+
+
गफ स्टेसन :

सपना नदेखी निर्देशक बनेका नवीन : ‘खासमा म त कथा भन्न चाहने मान्छे रहेछु’

खेम रिसाल खेम रिसाल
२०८० फागुन २ गते १९:००

काठमाडौं । नेपालमा म्युजिकल फिल्मको अवधारणा कसले ल्यायो ? यसमा निर्विवाद नवीन चौहानको नाम आउँछ । नवीन चौहानको नाम बरु कम मानिसलाई थाहा होला, तर उनको ब्राण्ड आर्टमाण्डु सर्वत्र चिनिएको छ । आर्टमाण्डुबाट नवीनले धेरै म्युजिक भिडियो बनाएर आफूलाई अब्बल ‘क्रिएटर’को रुपमा प्रमाणित गरिसकेका छन् । म्युजिक भिडियो होइन, म्युजिकल फिल्म बनाएका छन् ।

खासमा यसमा किन पनि ‘फोकस्ड’ गरिएको हो भने सन् २०१८ मा आर्टमाण्डु स्थापना गरेर भिडियो निर्माणमा हात हाल्दै गर्दा नवीन पनि देशमा चल्तीमा रहेको शैलीमा म्युजिक भिडियो बनाउन थाले । तर उद्यमशीलता, विविधता र समुदायका कथा भन्न रुचाउने नवीनलाई यत्तिमा सीमित हुन मन लागेन । अर्थात् तीन-पाँच मिनेटको गीतको समयावधिभित्र उनलाई कथा भन्न सकस भयो । अनि उनले सोचे केही लामो भिडियो बनाएर किन कथानक रुपमा नभन्ने ?

त्यसपछि हो उनले गीत र भिडियोलाई सँगै तालमेल गरेर सिर्जना गर्ने आइडिया फुराएको ।

यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका नवीनले आर्टमाण्डु स्थापना, काम गर्ने शैली, सोचदेखि निर्माणको क्रममा रहेको फिल्म ‘ऊनको स्वीटर’सम्मका कुरा गरेका छन् ।

‘साथी अंकित (अंकितबाबु तिवारी) र म मिलेर आर्टमाण्डु खोल्यौं र त्यसपछि ‘सम्झनालाई’ गीतको भिडियो बनाइयो । पछि लुकीछिपी भन्ने गीतको भिडियो बनायौं । त्यसबेला निकै फुटेजहरु खिचिएछ,’ नवीन सुनाउँछन्, ‘कोरोना महामारी सुरु भएपछि देशमा लकडाउन भयो र अरु मानिस जस्तै घरमै सीमित हुनुपर्‍यो । त्यसबेला त्यो बाँकी फुटेज हेर्दा अर्को कथा भन्न सकिने देखियो । अनि हर्क दाइ (हर्क साउद) र सुजन (सुजन चापागाईं)लाई देखाएँ । हर्क दाइले नयाँ गीत लेखिदिनुभयो । अनि बन्यो के माया लाग्छ र ? लकडाउनको समयमा त्यो गीत निकै चल्यो । हाम्रो पहिलो हिट गीत पनि त्यही भयो ।’

यति कुरा गरिसक्दा उनी म्युजिक फिल्मको गाँठी कुरासम्म आइपुगेकै छैनन् । किनकि आर्टमाण्डुले ल्याएको पहिलो म्युजिकल फिल्म त सुजन चापागाईं र विद्या चापागाईंले गाएको गीत ‘तीनपाते’ हो । खासमा ‘के माया लाग्छ र’ गीतभन्दा अघि नै ‘तीनपाते’को भिडियो खिचिसकेका थिए उनीहरुले । सुरुका म्युजिक भिडियो धेरैले रुचाएपछि फिल्म नै बनाऊ भन्ने धेरै शुभचिन्तक र साथीहरु भए । तर फिल्म बनाउन त्यतिबेलै सम्भव थिएन ।

नवीनलाई चाहिएको थियो कुनै सीमाभित्र नरही कथा भन्ने शैली । गीतको छोटो अवधिभित्र आफूले चाहेको कुरा अभिव्यक्त गर्न सम्भव नहुने भएपछि उनले नयाँ आइडिया फुराए पहिले भिडियो खिच्ने अनि पछि सोही अनुसार गीत सिर्जना गर्ने । त्यसैले उनीहरुले इलाममा गएर उद्यमशीलताको कथामा ‘तीनपाते’को भिडियो खिचेर ल्याए ।

‘तीनपाते गर्दा मलाई के जागृत भयो भने म त कथा भन्न चाहने मान्छे रहेछु । तर छोटो हुन्छ गीत त कसरी गर्ने ? त्यसैले यो बाउन्ड्रीमा नबसी स्वतन्त्र भएर कथा पहिले भन्छु भनेर परिकल्पना गरें । उद्यमशीलताको कथा भन्न थाल्यौं । पूर्व गएर तीनपातेको कथा उन्न थाल्यौं,’ पाँचथर मूलथलो भएका नवीन सुनाउँछन्, ‘भिडियोपछि सबै जना बसेर गीत तयार पार्‍यौं । हर्क दाइले लेख्नुभयो, सुजनले संगीत गर्‍यो । अनि नयाँ शैलीले काम गरियो, के नाम दिनेभन्दा भिडियो म्युजिक पो भन्ने पनि सोचियो । अनि अन्तिममा हाम्रो टिमको समझदारी अनुसार म्युजिक फिल्म भन्ने कुरा भयो ।’

गीतमा कथानक प्रस्तुति भएकाले यसलाई यही नाम उपयुक्त हुन्छ भन्ने लागेको र अहिले धेरैले यसलाई आत्मसात गरेको देख्दा खुसी लाग्ने नवीन बताउँछन् । ‘अहिले त आर्टमाण्डु’को शैली नै पहिले भिडियो खिच्ने अनि पछि गीत सिर्जना गर्ने भएको छ,’ उनी भन्छन् ।

यात्रा फिल्मतिरको

नवीनले म्युजिकल फिल्ममा अब्बल काम गरेर देखाए । डेढ दर्जनभन्दा बढी गीतको उनले भिडियो बनाइसकेका छन् । आफूले गरेको काममा चित्त नबुझ्नु मानवीय स्वभाव नै हो । भिडियोमार्फत कथा भन्ने नवीनलाई म्युजिकल फिल्मको १५ मिनेट हाराहारीको समय पनि छोटो लाग्यो । सोचेजस्तो कथा भन्न त फिल्म पो बनाउनुपर्छ कि भन्ने भयो ।

‘मैले १७ मिनेटसम्मको म्युजिकल फिल्म बनाएँ । अझै लाग्यो छोटो पो भयो कि । अनि साथीहरुले नै फिल्म नै बनाएर निर्धक्क आफ्नो कथा भन्न सुझाए,’ नवीन भन्छन् ।

नवीन र नवीनको टिम आर्टमाण्डु अहिले फिल्म बनाउन लागेको छ । नाम राखिएको छ- ‘ऊनको स्वीटर’ । अहिलेका लोकप्रिय अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरले उनको फिल्ममा शीर्ष भूमिकामा अभिनय गर्दैछन् । फिल्मको पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

नवीनलाई गफ स्टेसनमा सोधियो- म्युजिकल फिल्ममा एकपछि अर्को सफलता हात पारिरहेका बेला फिल्म बनाउँदै गर्दा कति दबाब महसुस भइरहेको छ ?

‘फिल्म बनाउँदा यसलाई प्रेसरको रुपमा भन्दा पनि सकारात्मक दबाबको रुपमा लिएको छु । सकारात्मक दबाब त भइहाल्छ नि । हाम्रो काम गर्ने शैलीलाई दर्शकले रुचाइरहनुभएको छ, अझै दर्शकले त्यसभन्दा माथि पनि अपेक्षा राख्नुभएको हो कि भनेर थप मेहनत गर्दै फिल्मतिर केन्द्रित भएका छौं,’ उनी भन्छन् ।

‘ऊनको स्वीटर’ अहिले प्रि-प्रोडक्सनमा छ । वैशाखको पहिलो साताबाट छायांकनमा लैजाने उनको तयारी छ । फिल्ममा अझ बढी तह-तहमा काम गर्न पाइने भएकाले रोमाञ्चित महसुस भइरहेको पनि उनी सुनाउँछन् ।

फिल्मको कथा के हो ? त्यो उनले खुलाउन चाहेनन् । ‘सस्पेन्स नै राख्नु राम्रो होला । ऊनको स्वीटर भन्ने बित्तिकै धेरै न्यानो हुन्छ । न्यानोपनको कथा, प्रेमको कथा, विविधताको कथा पनि हुनसक्छ भन्ने हो । यो  पूर्वीपहाड इलाम-पाँचथरतिरको जीवनशैली र संस्कृतिमा आधारित हुनेछ,’ उनी सुनाउँछन् ।

निर्देशक नै किन ?

नवीनको कामलाई हेर्दा उनी निर्देशन गर्नकै लागि जन्मिएका हुन् भन्ने लाग्छ । तर पहिले उनको मनको अन्तरकुन्तर कतै पनि निर्देशक बनुँला भन्ने थिएन रे ।

‘पाँच-सात वर्षअघिसम्म पनि म निर्देशक बन्छु, कथावाचक हुन्छु भन्ने त दूरदूरसम्म मनमा कतै पनि थिएन । तर बालपनमा फिल्म हेर्नेतिर भने लगाव धेरै थियो, त्योबेलाको मनोरञ्जनको माध्यम नै त्यही थियो । तर निर्देशक वा कलाकार नै बन्छु भन्ने चाहिं थिएन,’ नवीन सुनाउँछन् ।

नवीनको पृष्ठभूमिको कुरा गर्दा उनी आर्टमाण्डु सुरु गर्नुअघि छुर्पीको व्यवसाय गर्थे । त्यसअघि चियाको पनि व्यवसाय गरे ।

‘परिस्थितिले यहाँ ल्याइपुर्‍यायो । म पहिला छुर्पीको व्यवसाय गर्थें । त्यो काम गरिरहँदा मेरो रोजाइ वा रुचि यही हो त ? भन्ने मनमा प्रश्न आइरह्यो । विचार गर्दा म त्यहाँ पूरै रमाउन नसक्ने रहेछु भन्ने लाग्यो । त्यो कारणले छुर्पी व्यवसायमा रमाउन सकिनँ,’ उनी सुनाउँछन्, ‘पछि त्यसलाई छाडेर आर्टमाण्डुको स्थापना गर्‍यौं । सुरुवातमा अंकित र म थियौं ।’

नवीन फिल्म चाहिं सानैदेखि धेरै हेर्थे । एक त त्यसबेला मनोरञ्जनको उच्चतम माध्यम नै यही थियो । नेपाली फिल्म नै धेरै हेर्थे उनी । त्यसैकारण पनि पछि निर्देशनतिरै आफू मोडिएको हुनसक्ने उनी बताउँछन् ।

फिल्म निर्देशन गर्न लागेका उनलाई अहिलेका नेपाली फिल्म चाहिं कस्तो लाग्छ त ?

‘म नेपाली फिल्म हेरेरै हुर्किएको हुँ । त्योबेला हरेक कुरा मनपर्थ्यो । आफैं भिडियो बनाउँदै जाँदा देशबाहिरका फिल्ममेकरका कुरा पनि थाहा पाउन थालियो, घटना र परिस्थितिलाई फरक ढंगले हेर्ने पनि भइयो होला । अहिले स्वाद र अध्ययन पनि बढ्यो होला,’ उनी भन्छन्, ‘अहिलेका नेपाली फिल्मबारे ठ्याक्कै कमेन्ट नै गर्नु भन्दा पनि नेपाली फिल्मको छुट्टै भाष्य बन्नुपर्छ भन्ने लाग्छ । यसको सुरुवात भइरहेको पनि देखिन्छ । आफ्नै मौलिक स्वाद हुनुपर्छ, विश्वबजारमा छुट्टै चेतना, भाष्य र स्वरुप बोकेको हुनुपर्छ भन्ने लाग्छ । अहिले फर्मूला भनिने फिल्मसँगै पात्र र समुदायका कथाहरु आइरहेका छन् । यो अर्थमा सकारात्मक देखिन्छ । तर पनि कुनै एउटा कोठा अझै राम्रो हुनसक्थ्यो भन्ने कुरा त सधैं भइहाल्छ ।’

हर्क, सुजन, विद्या र मिलनको बन्डिङ

नवीनले आर्टमाण्डु सुरु गर्दा अंकितबाबु जोडिएका थिए । पछि गीतकार हर्क साउद, गायक तथा संगीतकार सुजन चापागाईं, गायिका विद्या तिवारी र मोडल मिलन खत्री जोडिए । उनीहरुको यो सहकार्य आज पनि उस्तै छ । नवीनले पहिले भिडियो खिचेर ल्याउँछन् । त्यो भिडियो हेर्दै हर्कले गीतका शब्द कोर्छन्, सुजनले संगीत भर्छन्, विद्या र सुजनले गाउँछन् । मिलनले अभिनय गर्छन् ।

‘यो हाम्रो टिमको खास सहकार्य हो । सबै जना संघर्षमा पनि सँगै थियौं, त्यसैले हाम्रो मन आजसम्म पनि उसैगरी मिल्छ । तीनपाते सबैको लागि नयाँ थियो । म्युजिकल फिल्मको बीउ रोप्दैथियौं । राम्रो काम गर्नुपर्छ भन्ने ऊर्जा पनि दियो,’ नवीन सुनाउँछन्, ‘नयाँ गीत बनाउनुपर्‍यो भने सबै जना भेट्छौं र सिर्जनामा लाग्छौं । राम्रो बन्डिङ छ ।’

तर बाहिरको काम गर्दै नगर्ने भन्ने नभएको नवीन प्रष्टीकरण दिन्छन् । ‘समय मिलाएर गरिरहेका छौं । राम्रो गीत अग्रज र राम्रा कलाकारहरुबाट गर्ने चाह त सधैं भइहाल्छ नि,’ उनी भन्छन् ।

एकथरीले म्युजिकल फिल्म बनाउने ट्रेन्डले खर्च बढ्यो साथै गीत ओझेलमा परेको गुनासो पनि गरिरहेका हुन्छन् । तर नवीन म्युजिकल फिल्म बनाउँदा खर्च बढ्ने भन्ने कुरा सत्य नभएको बताउँछन् ।

‘गीत ओझेल परेको कुरा कतिपय अवस्थामा भिडियोको कथामा फोकस्ड हुँदा सत्य हुन पनि सक्छ । तर मेरो विचारमा राम्रो भिडियोले गीतलाई फाइदा नै गरिरहेको हुन्छ । म्युजिकल फिल्मले शब्दको भावलाई अझ जगाइदिन्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘खर्चको कुरामा कस्तो भिडियो बनाउने, के देखाउने भन्नेमा निर्भर हुन्छ । म्युजिक फिल्म बनाउँदा धेरै खर्च लाग्छ भन्ने होइन । एक मिनेटको भिडियोमा पनि गाडी उडाउने दृश्य देखाइयो भने खर्च धेरै हुन्छ नि । तपाईंले देखाउन खोजेको के हो, कसरी देखाउन खोजेको भन्ने कुराले अर्थ राख्ने हो ।’

अहिले नेपाली म्युजिक भिडियोमा कथावाचनको ट्रेन्ड चलेकोमा नवीन खुसी छन् । मोडलभन्दा कलाकारले अभिनय गर्ने भन्ने भइरहेको देख्दा यहाँ केही राम्रो परिवर्तन भइरहेको उनलाई लाग्छ ।

अबको सपना

नवीनको सपना निर्देशनमै रमाउने छ । ‘कलाकारितामा लागिरहनुभएका व्यक्तित्वहरुसँग कलाका अझै सुन्दर रङहरु मिसाएर सहकार्य गर्ने सपना छ । कथावाचकको रुपमा मीठा-मीठा कथाहरु प्रस्तुत गर्न सकौं । आफूलाई सुदृढ गर्दै भोलिको दिनमा विश्वबजारमा जाँदा नेपालबाट पनि केही कुरा आउँदैछन् है भन्ने काम गर्न सकौं,’ उनी भन्छन् ।

भन्नुपर्ने कुरा

गफ स्टेसनको बिट मार्नेबेला नवीनले देशको समसामयिक परिस्थितिबारे गुनासो गरे ।

उनले आग्रह गरे, ‘राजनीति भनेको कुनै पनि देशको ठूलो वरको रुखजस्तो हो । त्यसबाट हामी सबै प्रत्यक्ष-अप्रत्यक्ष प्रभावित भइरहेका हुन्छौं । देशको राजनीति सुदृढ भएर जनताको प्रत्यक्ष दैनिकी सहज हुने किसिमका निर्णय र आन्दोलन भइदिऊन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका नेताहरुबाट स्टन्टबाजीहरु कम भइदिए हुन्थ्यो भन्न चाहन्छु ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?