+
+

फेला पर्‍यो १७ सय वर्ष पुरानो अण्डा ! वैज्ञानिक अचम्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १०:५७

बेलायतमा पुरातत्वविद्हरूले एउटा स्थानमा उत्खनन् गरिरहेका थिए । त्यहाँबाट उनीहरुले एउटा अण्डा फेला पारे । सो अण्डाको त्रिआयामिक स्क्यान पश्चात् उक्त अण्डाको भित्रको पहेंलो र सेतो भाग दुरुस्तै अवस्थामै रहेको भेटिएको छ ।

फेला परेको अण्डा त्यो समयको हो जब बेलायतमा रोम साम्राज्य थियो । अर्थात् त्यो अण्डा करिब तेस्रो शताब्दीको हो । त्यो भनेको आजभन्दा १७ सय वर्ष पुरानो ।

अक्सफोर्ड आर्कियोलोजीका वरिष्ठ परियोजना व्यवस्थापक एडवर्ड बिडल्फका अनुसार उक्त अण्डा पत्ता लगाएर त्यसको जाँच गर्दा उनीहरु अचम्ममा परे । त्यो सदियौं पुरानो कुखुराको अण्डा थियो ।

मध्य इंगल्याण्डको एलिसबरी सहरमा हाल उत्खनन् चलिरहेको छ । त्यो ठाउँ अक्सफोर्डबाट ३० किलोमिटर पूर्वमा अवस्थित छ ।

त्यो क्षेत्र रोमन साम्राज्यको समयमा समेत बस्ती भएको क्षेत्र हो । त्यहाँ चारवटा अण्डा भेटिएका थिए । त्यसमध्ये तीनवटा फुटे । त्यसबाट निकै धेरै दुर्गन्ध आइरहेको थियो । तर चौथो अण्डा भने दुरुस्त अवस्थामा फेला परेको थियो ।

त्यसलाई नबिग्रिने गरेर बाहिर निकालियो र केन्ट विश्वविद्यालयको प्रयोगशालामा लगेर माइक्रोस्कोपिक कम्प्युटेड टोमोग्राफी प्रविधिबाट स्क्यान गरियो । त्यो त्यस्तो एक्सरे हो जसबाट भर्चुअल थ्री डी मोडेल सिर्जना हुन्छ । जब स्क्यानबाट अण्डाको तस्वीर देखियो, तब वैज्ञानिकहरु अचम्ममा परे । अण्डाको भित्री त्यसको पहेंलो भाग, सेतो भाग तथा अन्य तरल पदार्थ सबै सुरक्षित थिए ।

त्यो अण्डा पानी भरिएको ठाउँमा भेटिएको थियो । त्यहाँ अहिले नयाँ घरहरु बनाउने योजना छ । त्यसैले निर्माणअघि त्यहाँ उत्खनन भैरहेको छ ताकि सम्भावित प्राचीन वस्तुको अन्वेषण र संरक्षण हुन सकोस् ।

यो प्राचीन क्षेत्र नियोलिथिक कालको हो । त्यो इश्वीको तेस्रो शताब्दी अर्थात् बेलायतमा रोमन साम्राज्यको समय हो । त्यो ठाउँको पहिले पुजा गरिन्थ्यो । मानिसहरुले त्यस ठाउँमा सिक्का तथा अन्य चिजहरु राख्दथे ताकि देवताहरु खुसी भएर उनीहरुको मनोकांक्षा पूरा होस् ।

यसअघि पनि रोमन कालका अण्डाका बोक्राहरु फेला परेका थिए । तर बेलायतमा पूर्णरुपमा सुरक्षित रोम साम्राज्यकालीन अण्डा फेला परेको भने यो पहिलो घटना हो ।

यसअघि यस्तै अण्डा भ्याटिकनमा फेला परेको थियो । त्यसबेला एक शिशुको चिहानमा शवको अवशेषसँगै कुखुराको अण्डा भेटिएको थियो । तथापि त्यसभित्र कुनै तरल पदार्थ, सेतो वा पहेंलो पदार्थ थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?