+
+

नेपालले क्यानडालाई हराउँदा बनेको ३ कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १७:४३
क्यानडाविरुद्ध ब्याटिङ गर्दै रोहित पौडेल र देव खनाल ।

२७ माघ, काठमाडौं । नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए ।

जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५०  रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ ।

ओडीआईमा सर्वाधिक छिटो अर्धशतक

नेपाललाई सानदार सुरुवात दिलाउन अनिलले १९ बलमा अर्धशतक पूरा गरे । यो ओडिआईमा नेपालबाट बनेको सर्वाधिक छिटो अर्धशतक हो । उनले २०२३ मा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले हानेको २१ बलको कीर्तिमान तोडेका हुन् । विश्व क्रिकेटमा भने ओडीआईमा सर्वाधिक छिटो अर्धशतक एवी डिभिलियर्सको नाममा छ । डी भिलियर्सले १६ बलमा २०१५ मा वेस्टइन्डिजविरुद्ध हानेका थिए ।

तेस्रो विकेटका लागि उच्च साझेदारी

देव र रोहितले तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरे । नेपालबाट ओडीआईमा बनेको तेस्रो विकेट र समग्रमा दोस्रो ठूलो साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि टियु मैदानमा रोहित र कुशल भुर्तेलले नामिबियाविरुद्ध १३३ रनको शतकीय साझेदारी गरेका थिए ।

नेपालबाट ओडीआईमा सर्वाधिक ठूलो साझेदारी ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाममा छ । यी दुई खेलाडीले २०२३ जुनमा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको शतकीय साझेदारी गरेका थिए ।

उच्च योगफल पूराको कीर्तिमान बराबर

ओडीआईमा २८६ रन नेपालले पूरा गरेको उच्च योगफल बराबर हो । यसअघि २०२३ मा टियुमा नै नामिबियाले आईसीसी विश्वकप लिग–२ मा दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?