+
+
संस्मरण :

मनका कुरा, वनका कुरा

आमा हुनुको नाताले सबैकुरा सन्तुलन मिलाउँदा कतिपय रहर र सपनाहरूसँग सम्झौता गर्न त पर्‍यो । परिवारका सदस्यहरू लैङ्गिक हिसाबले सचेत हुनु वा नहुनुले महिलाको वृत्तिविकासमा ठूलो अन्तर पर्ने पनि मेरो सिकाइ रह्यो।

कल्पना घिमिरे कल्पना घिमिरे
२०८० माघ २७ गते १७:५३

के पढ्ने, पढेर के बन्ने ? उतिवेला मेरो दिमागमा प्रष्ट चित्र थिएन । तर मनमा केटी मान्छेको उपस्थिति अल्लि कम हुने कुनै प्राविधिक विषय पढ्न पाए हुन्थ्यो भन्ने थियो।

गाउँमा स्कूल पढ्ने वेला कक्षामा प्रायः म प्रथम हुन्थें। उतिवेला प्रायः केटाहरू मात्र पहिलो/दोस्रो हुने हुनाले केटी पहिला भए पनि ‘फस्ट ब्वाई’ भन्ने चलन थियो, म पनि फस्ट ब्वाई नै थिएँ । केटा र केटीलाई लिएर बनाइएको सीमा बिस्तारै भत्काउनुपर्छ र भत्काउन सकिन्छ, जिल्ला स्तरीय हाजिरीजवाफ, खेलकुद आदिमा सहभागी हुँदा केटाले सक्ने काम म पनि गर्न सक्छु भन्ने सोच मभित्र विकास हुँदै थियो ।

बुवा आमाको चाहना सबै छोराछोरी काठमाडौंमा सँगै बसेर पढिदिए सजिलो हुन्थ्यो भन्ने थियो। एसएलसीपछि काठमाडौंमा दाइदिदीसँग बसेर पढ्न पद्मकन्या क्याम्पसमा विज्ञान संकायमा भर्ना भएँ। सारीमा बेरिएर पढ्न जानुपर्थ्यो, विज्ञान पढ्न मलाई अल्लि निरस लाग्न थाल्यो।

अवसरको खोजीमा वनविज्ञान

काठमाडौंमा एक दिन चेतनाथ त्रिपाठी दाइसँग भेट भयो। उहाँ नातासम्बन्धमा मेरो दाइ हुनुहुन्थ्यो, लमजुङबाट राम्रो नतिजा ल्याएर एसएलसी उत्तीर्ण गरेको उदाहरणीय विद्यार्थी पनि हुनुहुन्थ्यो। उहाँले वन क्याम्पसबाट आइएस्सी गरेर कतै काम गर्न सुरु गर्नुभएको थियो।

उहाँसँगको कुराकानी पछि मेरो बाटो बिस्तारै विज्ञानबाट वन विज्ञानतिर मोडियो। पोखरामा प्रवेश परीक्षा दिएँ, म वन विज्ञान पढ्नको लागि छानिएँ। युएमएनबाट छात्रवृत्ति समेत पाएँ। परिवारलाई आर्थिक बोझ पनि कम भयो।

वन विज्ञान अध्ययन संस्थानको भौतिक संरचना निकै राम्रो थियो। नयाँ सुन्दर भवनहरू, पुस्तकालय, उति वेलाको सन्दर्भमा सुविधासम्पन्न छात्रावास सहितको आवासीय सुविधा। यति सुविधा सम्पन्न क्याम्पसमा पढ्न पाउनु मेरो लागि गर्वको कुरा थियो।

पहिले कहिल्यै घरपरिवारबाट टाढा नबसेको, जति नै सुविधा सम्पन्न भए पनि पोखरा बसाइले मलाई अल्लि समयपछि राम्रै ‘होम सिक’ बनायो। यस्तै अवस्था मेरा अरु साथीको पनि थियो। मेरो ब्याचको चार सेक्सनमा २२५ जना विद्यार्थीमध्ये २६ जना मात्र महिला थियौं । हामी देशभरिका विभिन्न ठाउँबाट आएका, फरक पृष्ठभमि र चालचलनका थियौं । घुलमिल हुन र साथी बनाउन समय लाग्यो।

छात्रावासको बसाइ, बिहान बेलुका शारीरिक अभ्यास र खेलकुद, अध्ययनको क्रममा अवलोकन भ्रमण समेत हुने भएकाले विद्यार्थीबीच घुलमिल हुने वातावरणले बसाइ बिस्तारै सामान्य हुँदै गयो। बीएस्सी पढ्ने दिदीहरूले पढाइ र अन्य कुराहरूमा वेलावेला सोधखोज गर्ने, सिकाउने गर्नुहुन्थ्यो।

पढाइका अतिरिक्त जीवनोपयोगी सीप र भविष्यको योजनामा उहाँहरूले मद्दत गर्नुहुन्थ्यो। रोशनी श्रेष्ठ, स्व. इन्दिरा श्रेष्ठ, मनोहरा खड्का दिदीहरूसँग म अल्लि नजिक थिएँ, आवश्यक पर्दा सरसल्लाह र सुझाव लिने गर्थें।

आईएस्सी सकिने वेला काम कसरी खोज्ने केही थाहा थिएन। एकदिन रोशनी दिदीले जानकारी दिंदै भन्नुभयो, ‘परिवर्तनका लागि कार्यरत महिला समूह (वाच) नामको गैरसरकारी संस्थामा सम्पर्क गर, फिल्डमा काम गर्ने अवसर हुनसक्छ ।’ उहाँले अन्तर्वार्तामा बोल्ने तौरतरिका पनि सिकाउनुभयो।

आईएस्सी सकेपछि म काठमाडौं फर्कें। उतिवेला अहिले जस्तो फोन र इमेलको सुविधा थिएन। एक जना नातेदारको सहयोगमा वाचको कार्यालय खोज्दै म पुरानो बानेश्वर पुगें। डा नारायणकाजी श्रेष्ठ र मीना पौडेललाइ भेटेर काम गर्ने इच्छा प्रकट गरें।

मेरो सीप देखेरभन्दा पनि मेरो सरलपन र इच्छाशक्ति देखेर होला उहाँहरूले मलाई रूपन्देही फिल्डमा काम गर्ने गरी वन प्राविधिकको रूपमा छान्नुभयो। त्यतिवेलासम्म मलाई उहाँहरू कति ठूलो मानिस हो? के को विज्ञ हो ? केही थाहा थिएन।

सायद मलाई फिल्डमा के गर्ने, कसरी गर्ने राम्रो अभिमुखीकरण गर्ने व्यक्ति पनि कोही थिएन। काठमाडौंमा डा. श्रेष्ठले भनेका उच्च तहका कुरा मैले उति बुझ्दा पनि बुझिनँ होला ।

रूपन्देहीमा वन, कृषि र स्वास्थ्य सम्बन्धी कार्यक्रम थियो। हामी तीन जना बस्थ्यौं। मैले त्यहाँ गाउँलेहरूसँग उनीहरू जस्तै भएर बस्न र मिलेर काम गर्न सिकें। मनिसहरू वनका कुराभन्दा पनि स्वास्थ्यका कुरा बढी सुन्थे । हामीले औषधि दियौं भने खुसी हुन्थे।

करिब तीन महिनाको बसाईपछि काठमाडौंको छैमले क्षेत्रमा वन प्राविधिकको जरुरी परेछ। मलाई त्यहाँ सरुवा गरियो। त्यहाँ भने नर्सरी निरीक्षण, बिरुवा वितरण, वृक्षारोपण र वन संरक्षणका कुरा गर्नुपर्थ्यो। बल्ल म वन प्राविधिक जस्तो भएँ।

कृषिको काम गर्ने केटा साथी थिए। गाउँलेहरू अक्सर मेरो भन्दा धरैजसो उनका कुरा सुन्न खोज्दथे। शायद पुरुषले बढी जानेको हुन्छ भन्ने विश्वास थियो होला गाउँलेहरूमा। एक दिन छैमलेको विद्यालयमा वार्षिक कार्यक्रम थियो। संस्थाको प्रतिनिधित्व गर्दै मलाई मन्तव्य राख्न बोलाइयो। मैले सामुदायिक विकास, महिला सशक्तीकरण र वनसंरक्षण सम्बन्धी आफ्नो मन्तव्य राखें।

हामी तपाईंको गाउँमा तपाईंलाई नै सहयोग गर्न आएका सहयात्री हौं भने। खै अरु के के बोलें तर श्रोता र अतिथिलाई मेरो कुरा मन परेछ। डा मृगेन्द्रराज पाण्डे, काठमाडौंबाट गएका नेताहरू र स्थानीय बुद्धिजीवीहरूले मेरो प्रसंशा गरे। आफ्नो भूमिका देखाउन पाएपछि मलाई त्यहाँ काम गर्न सजिलो हुँदै आयो। तर अल्लि जान्ने सिनियरहरूसँग सिकेर काम गर्न पाएको भए अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने चाहिं लागिरह्यो।

आईएस्सी सकेपछि बीएस्सीको नयाँ भर्ना नखुलुञ्जेल वाचमा काम गरें। तर मौका पाए थप पढ्नुपर्छ भन्ने लागिरह्यो। पहिले जस्तो बीएस्सी पढ्नको लागि अनिवार्य सेवा अनुभव हुनुपर्ने प्रावधान हट्यो। प्रवेश परीक्षामा छनौट हुन सके केही सिटमा नियमित पढ्न पाइने भयो। मिहिनेत गरेर प्रवेश परीक्षा दिएँ।

आफ्नो ब्याचका साथीहरू मध्ये ५ जनाले बीएस्सी पढ्ने मौका पायौं। जम्मा ३९ मध्ये हामी ६ जना मात्र छात्रा थियौं। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्नातक तह चार वर्षे बनाएपछिको हामी पहिलो ब्याच भयौं । बीएस्सीको पढाइ विज्ञानको आधारभूत ज्ञान, वन वनस्पति, भूसंरक्षण, जैविक विविधता र वातावरण सम्बन्धी विषयहरूको मिश्रण थियो। यसका अतिरिक्त स्रोत व्यवस्थापन सम्बन्धी अनेक सैद्धान्तिक र व्यवहारिक पक्ष समेटिएका थिए।

पठनपाठनका अतिरिक्त अवलोकन भ्रमण, अभ्यास र अनुसन्धान समेतले कोर्स उत्कृष्ट नै थियो। अध्ययनका क्रममा नेपाल र भारतका विभिन्न संघसंस्थाहरूले संरक्षणमा गरेका प्रयासहरू प्रत्यक्ष हेर्ने र अन्तरक्रिया गर्ने अवसर मिल्यो।

अध्ययन र पेशागत जीवन एउटा कुरा हो। प्रेम, सम्बन्ध र परिवार त्योभन्दा पनि माथि हुँदो रहेछ । अध्ययनकै क्रममा सहपाठी ऋषि बस्ताकोटीसँगको संगत बिस्तारै सहजीवनमा विकास भयो। एकअर्काले सम्बन्धलाई परिपूरक ठान्यौं र बीएस्सी पढ्दा पढ्दै बिहे गरी सहयात्रा सुरु गर्‍यौं।

पेटमा हुर्कंदै गरेको छ महिनाको बच्चासँगै हामीले बीएस्सी सक्यौं । छोरा अभि जन्मेपछि म करिब ७-८ महिना छोरो हुर्काउन र आमाको दायित्व पूरा गर्नतिर लागें। यद्यपि कतिवेला म काममा फर्कने होला, आफ्नो ‘करियर’ कसरी अघि बढाउने होला भन्ने चिन्ता भने लागिरह्यो।

सँगै पढेका श्रीमानले काम सुरु गरिसकेकोमा एकातिर म खुशी पनि थिएँ। अर्कातिर नजानिंदो हिसाबले वेलावेला बाबु हुनुको स्वतन्त्रता र आमा हुनुको जिम्मेवारी बीचको अन्तर पनि तुलना गरिरहें। कसरी पेशागत गोरेटो पहिल्याउने होला भन्ने चिन्ताले मलाई सताइरह्यो।

नेपाल-अष्ट्रेलिया वन परियोजनामा जागिर

अन्ततः धेरै कुरामा मेरो जीवनको उज्यालो पथप्रर्दशक बन्दै आएकी रोशनी दिदीले एक दिन भन्नुभयो, ‘तिमी काम गर्न इच्छुक हो भने नेपाल-अष्ट्रेलिया वन परियोजनामा एउटा पद खाली हुँदैछ, अप्लाई गर ।’

उहाँको कुराले म कति खुशी भएँ शब्दमा वर्णन गर्न सक्दिनँ। उक्त जिम्मेवारीमा खासमा दिदी आफैंले काम गर्दै आउनुभएको रहेछ। मेरो श्रीमान् अर्को परियोजनामा उस्तै प्रकृतिको काममा भएकोले यो पदमा मोटामोटी कस्तो जिम्मेवारी होला भन्ने त अलिअलि अनुमान थियो।

दिदीले मलाई यो पदको जिम्मेवारी बारे केही जानकारी पनि दिनुभयो। अन्तर्वार्ता झेल्ने तरिका सिकाउनुभयो। संयोगबस नेपालमा सामुदायिक वनको अगुवा संस्था नेपाल-अष्ट्रेलिया वन परियोजनामा सामुदायिक वन अधिकृतको रूपमा काम गर्ने मौका पाएँ।

सैद्धान्तिक ज्ञानले केही हदसम्म दीक्षित भए पनि मलाई व्यवहारिक सीप भने धरै नै सिक्नु थियो। अष्ट्रेलियन वन परियोजना एक हिसाबले वन विज्ञान अध्ययन गरेकाहरूका लागि फिल्ड स्कूल नै थियो। क्याम्पस पढ्ने वेला पनि यो परियोजनाको कार्यका बारेमा हामी छलफल गर्थ्यौं। अवलोकन भ्रमण र अभ्यास गर्न जान्थ्यौं।

परियोजनाले सन् १९७० को दशकदेखि नै वृक्षारोपण गरेर सिन्धुपाल्चोक र काभ्रेको डाँडापाखामा हरियाली भरेको थियो । समुदायमा आधारित परम्परागत संरक्षण प्रणालीको जगमा सामुदायिक वनको अवधारणालाई बढाएको थियो । उच्च पहाडी क्षेत्रमा चरण विकास सम्बन्धी कार्यक्रम गरेको थियो, वनमा आधारित सामुदायिक उद्यम विकासका अनेक अभ्यास थालेको थियो।

यस्तो महत्वपूर्ण काम गरिरहेको कार्यक्रममा सहभागी भएर आफू पनि सिक्दै वन संरक्षण र विकासमा योगदान गर्न पाउने भएँ। सिकारु वेलामा पेशागत क्षेत्रका योग्य अग्रजहरूबाट सिक्न पाउनु व्यक्तित्व विकासका लागि महत्वपूर्ण अवसर हुन्छ।

सँगै पढेका श्रीमानले काम सुरु गरिसकेकोमा एकातिर म खुशी पनि थिएँ। अर्कातिर नजानिंदो हिसाबले वेलावेला बाबु हुनुको स्वतन्त्रता र आमा हुनुको जिम्मेवारी बीचको अन्तर पनि तुलना गरिरहें। कसरी पेशागत गोरेटो पहिल्याउने होला भन्ने चिन्ताले मलाई सताइरह्यो।

मैले त्यतिवेला स्टिभ हन्ट, गोपी पौडेल, शम्भु दंगाल, मुरारी जोशी लगायतका आफ्नो क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्ने मौका पाएँ भने जिल्लामा सरकारी वन कार्यालयका तर्फबाट नरेन्द्र चन्द र रामकाजी श्रेष्ठ जस्ता ऊर्जाशील र सकारात्मक सोचका धनी वन अधिकृत अग्रजहरूसँग काम गर्ने मौका मिल्यो। उहाँहरूले मलाई काममा उत्प्रेरित गरिरहनुभयो।

विभिन्न चरणमा परिमार्जन हुँदै आएको अष्ट्रेलियन वन परियोजनाको कामको तौरतरिका मुख्यगरी जनसहभागितामा आधारित कार्यमूलक अनुसन्धान, कार्यान्वयन र नीतिगत सुधारको चक्रमा आधारित थियो। अनुसन्धान र कार्यान्वयनका बारे प्रशस्त छलफल हुन्थे। सिक्ने अवसर राम्रो थियो।

परियोजनाले गरेका कामबाट संरक्षण र समुदायको जीवनस्तर सुधारमा राम्रै प्रभाव परेको देख्न सकिन्थ्यो। सरकारी स्तरबाट पनि वन परियोजनाको कामको राम्रै सराहना हुन्थ्यो। काम गर्ने क्रममा मैले सिकाइहरूको अभिलेखीकरण गर्ने र केही मार्ग निर्देशिकाहरू तयार पार्ने जिम्मा पाएँ।

फिल्ड स्तरका कर्मचारीहरूको प्राविधिक क्षमता विकास गर्न तालिम र भ्रमणहरूको संयोजन गर्ने जिम्मा पाएँ। सन् २००१ मा भारतको मध्य प्रदेशमा रहेको इन्डियन इन्स्टिच्युट अफ फरेस्ट म्यानेजमेन्टसँगको सहकार्यमा एउटा वन व्यवस्थापन सम्बन्धी अध्ययन भ्रमणको संयोजन गरें।

सहभागीहरू प्रायः परियोजना र सरकारी निकायका जुनियर वन प्राविधिकहरू हुनुहुन्थ्यो। अधिकांश सहभागी पुरुषहरू हुनुहुन्थ्यो। अन्तरदेशीय भ्रमणको नेतृत्व गर्नु थियो। अल्लि दकस त लागेको थियो तर कुशलतापूर्वक कामको संयोजन गरें। त्यतिवेला आफ्नो संस्थाको कामबारे भारतका वनकर्मीहरूलाई बताउने र उनीहरूको कामबाट आफूहरूले पनि सिक्ने मौका मिल्यो।

 देहरादुनदेखि ड्रेसडेनसम्म

आफ्नो क्षमता विकासमा म प्रायः तल्लिन भइरहें। शायद अझै सिक्नु थियो, अझै जान्नु थियो। आफूले भेटेका, जानेका प्राज्ञिक व्यक्तित्वहरूसँग सम्पर्क गरिरहें, अवसरको खोजी गरिरहें। भारतको देहरादुनस्थित इन्डियन इन्स्टिच्युट अफ रिमोट सेन्सिङमा रिमोट सेन्सिङ र जीआईएस प्रविधिमा एमटेक गर्ने अवसर प्राप्त भयो।

सार्क स्तरको राम्रै छात्रवृत्ति मिल्यो। आफ्नो करियरको लागि २ वर्षको छोरो आमासंग काठमाडौंमा छोडेर देहरादुन पढ्न जाने निर्णय गरें। गर्न त भविष्यका लागि राम्रै निर्णय गरें। तर एउटी आमाका लागि यो अलिकति कठोर निर्णय पनि थियो।

पढाइ सुरु भयो र रफ्तारमा अघि बढ्यो। विभिन्न पृष्ठभूमिका निकै मेधावी विद्यार्थी थिए। काखको बच्चालाई छोडेर विदेशमा अप्ठ्यारो प्राविधिक विषय रातदिन घोटिएर पढ्नु त्यसमा पनि सम्बन्धित क्षेत्रको आधारभूत ज्ञान विना । यो काम मलाई उति सजिलो र रमाइलो थिएन।

तीन तह मध्ये एक तह पूरा गरें। आमा हुनु, करियरको दौडमा अनवरत अघि बढिरहने सपनाको पछि लाग्नु कति चुनौतीपूर्ण रहेछ। म अहिले पनि सम्झन्छु।

यत्तिकैमा मेरा श्रीमान ऋषि जर्मनीमा स्नातकोत्तर पढ्नको लागि जर्मन सरकारको छात्रवृत्तिमा छनौट हुनुभयो । मलाई भने खुशी र थप चुनौती थपियो। पढिरहेको यति राम्रो कोर्स छोडेर श्रीमानको पछि लागौं कि घर परिवार तीनतिर रहने गरी यही पढाइ देहरादुनमा बढाइरहूँ !

ऋषिकै भर्ना भएको विश्वविद्यालयमा मेरो पनि उही कोर्समा अप्लाइ गर्‍यौं। मैले पनि भर्ना पाएँ। त्यसपछि देहरादुनको पढाइ, पछि आएर पूरा गर्छु भनेर म पनि चार वर्षको छोरो च्यापेर ड्रेसडेन जर्मनीतिरै लागें।

देहरादुनको पढाइ छोडेर ड्रेसडेन जाँदा अनुकूल मिल्यो भने जीआईएसमै थप अध्ययन गर्छु भन्ने लागेको थियो। तर हाम्रो कोर्सको प्राथमिकता अल्लि बढी व्यवस्थापकीय सीप क्षमता बढाएर विकासशील देशमा काम लाग्ने स्रोत व्यवस्थापनको जनशक्ति उत्पादन गर्ने खालको थियो। जीआईएसको कोर्स गर्न र अनुसन्धान गर्न त सकिन्थ्यो। तर त्यसको लागि अन्य इन्स्टिच्युटमा गएर अरु नै प्रोफेसरसँग पढ्नुपर्ने हुन्थ्यो।

हामी भर्ना भएको इन्स्टिच्युटका प्रोफेसरहरूले मलाई प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक सवाल हेर्न अभिप्रेरित गरे। अनुसन्धानको लागि केही आर्थिक स्रोतको पनि व्यवस्था मिल्यो। यसरी प्रारम्भिक चाहनाले भन्दा पनि तत्काल आइलागेका अवसरहरूले मलाई लैङ्गिक विषयतिर मोड्यो।

प्राकृतिक स्रोत व्यवस्थापनमा केही वर्ष काम गरिसकेको, स्रोतमा आश्रित समुदायहरूको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था बारे जानकार भएको, र आफैं पनि आमा भैसकेकोले मलाई प्राकृतिक स्रोतमा लैङ्गिक भूमिका बारे अध्ययन गर्न भित्रैदेखि रुचि जाग्यो।

सैद्धान्तिक ज्ञान फराकिलो हुँदै गएपछि मलाई हाम्रो समाजमा चिन्तन र व्यवहारमा कहाँ कहाँ लैङ्गिक सवाल छन्, महिलाहरू जानी नजानी कसरी अवसर र स्रोतबाट पछि पारिएका छन् प्रष्ट हुन थाल्यो। महिलाको सवाललाई मूल प्रवाहमा कसरी ल्याउने, सवालको दीगो सम्बोधन कसरी हुन सक्छ यस्ता विषयमा मैले चिन्तन गर्न थालें।

वन विज्ञानका आवश्यक कोर्स गर्दै म आफ्नो अनुसन्धानमा पनि केन्द्रित भए। एक वर्षको पढाइ पछि स्थलगत अनुसन्धानका लागि नेपाल फर्कें। सामुदायिक वन र कृषि वनमा लैङ्गिक भूमिका मेरो अनुसन्धानको विषय थियो।

हाम्रो समाजमा सन्तान उत्पादन र परिवार व्यवस्थापन कार्य, उत्पादनमुलक (आर्थिक) कार्य र सामाजिक कार्य गरी यी तीन तहमा लैङ्गिक भूमिका के कसरी स्थापित भएका छन् भन्ने दृष्टिकोणबाट मैले आफ्नो अनुसन्धान अगाडि बढाएँ। अनुसन्धानको क्रममा कतिपय सन्दर्भमा म आफैंलाई पात्रको रूपमा भेटे झैं लाग्यो।

आफ्नै भूमिका पनि यी तीन तहमा कसरी स्थापित हुँदै आएको रैछ भन्ने एक प्रकारको प्रतिबिम्बन भयो। श्रम गर्ने काममा कसको भूमिका बढी छ, निर्णय प्रक्रियामा को बढी जिम्मेवार छ, स्रोतमाथि पहुँच र अधिकार कसरी स्थापित छ? महिला किन प्रायः सन्तान उत्पादन र परिवार व्यवस्थापन जस्ता गैरआर्थिक क्रियाकलापमा रुमलिएका छन्, सामाजिक नेतृत्व र आर्थिक अधिकारका सवालमा महिला र पुरुष बीच किन ठूलो भिन्नता छ ?

समानताका कुरा गरे पनि हामी व्यवहारमा कहाँ कसरी चुकिरहेका छौं ? महिला सशक्तीकरण र समावेशी विकासका लागि रणनीति कस्तो हुनुपर्छ ? आदि विषय बुझ्न र अल्लि विहंगम दृष्टिकोण विकास गर्न यो अनुसन्धानले मलाई धेरै मद्दत गर्‍यो।

नेपालको फिल्ड रिसर्च सकेर जर्मनी फर्केको केही महिनामा सानो छोरा अल्बर्ट जन्मियो। दोस्रो पटक आमा हुनुका साथै थप पारिवारिक दायित्व थपियो। साथमा अध्ययन पूरा गर्नुपर्ने त थियो नै। जर्मनीमा अध्ययन गर्दा एउटा गजबको अनुभव भयो।

नेपालमा जागिरको अन्तर्वार्ता दिने वेला घोषित रूपमा नभनिए पनि महिलालाई छनौट गर्ने वेला विवाहित हो कि अविवाहित हो? छोराछोरी पाएर फिल्ड जान ‘एक्सक्युज’ खोज्ने हो कि ? पुरुष समान जुधेर काम गर्न नसक्ने पो हो कि? अनेक तरहले हेर्ने गरिन्थ्यो।

जर्मनीमा भने पढ्ने वेलामा पनि परिवार व्यवस्थापनलाई महत्वपूर्ण स्थान दिएको पाएँ। चार वर्षको छोरा लिएर अध्ययनको लागि नेपालबाट गएको म अनुकूल मिल्ने ठाउँमा ‘चाइल्ड केयर’ को सुविधा थियो। अप्ठ्यारो पर्दा प्राध्यापकहरू बुझकारी थिए।

सानो छोरा जन्मेपछि थेसिस लेख्ने समयमा पनि कलेजका निर्देशकले नै सहज असहज के छ सोध्ने, र सम्बन्धित प्राध्यापक र कर्मचारीहरूलाई आवस्यक सहजीकरणको लागि अनुरोध गर्नेसम्मको सहयोग गर्नुभयो ।

सुत्केरी भएको करिब २ महिना अध्ययनमा प्रभावकारी काम गर्न नसकेको वेलालाई मध्यनजर गरी ऋषि र म दुवै जनाको छात्रवृत्ति लम्ब्याएर अध्ययनको लागि अनुकूल वातावरण तयार गरिदिनुभयो। यो सब देख्दा लैङ्गिक समनाता त भन्ने कुरा मात्रै होइन, आवस्यक पर्दा लैङ्गिकमैत्री प्रावधानहरू बनाएर उत्प्रेरित गर्नु जरुरी छ भन्ने लाग्यो।

सकारात्मक र मैत्रीपूर्ण वातावरण पाएकोले दुई सन्तानका साथमा रहेर अध्ययन गर्दा पनि हामी दुवै श्रीमान श्रीमतीले उत्कृष्ट नतिजाका साथ स्नातकोत्तर गर्न सक्यौं।

स्नातकोत्तरको पढाइ सकेर जर्मनीबाट फर्केपछि पुनः मलाई अष्ट्रेलियन वन परियोजनामा काम गर्ने मौका मिल्यो। सामुदायिक वनको सुरुवाती चरणदेखि विभिन्न चरण पार गर्दै परियोजना फेज आउटको क्रममा थियो। सिकाइहरूको अभिलेखीकरण गर्ने र त्यसलाई वृहद रूपमा सरोकारवालाहरू समक्ष पुर्‍याउने अनि नीतिगत रूपान्तरणमा टेवा पुर्‍याउने काम यति वेला महत्वपूर्ण थियो।

अष्ट्रेलियन वन परियोजनाले सामुदायिक वन कार्ययोजनाको विकसित र विस्तारित रूप एकीकृत वन कार्य योजनाको अवधारणा अनुसार कार्ययोजना तयार पारेको थियो। यो कार्ययोजना वनको संरक्षण, सम्बर्धन र विकासबाट अझ माथि उठेको थियो। त्यसमा समुदायको क्षमता विकास, सुशासन आदि समेटिएको थियो।

दिगो वन विकासका साथै वन स्रोतको उचित व्यवस्थापन गरी कसरी आर्थिक स्रोतमा बदल्ने र त्यसबाट स्थानीय क्षेत्रमा भौतिक विकास कसरी गर्ने भन्ने सम्मका कुरा समेटिएका थिए। सहभागितामूलक वन व्यवस्थापनबाट सुशासन र समृद्धिको सपना समेटिएको थियो। वन उद्यमका बारेमा विशेष जोड थियो वन कार्य योजनामा ।

यस्तो महत्वपूर्ण कार्यको प्रक्रिया र सिकाइको दस्तावेजीकरण गर्ने समूहमा परामर्शदाताको रूपमा मैले आफ्नो भूमिका निर्वाह गर्न पाएँ। विज्ञहरूको समूहमा रहेर आफू पनि सिक्दै आफूले जानेको सीप र ज्ञान समेत त्यसमा मिसाउन पाउँदा गर्व अनुभूति भएको थियो। नेपालका सामुदायिक वनहरूले यो बाटो पक्रन सके भने पक्कै पनि हरियो वन नेपालको धन भन्ने पुरानो उखान नयाँ जमानामा सार्थक हुने थियो जस्तो लाग्छ।

सडक परियोजना, समावेशीकरण र सशक्तीकरण

स्नातकोत्तरमा प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक सवालमा अल्लि गहिरो अध्ययन गरेर फर्केकोले यो क्षेत्रमा केही योगदान गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। सन् २००६ तिर स्विस सरकारको सहयोगमा सञ्चालित ग्रामिण सडक परियोजनामा सामाजिक समावेशीकरण विशेषज्ञको रूपमा काम गर्ने मौका मिल्यो।

सडक परियोजनामा इन्जिनियरहरूसँग महिला र सीमान्तकृत समुदायको सवाल समायोजन गर्ने गरी काम गर्नु रोमाञ्चक तर चुनौतीपूर्ण कार्य थियो। सामाजिक पाटो हेर्नेहरूको र सडक निर्माण हेर्ने प्राविधिकहरूको प्राथमिकता र हेर्ने ‘लेन्स’ फरक हुनु स्वाभाविक थियो। ग्रामिण समुदायको हितका लागि वातावरणमैत्री भनेर ल्याइएको सडक योजना भए पनि लैङ्गिक सवाल राम्ररी सम्बोधन भएको थिएन।

महिला सहभगिताका नाममा महिलाहरू सडक खन्न र भारी बोक्न सामेल भए भने सफलता मानिन्थ्यो। यस्तो सहभागिताले महिलालाई हित गर्छ कि झन् सीमान्तकृत पार्छ भन्ने सवाल छलफल हुनु र सोही अनुसार कार्यक्रमको रणनीति र तौरतरिका बदल्नु जरुरी थियो। हेर्दा सामान्य लागे पनि नभनिएका र नदेखिएका लैङ्गिक सवालहरू थिए। यी सवालहरू महिलाका प्रगतिका बाधक थिए।

क्षमताभन्दा ठूला भारी बोक्ने र आवश्यक पोषण विना नै अधिक श्रम गर्ने गर्दा महिलाको स्वास्थ्य खराब हुने डर थियो। लाज र संकोचले खुल्ला रूपमा नभने पनि महिलाका पाठेघर खस्नेसम्मका समस्या यदाकदा मैले विभिन्न ठाउँमा भेटेको थिएँ। बाटो कताबाट लाने, गाउँमा आएको बाटोले जीविकाको बाटोमा दीर्घकालीन असर कस्तो पार्ला आदि विषयमा महिलासँग विरलै छलफल हुन्थ्यो।

बाटो बनाउँदा महिलाले रोजगारी पाउनु त ठिकै थियो। तर त्यसको कमाइले महिलाको जीवनस्तरमा के सुधार भयो ? महिलाले पुरुष सरह समान ज्याला पाए कि पाएनन् ? बाटो आएपछि गाउँमा महिलाको उद्यमशिलता कसरी विकास गर्न सकिएला ? यी कुराहरू महत्वपूर्ण थिए।

परियोजनाको टोलीमा विस्तारै सचेतीकरण गरेर काम सुरु गरें। श्रममा सहभागिता मात्र होइन, निर्णय प्रक्रिया र लाभको पहुँच र नियन्त्रणमा पनि महिलाको भूमिका हेरिनुपर्छ भन्ने कुरामा जोड दिएँ । प्राविधिक कर्मचारीहरूलाई लैङ्गिक दृष्टिबाट सडक परियोजनालाई हेर्न जरुरी छ भन्ने महसुस गर्ने प्रयास गरें। समुदाय परिचालन र जनचेतना जागृतिका लागि सकेसम्म महिला र सीमान्तकृत समुदायका सदस्यहरूलाई रोजगारीको अवसर दिने प्रबन्धको लागि सकेको प्रयास गरें।

स्थानीय समितिहरूमा विस्तारै महिलाहरूको उपस्थिति बढाउने कोसिस गरें । समितिमा बस्नुको अर्थ आफ्नो कुरा राख्नु र योजना बनाउँदा र कार्यान्वयनमा जाँदा लैङ्गिक सवाल सम्बोधन हुनपर्छ भन्ने हो। केही हदमा हाम्रो प्रयास सफल भयो।

महिलाले घरबाहिर श्रममा सहभागी हुँदा घरभित्र कार्यबोझ थपिन हुन्न, समविकासलाई बुझ्नुपर्छ भन्ने सन्देश घर घरमा पुर्‍याउन धेरै हदसम्ममा सफल भयौं। सामाजिक परिवर्तन र रूपान्तरणको काम रफ्तारमा त हुन सकेन तर केही सकारात्मक झिल्काहरू भने अवश्य पैदा भए।

यी कामहरू गर्दा मलाई केही महत्वपूर्ण सिकाइहरू भए। राष्ट्रिय राजनीतिक परिवेश अनुकूल भयो भने समावेशिता र सशाक्तीकरणको काम गर्न सजिलो हुने रहेछ। जतिवेला म महिला सशक्तीकरण र लैङ्गिक मूलप्रवाहीकरणको काम गर्थें, त्यतिवेला देशमा भर्खर गणतन्त्र आएको थियो। सीमान्तकृत आवाजहरू सुनिनुपर्छ भन्ने कुरा जोडतोडका साथ उठेको थियो। गाउँगाउँमा कुरोको चुरो पक्डेर काम गर्न सहज भयो।

कार्यक्रम र परियोजनाका निर्णायक तहका जनशक्तिले समावेशीकरण र सीमान्तकृतको मूल प्रवाहीकरण अपरिहार्यतालाई मनन गर्न सके भने कार्यक्रम तर्जुमा गर्दा समस्याका जरोसम्म पुग्ने गरी तिनलाई सम्बोधन गर्ने गरी काम गर्ने वातावरण मिल्ने रहेछ। नेतृत्वलाई नै लक्ष्य प्रष्ट छैन भने सामाजिक-सांस्कृतिक सवाल जोडिएका विषयमा दूरगामी असर पार्न भन्दा पनि नतिजाहरू टालटुले अंकमाअल्झिने रहेछन्।

महिला, दलित र अन्य सीमान्तकृतको सशक्तीकरणमा नतिजामुखी काम गर्नको लागि उनीहरूको चेतना अभिवृद्धि र आर्थिक सुनिश्चितता त जरुरी छ नै यी बिषयमा समग्र समाजकै सचेतीकरण जरुरी हुनेरहेछ। समाजका सबै पक्षको अग्रगामी सोच विना दीगो परिवर्तन गाह्रो रहेछ।

भौगोलिक सूचना प्रणालीको पढाइ र फेरिएको भूगोल

केही वर्ष विभिन्न भूमिकामा काम गरेपछि फेरि थप अध्ययन गरुँ भन्ने भोक जाग्यो। छँदाखाँदाको जागिर छोडेर दुई वटा छोरा च्यापेर हामी क्यानाडातिर हिड्यौं। क्यानाडाको युनिभर्सिटी अफ क्यालगेरीमा ऋषिको पीएचडी सुरु भयो। म चाहिं पीएचडी गरौं या पहिले पढेर पूरा गर्न नपाएको जीआईएस (भौगोलिक सूचना प्रणाली) विषयमा थप अध्ययन गरुँ भन्ने दुविधामा परें।

हुर्कंदै गरेका साना छोराहरूको हेरचाह र साथमा दुई जनाको पीएचडी परिवार व्यवस्थापनको हिसाबले अव्यवहारिक र कठोर निर्णय जस्तो लाग्यो। पहिले छुटेको क्रमलाई निरन्तरता दिंदै जीआईएसमा स्नातकोत्तर गर्ने भएँ। अर्को भोक नलागे सम्मलाई मेरो पीएचडी सपना थाति रह्यो।

धेरै वर्ष पेशागत जीवन बिताए पछि पुनः विद्यार्थी जीवनमा फर्कनु, त्यसमा पनि परदेशमा एक आमाको भूमिका सहित अत्याधुनिक प्रविधियुक्त पढाइ गर्नु चुनौतीपूर्ण नै रह्यो। नेपाल छँदा अरुलाई तालिम दिने मान्छे अहिले आफैंलाई पुनः विद्यार्थी हुन तालिम दिनुपर्ने अवस्थामा पुगियो।

केही महिनाको कडा परिश्रमपछि पहिलेकै विद्यार्थी रफ्तारमा फर्कन सकें। दुई छोराहरू पनि सँगसँगै बढे, सँगसँगै पढे। एक हिसाबले परिवारमा चारै जना विद्यार्थी भयौं।

क्यानाडाको पढाइपछि रोजगारीको अवसरले अमेरिका ल्याइपुर्‍यायो। अमेरिका आएको शुरुका दिनमा वन विज्ञानका अग्रणी डा चन्द्र गिरी दाइसंग भेट भयो। उहाँले काम गर्ने कार्यालय इपीएमा गएर उहाँको काम हेर्ने मौका पनि मिल्यो। उहाँले हासिल गरेको पेशागत सफलता र उहाँबाट प्राप्त प्रेरणाले मलाइ पेशागत उन्नायनमा राम्रै उत्प्रेरित गर्‍यो। अ

हिले नर्थ क्यरोलाइना राज्य सरकारको डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको विपद व्यवस्थापन हेर्ने शाखामा भौगोलिक सूचना प्रणालीको प्रयोग गरेर बाढी सम्बन्धि तथ्यांकहरूको विश्लेषण र नक्साङ्कन गर्ने काम गर्छु।

जलवायु परिवर्तनको कारण बाढी र समुद्री आँधीको प्रकोपजन्य जोखिम बढेको सन्दर्भमा बसोवास क्षेत्र र संरचनाहरू यस्ता जोखिमबाट कति सुरक्षित छन् भनेर हेर्नका लागि मैले गर्ने काम महत्वपूर्ण हुन्छ। बाढी र समुद्री आँधीका वेला आपतकालीन अवस्थामा हामीले गरेका विश्लेषण र नक्सांकनका कामबाट सुरक्षा र उद्धारका नीति तथा कार्यक्रम बन्छन् ।

हुन त मेरो काम पृष्ठभूमिमा हुन्छ। यद्यपि यी कामको भूमिका भने विकास योजना, सुरक्षित बसोवासदेखि जोखिमको पूर्वतयारी र आपतकालीन उद्धारमा समेत प्रयोग गरिन्छ। प्रकोपका वेला द्रुत सेवा पुर्‍याउनुपर्ने हुन्छ। त्यतिवेला रातदिन नभनी प्राविधिक काम गर्नुपर्छ । यसो गर्दा अतिरिक्त कामको बोझभन्दा पनि मानवीय सेवाको दायित्वबोध हुने रैछ। यसरी काम गरेकोमा राज्यसरकारको गभर्नरको कार्यालयबाट हामीलाई विशेष धन्यवाद समेत प्राप्त हुन्छ।

वनविज्ञानबाट सुरु भएको मेरो पढाइ लैङ्गिक विषय हुँदै अहिले भौगोलिक सूचना प्रणालीमा आइपुगेको छ । लमजुङको एउटा सानो गाउँबाट सुरुभएको जीवनयात्रा अहिले भूगोलको पल्लो छेउ अमेरिकाको नर्थ क्यारोलाइनासम्म आइपुगेको छ। स्नातक पढ्दा पढ्दै गृहस्थीमा पसेर जीवन रथ गुडाउन थालेको, दुई सन्तती र हामी दम्पति सँगसँगै बढ्दै र पढ्दै यहाँसम्म आइपुगियो।

विभिन्न ठाउमा स्थानान्तरण हुँदै, पढ्दै छोराहरू हुर्काउँदा सुविधासम्पन्न अभिभावकत्व त पक्कै पनि निर्वाह गर्न सकिएन यद्यपि उनीहरूले दुःखसुख अनि विभिन्न परिस्थितिसँग कसरी सामना गर्ने भन्ने राम्रोसँग सिके। उनीहरूको दुःख सुखको साथी बन्यौं। आफ्नो क्षमता र रुचि अनुसार लक्ष बनाउन उत्प्रेरित गर्‍यौं। जेठो छोरो अभिले संगीतमा रुचि बढायो। पाश्चात्य जगतमा अत्याधुनिक विधाको संगीतमा लागेर उसले ‘कर्टिस वाटर्स’ नामबाट आफ्नो पहिचान बनाएको छ।

ऊ कलिलै उमेरमा सांगीतिक उचाइ हासिल गर्ने थोरै र प्रेरणादायी दक्षिण एशियाली मूलको कलाकारमा गनिन्छ । कान्छो छोरो अल्बर्ट कम्प्युटर साइन्समा स्नातक गर्दैछ। पछिल्लो समय आफ्नो भन्दा पनि सन्तानको ‘करियर’को बढी चिन्ता हुने रहेछ। उनीहरूकै प्रगतिमा धेरै आनन्द मिल्ने रहेछ।

आमा हुनुको नाताले सबैकुरा सन्तुलन मिलाउँदा कतिपय रहर र सपनाहरूसँग सम्झौता गर्न त पर्‍यो । जिन्दगीको बाटो सधैं सोझो रहेन तर हारहरूबाट विचलित नभई चुनौतीलाई सामना गर्ने हिम्मत गर्दा धेरैजसो छेकबारहरू पन्छाउन र अघि बढ्न सकिने रहेछ जस्तो लाग्छ। परिवारका सदस्यहरू लैङ्गिक हिसाबले सचेत हुनु वा नहुनुले महिलाको वृत्तिविकासमा ठूलो अन्तर पर्ने पनि मेरो सिकाइ रह्यो।

मलाई आफ्नो वृत्तिविकासमा पछि फर्केर हेर्नु परेन। अघि बढिरहें। आफूले जानेको ज्ञान र सीपले सेवा दिनुपर्ने समुदायलाई निष्ठापूर्वक सेवा दिंदै आएको छु । आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा केही कुराको कमी नहोस् जस्तो लाग्छ।

(‘प्रकृतिः सहअस्तित्वको खोजी’ पुस्तकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?