
२ फागुन, महेन्द्रनगर । कञ्चनपुरमा भएको ‘स्पिकिङ आइडल’ को चौथो संस्करणको उपाधि सरस्वती माविका जतिन पन्तले जितेका छन् ।
५१ प्रतियोगीमध्ये दुई चरणको लेन्स स्पिकिङ राउन्ड पार गरेर उत्कृष्ट १० मा पुगेकामध्ये बुधबार भएको फाइनलबाट उनले उपाधि हात पारेका हुन् । उपाधि जितेसँगै उनले एउटा ल्यापटप, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
उत्कृष्ट १० भित्र पर्ने अन्य विद्यार्थीलाई शैक्षिक सामग्रीको विशेष प्याकेजसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक मध्येका धिरज जोशीले बताए ।
लियो क्लब अफ महाकाली क्लासिकले आयोजना गरेको १९ वर्षमुनिका विद्यार्थीहरू सहभागी भएको वक्क्तृत्वकला प्रतियोगिताका लागि जिल्लाका विभिन्न ४ ठाउँमा अडिसन गरिएको थियो । माघ २४ गते कञ्चनपुरको झलारीस्थित वेस्ट प्वाइन्ट एकेडेमीमा भएको अडिसनबाट १० जना छनौट भएका थिए ।
माघ २५ गते बेलौरीको वादसल्य विद्या निकेतन भएको अडिसनबाट ४ जना छनौटमा परेका थिए ।
माघ २६ गते दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको भवनमा भएको अडिसनबाट १० जनालाई छनौट गरिएको थियो र अडिसनको अन्तिम दिन भीमदत्तनगरस्थित आदर्श विद्या निकेतनमा सम्पन्न अडिसनबाट २७ गरी जम्मा ५१ जनाले अडिसनको यात्रा पार गरेका थिए ।
प्रतियोगिताले जिल्लामा पहुँच नपुगेका क्षेत्रमा स्पिकिङ आइडलको अडिसन गरेर प्रतिभा खोजेर ल्याउनमा सहयोग पुगेको क्लबका अध्यक्ष आयुष विक्रम जैरुले बताए । उनले भने, ‘जिल्ला स्तरमा आयोजना गरेको प्रतियोगितामा पहुँच नपुगेका प्रतिभा खोज्न प्रतियोगिताले सहयोग पुर्याएको छ ।’
प्रतिक्रिया 4