+
+

एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न नेपालले मलेसियासँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ७:२५

३ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा शुक्रबार घरेलु टोली मलेसियासँग खेल्ने छ  । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बायोमास ओभलमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतक हानेकी थिइन् । सीता र रुविना नेपालका प्रमुख हतियार हुन् ।

कप्तान इन्दु बर्मा, डली भट्ट, कविता जोशी र अप्सरी बेगमले ब्याटिङमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ । बलिङमा कविता कुँवर र अश्मिना कर्माचार्यको जोडीले सुरुआत विकेट दिलाउन आवश्यक पर्दछ ।

मलेसिया घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठाउन चाहन्छ । मलेसियाकी वान जुलिया र विनिफ्रेड दुराईसिंघम प्रमुख दुई ब्याटर हुन् । कप्तान विनिफ्रेडको विकेट निकै महत्वपूर्ण हुनेछ । इल्सा हन्टर र मास एलिसा मध्यक्रमका ब्याटर हुन् । मास एलिसा र इजाती इस्लामी दुई प्रमुख बलर मानिन्छन् ।

यस प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो । मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा आइपुगेको छ ।

हेड टु हेड

नेपाल र मलेसियाबीच महिला टी-२० आई खेलमा कुल १० खेल भएका छन् । नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ । पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?