जिल्ला भनिन्छ । ठूलठूला चट्टानको पहाड, झोलुंगे पुल तर्दै हामी अगाडि बढ्यौं ।

अलिक बढी नै पदयात्रीहरू भेटिए । सानो, ठूलो समूहमा हिंड्नेदेखि एक्लैदुक्लै हिंड्नेहरू भेटिए । एक्लै बिन्दास यात्रा गर्ने चाहिं तुलनात्मक रूपमा छिटो हिंड्ने रहेछन् । तर, दुर्गम बाटो, भीरपहरा र अनकन्टार जंगल सम्झँदा मलाई एकलयात्रा असुरक्षित नै लाग्यो ।

छनलाई त घोडा र बाइकको सुविधा रहेछ । हामी भने हेर्दै रमाउँदै अगाडि बढ्यौं तर सबैको मनमा हिमाल राम्रोसँग देख्न नपाएको चिन्ता थियो । हिंडेको दिनदेखि नै आकाश खुलेको थिएन । हिमाली भेगमा बादलसहितको यात्राको छुट्टै आनन्द त थियो नै । तर, सबैको अपेक्षा खुलेको आकाश मुन्तिरको स्निग्ध र उज्यालो हिमाल हेर्ने थियो ।

उमेश सर भोलिसम्म हिमाल खुल्नेमा दृढ हुनुहुन्थ्यो । तर, हामीसँग केवल आशा थियो । आशा जीवनको एक महत्वपूर्ण पाटो रहेछ । त्यही आशामा डोहोरिएर अगाडि हिंड्यौ । आकाश नखुले पनि हिंड्नु त छँदै थियो । साना खोला, खोल्सा, भीरपहरा अब सामान्य लाग्न थालेका थिए । यता पनि आकाश ढाकुँला जस्तो लाग्ने पहरो, उता पनि आकाश छेडुँला जस्तो लाग्ने पहरा, हामी भने पहराबीचको पर्वतीय मार्गमा आफूलाई अगाडि बढाइरह्यौं ।

बाटोछेउ केही खुला पसल थिए । चमर (चौरीको पुच्छर), छुर्पी, माला, केही जडीबुटी र स्थानीय सामानहरू बेच्न राखिएको देखिन्थ्यो । ठूलो समूह देखेर व्यापारीहरू सामान किन्नुस् भन्दै थिए । उक्लदै जाँदा रुख, बिरुवा र वनस्पतिका प्रजातिहरू फेरिएका थिए ।

पिसाङ पुग्नु अगाडि हामीले लौठसल्लाको प्राकृतिक जंगल भेट्यौं । लौठसल्लाको पात छुँदै मैले सहयात्रीहरूलाई, कसरी रुख बिरुवाको प्रजाति उचाइ बढेसँगै बदलिंदै जान्छ, जानेको कुरा बताएँ । सहयात्रीहरूसँग केही समय वन, वन्यजन्तु र जडीबुटीबारे कुरा भए । आखिर पदयात्राको उद्देश्य पनि प्रकृतिसँग रमाउनु मात्र पनि थिएन ।

बाटोमा एक जना विदेशी महिला घोडामा मलिन अनुहारसहित फर्कंदै गरेको भेटियो । पछाडि एक जना दाइ आउँदै हुनुहुन्थ्यो । उहाँ घोडाको मालिक हुनुहुँदो रहेछ । उनलाई किन फर्केकी विदेशी महिला भनेर सोधें । दाइले नालीबेली बताए, ‘यी महिलालाई मनाङ पुगेपछि लेक लागेको लक्षण देखियो । उनी थोरङ्ला चढ्न नसकेर फिर्ता भएकी हुन् । उनका साथीहरू अगाडि बढे, उनी चाहिं साथीहरूलाई छाडेर फर्किन परेकाले रुँदै आएकी हुन् ।’

उहाँको कुरा सुनेपछि हामी खिन्न भयौं । सबैको मनमा एउटा झस्को पस्यो । मैले एक पटक सबै सहयात्रीको अनुहार नियालें । दृढविश्वासका साथ सबैजना मलाई नै हेरिरहेका थिए । पर्याप्त शारीरिक र मानसिक तयारी गरेर मात्र हामीले यात्रा सुरु गरेका थियौं । घोडा साहुको भनाइ अनुसार यसरी थोराङ्ला चढ्न नसकेर धेरै जना फर्कने गर्दछन् ।

एउटा विचार आयो, जीवनको सबै प्रयास वा परीक्षामा सफल भइँदैन । असफलतालाई पनि स्वाभाविक रूपमा लिन सके जीवन सहज हुँदो रहेछ । पिसाङ आइपुगेपछि बाटो छुट्टियो । एउटा बाटो ओरालो हुँदै हुम्दे जाने रहेछ । अर्को उकालो लाग्ने र उपल्लो पिसाङबाट अगाडि बढ्ने रहेछ । उपल्लो पिसाङको बाटो लामो दूरीको भए पनि सौन्दर्यको दृष्टिकोणले अनुपम मानिंदो रहेछ ।

हामीले उपल्लो पिसाङको बाटो पक्रियौं । करिब १२ बजेतिर उपल्लो पिसाङ पुग्यौं । त्यहाँ थुप्रै सानासाना होटल रहेछन् । समूह ठूलो भएकाले हामी बाँडिएर बस्यौं । होटलहरू नजिकै भएकाले सहज भयो । हल्का थकानको महसुस भएको थियो ।

साँझपख नजिकैको उर्गेन छेक्छो छोलिङ गुम्बामा गयौं । गुम्बाको दर्शन र परिक्रमा गरेर यात्राको सफलताको कामना गर्‍यौं । देवता देख्नै नहुने हात जोडेर कामना राखिहाल्ने सनातनी स्वभाव हो कि देवीदेवताप्रतिको चरम विश्वास ? जे होस्, हाम्रो कामना देवताले सुने भन्ने विश्वास लिंदै फर्कियौं अनि एउटा सामूहिक फोटो खिच्यौं ।

बेलुकाको खाना खाएर सुत्ने तरखरमा थियौं, एक जना साथी हिमाल हिमाल भनेर चिच्याउन थाल्नुभयो । हामी के भो भनेर उहाँको कोठामा गयौं । आकाश पूर्णरूपमा खुलेको थियो । हिमालको अद्भुत सौन्दर्य जूनको प्रकाशमा नुहाएको थियो । मानौं, जूनले आफ्नो पूर्ण रूप देखाएपछि हिमालले पनि आफ्नो असली रूप देखाउँदै छ ।

दिनमा देखिन्छ भनेर कल्पनै नगरेको हिमाल जूनको उज्यालोसँगै देखिंदा आनन्दले विभोर भएँ । पूर्णिमाको रात, उज्यालो जून, खुलेको आकाश, झ्यालमै टाँगिएको र हातैले समात्न सकिने जस्तो हिमाल भेटिएपछि के चाहियो ? को नकराई बस्न सक्थ्यो ? खुसीले पुलकित हुँदै हामी बाहिर निस्कयौं । एकछिन बाहिरै बसेर हिमाल हेर्‍यौं । पुनः गफिंदै कोठामा पस्यौं । साथीको मात्र होइन, सबैको कोठाको झ्यालबाट हिमाल उत्तिकै मनमोहक देखिन्थ्यो । आल्हादित भयौं । उत्साहित पनि ।

यही उत्साहको बीच केही समय हिमाललाई अघाउन्जेल हेरेर झ्याल बन्द गर्‍यौं । झ्याल बन्द नगर्दा चिसोले सुत्न सम्भव थिएन । अतः दृश्यजति सुन्दर भए पनि झ्याल बन्द गर्नु नै पर्थ्यो । हिमाल पर्यटक वा अतिथिका लागि मात्र मनमोहक हुँदा रहेछन् । स्थानीय बासिन्दाका लागि दुःखका सागर रहेछन् । मैले यस्तै ठानें ।

हिजोको भन्दा आजको बिहान उज्यालो थियो । चाँदीका टुक्रा जस्तो यताउता डुलिरहेका सेता बादल, खुला आकाश, चारै दिशाबाट देखिने नजिकैको हिमाल र हिमालको छेउछाउ देखिने स–साना कालो बादल जस्तै मभित्र एउटा अँध्यारो बादल मडारिरहेको थियो । अज्ञात भयबाट म तर्सिरहेको थिएँ । चामेबाट हिंड्ने वेलामा जुत्ताको तुना नफुस्कियोस भनेर तुना पछाडि लगेर बाँधेको थिएँ । त्यसले हिंड्न सहज त बनायो । तर, नजानिंदो पाराले गोडा पछाडिको नसा कस्सेछ ।

दिनभरि हिंडाइको जोसमा ख्याल भएन । पिसाङमा आराम गरेर उठ्ने वेला अलिक दुख्यो । बिहानसम्म ठीक होला भन्ने थियो । तर, झन् बढी दुख्न थाल्यो । दुखेको स्थानमा मल्हमसहितको कपासको टुक्रा लगाएपछि केही राहत भयो । सिंगै उकालो चढ्न बाँकी छ, मनमा हल्का तनाव सुरु भयो । घोडामा फर्किएको मलिन अनुहारकी विदेशी महिलालाई सम्झें ।

त्यो विषय मैले पुरेन्द्र दाइलाई मात्र भनें । उहाँले सहजै, भाइ यसलाई ध्यान नै नदेऊ, आफैं ठीक हुन्छ, भएन भने स्प्रे लगाउँला भन्नुभयो । तर, ठीक भएन । नसा दुखिरह्यो । दुखाइ र तनावको संयुक्त प्रभावले म अरूभन्दा पछि पर्न थालें । कहाँबाट दिमागमा मुक्तिनाथ बाबाको सम्झना आयो । हाम्रो यात्रातालिकामा थोरङ्ला पासको पदयात्रा मात्र थिएन, त्यहाँबाट झरेर मुक्तिनाथको दर्शन गर्नु पनि थियो । अन्ततः मनमनै मुक्तिनाथ बाबालाई पुकारें ।

‘लु बाबा, आधी बाटो काटिसकेको छु । अब दर्शन गराउने, नगराउने जिम्मा बाबाको ।’

मुख्य उकालो बाँकी नै थियो । यहाँबाट फर्कनु पर्‍यो भने म फेरि दर्शनका लागि आउँदिनँ तसर्थ यात्राको उकालो सहज बनोस् भनेर घुर्की पनि लगाएँ । शारीरिक पीडाको बीचमा पनि म दृश्यवालोकन गर्दै निरन्तर हिंडिरहें । प्रकृति र सम्पूर्ण भू–दृश्य अत्यन्त मनमोहक थियो । फोटो त कति खिचियो, खिचियो ।

आँखै अगाडिको सुन्दर दृश्यमा हराएर मैले शारीरिक पीडा लगभग बिर्सिएँ । यसमा बाबाको प्रभाव कति छ ? मल्हमको कति ? वा पुरेन्द्र दाइको वास्तै नगर्नुस्, दृश्य हेर्दै हिंड्नुस् भन्ने सुझावको कति ? थाहा हुने कुरा भएन । तर, यो घटना मेरा लागि आनन्ददायी र विस्मयकारी बन्यो ।

त्यो दिनको यात्रा पिसाङबाट मनाङसम्म थियो । पिसाङबाट अगाडि बढ्दा एउटा सानो खोला तरेर हामी घ्यारुका लागि ठाडो उकालो चढ्यौं । मलाई अक्सिजनको अभाव भएछ । नजानीकनै मेरो मुख खुला भएछ । उमेश सरले तपाईंको मुख खुला छ, गति बढी भयो, तसर्थ मुख बन्द गरेर हिंड्नुहोस् वा गति घटाउनुस् भन्नुभयो । म मुख बन्द गरेर सुस्त हिंड्न थालें । त्यो अनुभवपछि उकालोमा हिंड्दा त्यो नियम सधैं अपनाउँदै आएको छु ।

घ्यारु अवर्णनीय रूपमा सुन्दर थियो । जहाँबाट चौतर्फी प्रकृति अद्भुत सौन्दर्यमा खुलेको देखिन्थ्यो । ढुंगा र माटाका गुजुमुज्ज परम्परागत बान्कीका घरहरूले आदिम अनुभूति प्रदान गथ्र्यो । पिसाङदेखि नै कैंयन् हिमचुलीहरू देखिएका थिए । जुन अन्नपूर्ण हिमशृंखलाका चुलीहरू रहेछन् । अनायसै प्राप्त रमणीयताले हामी अवाक थियौं । हिमचुलीका नाम सोध्नभन्दा पनि फोटो खिच्नैतिर हाम्रो ध्यान गयो ।

घ्यारुको सुन्दरताको त कुरै नगरौं । कस्तोलाई सुन्दर भन्ने ? सुन्दरताका आधारहरू के के हुन् ? कठिन प्रश्न थियो । हेरेर सन्तोषको दीर्घ निश्वास छाड्नु वा याहु भनेर चिच्याउनु ? घ्यारु जति नै सुन्दर भए पनि अगाडि नबढी सुख्खै थिएन । यात्रा न हो, अगाडि नबढी यात्रा हुँदैनथ्यो ।

उकालोमा एउटा जर्मन टोलीसँग भेट भयो । बाटोमा छोटो कुराकानी भयो तर उसको जवाफले मेरो मथिंगल हल्लाइदियो । परिवारका चार सदस्य पदयात्रामा थिए । श्रीमान्, श्रीमती र दुई छोरा । एक जना १६ वर्षको र अर्को १३, १४ वर्षजस्ता देखिन्थे ।

जर्मनीबाट आएको भन्ने थाहा पाएपछि उनीहरूको हिंडाइको गति देखेर ‘फस्ट टाइम इन नेपाल’ भनेर सोधें । उनले सहजताका साथ, नो फोर्टिन्थ टाइम भनेर जवाफ दियो । म पूरै अवाक ! अचम्म मान्दै मैले पुनः सोधें, ‘फोर्टिन्थ टाइम रियल्ली ?’ ‘या अफकोर्स, फोर्टिन्थ…,’ उसले जवाफ दियो ।

आफ्नी श्रीमतीलाई देखाउँदै उसले भन्यो, ‘उनी चाहिं दोस्रो पटक र यी छोराहरू पहिलो पटक । म छक्क परेर उनीहरूलाई हेरिरहें । एकछिन उभिएरै कुरा गर्‍यौं । मैले आफ्नो जिज्ञासा लुकाउन सकिनँ र फेरि सोधें, ‘के छ नेपालमा यति धेरै पटक आउन मन लाग्ने ?’ उसले भन्यो, ‘म वर्षैपिच्छे नेपाल आउँछु । धेरै देशहरू घुमें तर ट्रेकिङका निम्ति नेपालभन्दा सुन्दर देश र नेपालभित्र अन्नपूर्ण सर्किटभन्दा राम्रो पदमार्ग अन्य भेटिनँ । जहिलेसम्म शरीरले साथ दिन्छ, आइरहन्छु ।’

उसको अभिव्यक्तिले मलाई गहिरो स्पर्श गर्‍यो । विदेशीको प्रकृतिमोह । हामी नेपाली गफ बढी गर्छौं । पोखरा वा काठमाडौं घुमेपछि पूरै नेपाल घुमेजस्तो गर्छौं । उनीहरू भने हाम्रै देशका कुनाकाप्चा हामीभन्दा बढी घुम्दैछन् ।

बिहानको खाना खाने तय भएको ङावललाई गन्तव्य बनाएर हिंड्यौं । हुम्दे विमानस्थल क्रमशः तल देखिन थाल्यो । करिब १२ बजेतिर हामी ङावल पुग्यौं । एक होटलकी दिदीको गुनासो अझै सम्झन्छु । उहाँको गुनासो (आक्रोश) थियो– ‘यति ठूलो टिम आएपछि सबै होटलमा बाँडी खाना खाए पो सबैले आशिष दिन्छन् । एउटा मात्र होटलमा खाएर त्यसैलाई पोसेर पनि यात्रा हुन्छ ?’

कुरा वास्तवमा सही थियो तर हाम्रो टिमको खाना खाने स्थान अन्यत्र यकिन भएकाले हामी त्यतै लाग्यौं । यस्ता पदमार्गमा ठूला लगानीका होटलहरू स्थापना भएपछि साना होटलमा परेको असर विचारणीय नै छ । पर्यटनको लाभ सबैले समानुपातिक हिसाबले पाउन सके कति जाती हुन्थ्यो !

खाना खाएर पुनः अगाडि बढ्यौं । ङावलबाट केही ओरालो झरेपछि बुट्यानको भाग हुँदै मुख्य पदमार्गमा निस्किएर मर्स्याङ्दीको किनारै किनार हिंड्यौं । वन विज्ञानको विद्यार्थी हुनाले म त्यहाँको वन, जंगल, बिरुवा, माटोको अवस्था पनि अवलोकन गर्दै थिएँ । जंगलको बनोटमा क्रमशः फरकपन देखिँदै थियो । पोथ्रापोथ्रीको बाहुल्य बढ्दै गएको थियो । सुख्खा डाँडो, सुख्खा पहिरोले बनेका विशाल वञ्जर भागहरू देखिंदै र छाडिंदै गए । ससाना मरुभूमिजस्तो स्थानमा हरियो झार, बाँकी जताततै सुख्खा देखिन्थ्यो ।

हामी यी र यस्तै कुरा नियाल्दैरह्यौं । हामी अलमलिएर ढिला भएकाले टिम लिडरले सिट्ठी फुकेर हामीलाई गति बढाउन संकेत गरे । भ्राका आइपुग्यो । सूर्यले हामीलाई समयको जनाउ दिइसकेका थियो । भ्राकामा कुनै अलमल नगरी अगाडि बढ्यौं । बाटोमा भारी बोकेका र भारी पुर्‍याएर फर्केका याक र खच्चडहरू घन्टी बजाउँदै आउने जाने, भेटिने, छुट्टिने क्रम चलिरह्यो । ससाना ध्वजापताका लहराइरहेका मानेहरू यत्रतत्र देखिन्थे । ठाउँठाउँमा ढुंगाबाट बनेका आकर्षक प्रवेशद्वारहरू देखिन्थे ।

गोधुली साँझमा बल्लतल्ल मनाङ गाउँ पुग्यौं । पर्यटकीय सिजन भएकाले आन्तरिक तथा विदेशी पर्यटकहरू प्रशस्त आउँदा रहेछन् । यसको असरस्वरूप कोठा पाउन कठिन भयो । होटलहरू अगाडि नै बुक हुँदा रहेछन् । अकस्मात् मेरो दिमागमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालयको सम्झना आयो । त्यहाँ सुदीप अधिकारी भाइ कार्यरत थिए । उनलाई खोज्दै म उनको अफिस पुगें । संयोगवश हेटौंडाका साहित्यकार एवं टेलिकममा कार्यरत दाइ साम्ब ढकाल पनि त्यहीं भेटिए ।

सुदीपसँग एकछिन रमाइलो गफ भयो । केही समयको भलाकुसारीपछि मैले समस्या बताएँ । भाइले सहजताका साथ कार्यालयमै केही बेडको व्यवस्था गरिदिए । हिमाली यात्रामा शरीरलाई त्यहाँको भूगोल, तापक्रम र वातावरणसँग अनुकूलन गराउने काम महत्वपूर्ण रहेछ । यसमा थोरै पनि हेलचेक्राइँ भए लेक लागेर ज्यानै जान सक्छ ।

मनाङ अनुकूलनताका लागि उपयुक्त स्थान मानिंदो रहेछ । यहाँ विभिन्न संघसंस्थाको पहलमा हिमाली पदयात्रीलाई लक्षित गरेर चेतनामूलक सूचना राखिएका छन् । हामी भने बिन्दास थियौं । किनकि धारापानीदेखि नै विभिन्न उचाइका स्थानहरूमा बास बस्दै आएकाले पनि क्रमशः अनुकूलित भएका थियौं । यस्तैमा बजार डुलिरहँदा खुला स्थानमै चिलको खुट्टा (पन्जा) बिक्रीका लागि राखेको देखें ।

मलाई अचम्म लाग्यो र सोधें, ‘यसको मूल्य कति हो ?’ मेरो अनुहार हेर्दै उनले भने, ‘नलिने मान्छेलाई मूल्य किन भन्नु र ! मलाई थाहा छ तपाईं यो लिनु हुन्न ।’

मैले अरू के के छ भनेर जिज्ञासा राखें । तर, उनले थप कुरा गर्न चाहेनन् । पसलमा पसाउन पनि खोजेनन् । वन क्षेत्रमा काम गर्ने हुनाले मलाई त्यो घटनाले छोयो तर मैले केही भनिनँ । यसरी वन्यजन्तुको अंग खुलेआम बेच्नु यहाँ सामान्य मानिंदो रहेछ ।

अर्को अचम्म लाग्दो कुरा के भयो भने थकाइको मात्रा बढ्नुपर्नेमा घट्दै गइरहेको थियो । सायद यात्रासँग हामी अभ्यस्त हुँदै गएका थियौं । दुःख जति परे पनि लगातार खप्दै गएपछि सामान्य लाग्दो रहेछ ।

बिहान डुल्दा स्कुले नानीबाबु भेटिए । मैले फोटो लिन्छु है भनें र फोटो लिएँ । उमेर सायद १०–१२ वर्ष होला । फोटो खिचेपछि एउटा बाबुले मलाई प्रश्न गरे, ‘हाम्रो फोटो लगेर तपाईंले बेच्नुहुन्छ, हो ?’
मैले भनें, ‘होइन ।’

तर, मनमा निकै समयसम्म त्यो प्रश्नले घोचिरह्यो । उनीहरूले यस्तै सुनेका होलान् वा कुनै विदेशीले फोटो खिच्दा केही पैसा दिएका हुँदा हुन् ।

एउटी सानी नानीलाई सोधें, ‘तिम्रो नाम के हो ?’

थोते दाँत देखाउँदै उनले भनिन्, ‘डोल्मा ।’

‘डोल्मा होइन, तिम्रो नाम पार्वती हो,’ मैले यसै भनें ।

तारादेवीले गाएको पहाडको काखमा छ सानो मेरो गाउँ, पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ…. भन्ने गीत सम्झिएँ । मलाई उनी त्यस्तै लागिन् । तर, उनले पार्वतीको नाम सुनेकै रहेनछिन् । हाँस्दै उनले थपिन्, ‘यहाँ त पार्वती कोही छैन ।’

पार्वतीले पार्वती होइन भनेपछि मैले स्वीकार्न करै लाग्यो । स्वीकारें पनि । सबै ठाउँमा पार्वती मात्र हुँदैनन्, भूगोल, र संस्कृति अनुसार डोल्मा, निमा, छिरिङ, पासाङ जस्ता फरक नाम पनि हुन्छन् ।

मनाङ आफैमा मनोरम स्थान हो । घन्टौंसम्म सम्मोहित पारिदिन्छ । जति हेरे पनि हेरिरहुँ जस्तो लाग्ने, यसको सुन्दरताको के कुरा गर्नु ? बिहान नजिकैको गंगापूर्ण ताल पनि पुग्यौं ।

थोराङ फेदीमा बास पाउन कठिन हुने सुनेर अघिल्लो दिन नै सम्पर्क गरेका थियौं । हाम्रो ३० जनाको जम्बो टोली थियो । सबैलाई पुग्ने कोठा नभएकाले अगाडिको कुनै स्थानमा बस्न पाए दूरी पनि छोटिने र वातानुकूलित पनि हुने भनेर त्यसै मुताविक स्थानको खोजी भयो । त्यो दिन याकखर्क जाने निर्णय गर्‍यौं । टंकी मनाङ हुँदै तिलिचो ताल जाने बाटोलाई छाडेर हामी याकखर्कतर्फ लाग्यौं ।

गहिरो खोला, गल्छीको छेउछेउ हुँदै अगाडि बढिरह्यौं । एउटा कुरा अचम्म के थाहा भयो भने त्यस्तो विकट स्थानमा पनि एउटा विदेशी साइकल टोलीले थोराङ पास पार गरेको रहेछ । त्यो टोलीले बाटाका ढुंगामा आफ्नो टोलीको नाम लेखेको थियो । हाम्रो टोलीका एक जना साइकलयात्रीे साथीले यो कुरा हामीलाई जानकारी गराउनुभयो । साँझपख याकखर्क पुग्यौं ।

अर्को अचम्म लाग्दो कुरा के भयो भने थकाइको मात्रा बढ्नुपर्नेमा घट्दै गइरहेको थियो । सायद यात्रासँग हामी अभ्यस्त हुँदै गएका थियौं । दुःख जति परे पनि लगातार खप्दै गएपछि सामान्य लाग्दो रहेछ ।

बिहान एकछिन ध्यान गरेपछि याकखर्कबाट झोला बोकी थोराङ फेदीतर्फ लागियो । जंगल पातलिंदै गई त्यसको सट्टामा पत्थरिलो जमिन, घाँसे प्रजाति र बुकी फूलको बाहुल्यता देखिंदै गयो । नजिकै घोरल चरिरहेका भेटिए । हामी नजिकै हुँदा पनि घोरल भागेन । अचम्म लाग्यो । हामीलाई वास्तै नगरी चरिरह्यो । मैले नजिक गएर, बिस्तारै उनीहरूलाई छोएँ । घोरलले घरपालुवा जस्तो व्यवहार पो गर्‍यो ।

यो कुरा मैले फेदीमा पुगेपछि त्यहाको होटल साहुलाई सुनाए । उनले भने– स्थानीय बासिन्दाहरू बौद्धमार्गी हुनाले यहाँ कसैले पनि जनावरलाई मार्ने, लखेट्ने, दुःख दिने गर्दैनन् । यहाँ आउने पर्यटकहरूलाई पनि प्रवेशद्वारमा नै यस्ता विषयवारे जानकारी गराइन्छ । यात्रुहरूले पनि दुःख नदिने थाहा पाएर होला, घोरलहरू भाग्दैनन् । साथै एक्यापले पनि संरक्षण चेतना शिविरहरू आयोजना गरिरहन्छ । यो सुनेर मलाई असाध्य आनन्द लाग्यो । किन हाम्रा ऋषिमुनिको आश्रम वरिपरि जनावर घुमिरहन्थे भन्ने कुरा यहाँ आएर बुझें । ती कपोकल्पित नभई वास्तविक रहेछ भन्ने थाहा भयो ।

थोराङ फेदी आइपुग्यो । त्यहाँ दुइटा ठूला होटल मात्र थिए । हामी एकमा बस्यौं र त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गर्ने प्रयासमा लाग्यौं । दुर्गम स्थान भए पनि होटल सफा थियो । खानापश्चात् दिनभरि यताउता डुलेर बितायौं । त्यहाँको वातावरणमा सहज हुँदै गएको अनुभव भयो । यसभन्दा अगाडि त थोराङ पास आउँथ्यो, जुन अन्नपूर्ण सर्किटको सबभन्दा अग्लो स्थान थियो । त्यो हाम्रो मुख्य चुनौती थियो ।

एक हिसाबले हाम्रो परीक्षा नै थोराङ पासले लिने वाला थियो । उत्सुकता र व्यग्रता उत्तिकै थियो, उत्तीर्ण हुने वा नहुनेमा । हेटौंडामा एकै विद्यालयमा पढेका भाइहरू पनि यात्रामा आएका रहेछन् । त्यहीं भेट भयो । यात्राले जुटाउने र फुटाउने गर्छ भन्थे, हो रहेछ । केही भरिया दाइहरूसँग पनि भेट भयो । उनीहरूका दुःखसुखका कुरा सुन्यौं ।

 

कोही वर्षांैदेखि भरिया भएर जीवन गुजारिरहेका, ज्याला उस्तो राम्रो होइन तर कहिलेकाहीं दयालु विदेशी पर्यटक पर्दा टिप्स पाइने । नत्र उही एकनासको जीवन । भारी बोक्दाबोक्दै केही भरियाहरूले उनीहरूको नजरमा परेर विदेश जाने मौका पाएको कुरा पनि सुन्यौं । कमै भरिया गाइड हुँदै सरदारसम्म भएका रहेछन् ।

अक्सिजनको कमी भएर हो वा अति उत्साहले हो, राति अबेरसम्म निद्रा लागेन । बिहान चाँडै उठ्ने भनेर बेलैमा सुतेको काम लागेन । कति बजे निदाएछु, थाहा भएन । तर, राति ३ बजे नै हल्लीखल्ली सुरु भइसकेको थियो । थोराङ्ला ढिलो चढ्दा घामले भेट्यो भने गर्मी हुने र हिउँ टल्केर हिंड्न कठिन हुनाले मिर्मिरेमै चढ्दा रहेछन् । कडा हावा चल्ने हुनाले मध्याह्न अगावै त्यहाँ पुगिसक्न सुझाउँदा रहेछन्, होटल सञ्चालकहरू ।

सखारै एक गिलास गार्लिक सुप र स्थानीय जडीबुटी मिसाएको तातोपानी पिएर हाम्रो टोली अगाडि बढ्यो । बाटामा अन्य पदयात्रीहरूको भीड लागिसकेको थियो । अगाडि र पछाडिको ताँती झन्डै उस्तै थियो । यसो नियालें, हामी मध्यतिर थियौं सायद । कसैको टाउकोमा हेडलाइट झुन्डिएको थियो । कसैले हातमा टर्च बोकेका थिए ।

अधिकांश पैदल हिंडिरहेका देखिन्थे भने कोहीकोही घोडामा चढेका थिए । घोडाको घन्टीको एकनासको टिङटिङको ध्वनिले वातावरणलाई भिन्न बनाएको थियो । जति रमाइलो भए पनि उकालो उकालो नै हो । स्याँस्याँ… बढ्दै गयो । साँघुरो बाटोमा एकले अर्कालाई नछोइकन विचार पुर्‍याएर हिंड्नुपर्ने अवस्था थियो । एउटै बाटोमा मान्छे र घोडा सराबरी देखिन्थे ।

उकालो चढ्न नसक्नेले फेदीबाटै घोडा भाडामा लिएर जाँदा रहेछन् । तर, एउटा नियम स्थापित नै रहेछ, कसैलाई हिंड्न गाह्रो भए बाटो छेकेर नउभिने । अलिक खुला ठाउँमा गएर बाटो छाडिदिने र घोडालाई पैदलयात्रुले किनारा लागेर बाटो दिनुपर्ने ।

हाई क्याम्प नपुगुन्जेल भीड थियो । तर, करिब ४० मिनट हिंडेपछि भीड बिस्तारै व्यवस्थित हुन पुग्यो । सायद सबै पदयात्रीले आफ्नो लय समातिसकेका थिए । अगाडि जाने अगाडि पुगे, पछाडिका पछि नै रहे । मध्यम गतिवाला हामी मध्यमै थियौं । क्रमशः भीड कम हुँदै गयो । जीवनमा जति नै दुःख भए पनि समयक्रममा आफैं मिल्दै गएजस्तो ।

यात्राको सुरुवातदेखि नै एकापसमा एकदम फरक दूरी कायम गर्न नपाइने नियमले हामी नजिक नजिक भएर हिंड्यौं । उक्लँदै गर्दा स–साना बिरुवाहरू पनि हराए । बिरुवाका स्थानमा क्रमशः लेउ र सुक्खा पत्थर मात्र देखिन थाले । मैले मनमनै क्याम्पसमा पढेको हिमरेखा र त्यसवरपरको वनस्पति वा पर्यावरणको प्रसंग सम्झें ।

म पदयात्रा मात्र गरिरहेको थिइनँ, क्याम्पसको जस्तै एक्स्कर्सन पनि गर्दै थिएँ । हिउँको बाटोमा हिउँ कुल्चँदै हामी अगाडि बढिरहेका थियौं । थोरै उकालो चढ्दै, थोरै बिसाउँदै, पानीले घाँटी भिजाउँदै हिंडिरहेको हाम्रो गति अत्यन्त धीमा थियो ।

मलाई लेक लागेको जस्तो केही भएन । केही सहयात्रीहरूलाई रिंगटा लाग्ने समस्या देखिएपछि उनीहरूको झोला हामीले आलोपालो गरेर बोक्यौं । सामूहिक यात्राको यो अत्यन्त लाभदायक पक्ष रहेछ । हिंड्न अलिक गाह्रो भएका साथीहरूलाई एकएक जनाको जिम्मा लगाएर सँगै हिंड्ने र हिंडाउने गर्‍यौं । म करिब १०ः१५ बजे थोराङ पासको सबभन्दा अग्लो थुम्को (५,४१६ मिटर) मा आइपुगें, जसको प्रतीक्षा दशकौंदेखि गरेको थिएँ ।

थोराङ्ला केही समथर स्थानमा रहेछ । दायाँबायाँ अनेकन् हिमचुलीहरू । त्यहाँबाट पनि उत्तरतर्फ अर्को गन्तव्य देखिन्थ्यो । तर, त्यतातिर हामीले ध्यान दिएनौं । ‘थोराङ पास ५,४१६ मिटर’ लेखिएको बोर्ड छेउ उभिएर हामीले फोटो खिच्यौं । कोही सहयात्री आउँदै थिए, कोही अगि नै पुगेर फोटो खिच्दै थिए । सबैमा तीव्र र अनियन्त्रित उत्साह थियो ।

मलाई थुम्कोमा पुगेपछि कहाँबाट अत्यन्त जोस आयो र जोडले चिच्याएँ । चिच्याउँदा चिच्याउँदै केही सम्झेर टक्क रोकिए । यस्तो सुन्दर ठाउँमा पहिलो पटक आइपुगें भनेर चिच्याउनुको के अर्थ ? अहिलेसम्म म कहाँ थिए ? कसलाई सुनाउन मैले चिच्याएको ? यस्ता प्रश्न आएपछि म तुरुन्त सम्हालिएँ । यी र यस्ता स्थानमा सकुन्जेल भ्रमणमा आउनेछु भनेर आफैंलाई सम्झाएँ ।

उमेश सरले सबैलाई एकछिन बसेर तुरन्त अगाडि बढ्न निर्देशन दिनुभयो । त्यहाँ धेरैबेर बस्नु भनेको जोखिम निम्त्याउनु थियो । त्यहाँ करिब २० मिनट जति बसेपछि हामी मुक्तिनाथतर्फ झर्‍यौं । अब हाम्रो अगाडि ओरालो मात्र थियो । ओरालोमा म बिस्तारै हिंडे, शरीर सन्तुलनमा राख्दै । ओरालो निकै कडा थियो । तैपनि वरपरको वनस्पति, वातावरण, रुखबिरुवा नियाल्न छाडिनँ ।

थोराङ्लाबाट तल झर्दा हिउँ परेको समयमा यात्रुलाई बाटो अलमल नहोस् भन्नका लागि एक्यापले थुप्रै रंगीन पोल गाडेर संकेत चिह्न लगाएको रहेछ । यति गर्दा पनि ठूलो हिउँ पर्दा बाटो पुरिएर यात्रु अलमलिने र भीरबाट खसेर मृत्यु भएका निकै घटना रहेछन् । हामी निरन्तर ओरालो झरिरह्यांै । ओरालो भएपछि लेक लाग्ने सम्भावना कमै हुँदै गयो । तर, थकान भने बढ्दै गयो ।

साँझ करिब ५ बजे हामी मुक्तिनाथ पुग्यौं । भोलि बिहान दर्शन गर्ने सल्लाह अनुसार सीधै होटल खोज्न लाग्यौं । बेलुका आगामी यात्राबारे छलफल भयो । तालिका अनुसार पुन हिल हेरेर फर्कने योजना थियो । तर, एउटा दिन च्याम्चेको पहिरोले चपाइसकेको थियो । मुख्य यात्रा गरिहालियो । अब पुन हिल नगई सीधै घर फर्कौं भन्ने सहमति भयो । ठूलो विजयपश्चात्का सन्तुष्टिको लहरहरू सबैको अनुहारमा देखिन्थ्यो । सबैको सपना पूरा भएको थियो । सबै खुसी र उत्साहित थिए । टन्न अघाएपछि जति नै मीठो भए पनि थप नखाएजस्तै भो भन्नेमा पुगियो ।

बिहान मुक्तिनाथ दर्शन गर्‍यौं । स्नान र घुमघाम गरी फोटो खिच्ने र खिचाउने काम भयो । खाना खाएपछि हामी जोमसोम आयौं । जोमसोममा थोरै विश्राम गरेर त्यही दिन बास बस्न तातोपानी आइपुयौं । क्याम्पस पढ्ने वेलामा (२०५७ साल) आएको तातोपानी र अहिलेको तातोपानीमा आकाश-पातालको अन्तर भएछ । पहिला खाना खाएपछि निःशुल्क सुत्न दिने तातोपानीको नियम फेरिएछ । जुन स्वाभाविक पनि हो ।

तातोपानी बजार एक फन्को लगाइयो । बाँकी रहेको थकान तातोपानीमा नुहाएपछि सबै चट्, सबै ताजा । थोराङ पासबाट आएका र यो रुट हुँदै चढ्न जाने टोलीसँग कुराकानी भयो । थोराङ पास गर्न मुक्तिनाथबाट पनि जाँदा रहेछन् । तर, यो रुटबाट थोराङ्ला चढ्न झनै कठिन छ भन्ने थाहा भयो । फेदीको होटलमा खानेकुरा ल्याउने खच्चड पनि यही बाटो हुँदै आउने रहेछन् ।

भोलिपल्ट तातोपानीबाट बेनीसम्म लोकल गाडी र बेनीबाट प्रकृतिप्रेमी समूहले व्यवस्थापन गरेको गाडीबाट हामी पोखरा फर्कियौं । बाटोमा गीत गाउँदै, नाच्दै र पुनः यस्ता यात्रामा जाने सहमतिसहित बिदा भयौं ।

म विमलनगरमा नै झरें, जहाँबाट म चढेको थिएँ । घुमाइ त भयो नै, सिकाइ पनि भयो । अझ पनि जब जब थोराङ पासको त्यो रोमाञ्चक सामुहिक पदयात्रा सम्झन्छु, कसैले थोराङ चढेको छु भन्छ, अनायास उमेश सर लगायत सबै सहयात्रीहरू सम्झन्छु र आनन्दको अनन्त प्रवाहमा हेलिन्छु ।

(‘प्रकृतिः सहअस्तित्वको खोजी’ पुस्तकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?