+
+

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले सेमिफाइनलमा पुग्न कुवेतसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ९:००

२ फागुन, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ ।

नेपाल समूह डीको विजेता र कुवेत समूह ए को उपविजेताको रुपमा क्वाटरफाइनलमा भिड्न लागेका हुन् । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्सलाई २१४ रनले हराएको थियो । माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको शतकीय इनिङ खेलेकी थिइन् ।

युवा ब्याटर पूजा महतोसँग पाँचौं विकेटका लागि १६६ रनको साझेदारी समेत गरेकी थिइन् । पुजाले ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रन बनाएकी थिइन् ।

नेपालको सीता रानामगर, रुविना क्षेत्री र इन्दु बर्मा प्रमुख हतियार हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । कविता कुँवर र आश्मिना कर्माचार्य प्रमुख बलर हुन् ।

उता कुवेतले समूह चरणमा म्यानमारलाई २७ रन र सिंगापुरलाई १० विकेटले हराएको थियो । थाइल्यान्डसँग ९६ रनले पराजित भएको थियो । कुवेतकी प्रियादा मुराली र जिफा आजीम प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

२०१९ यता नेपाल र कुवेतबीच चार महिला टी-२० आई खेल भएका छन् । नेपाल ३४ रन, २५ रन, ९ विकेट र ३० रनले विजयी भएको थियो ।

पहिलो क्वाटरफाइनलमा हङकङ र थाइल्यान्ड खेलेका छन् । त्यस्तै दोस्रो क्वाटरफाइनलमा इन्डोनेसिया र यूएई खेलेका छन् । तेस्रो क्वाटरफाइनलमा मलेसिया र जापान भिड्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?