+
+

‘यतै हल्लिने’हरू माथिको अपमान

समाजमा उद्यमी भन्दा जागिरे ठूला भन्ने भाष्य निर्माण भयो । अझ गाउँमै केही गर्नेलाई त ‘यतै हल्लिनेहरू’ को उपमा दिन थालियो । जुन देशमा स्वदेशमा उद्यमी बन्ने र चुनौती स्वीकार्नेलाई सम्मान हुँदैन, त्यहाँ अरू के हुन्छ ?

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०८० फागुन ३ गते १६:३३

नेपालमा व्यावसायिक वातावरण नभएका कारण उद्योग, व्यवसाय फस्टाउन र रोजगारीको सिर्जना हुन सकेन । सीपको विकास भएन, उत्पादन बढेन । अनि बजारमा नेपाली उत्पादनको अभाव भएपछि उपभोक्ताले विदेशी सामान खरिद र उपभोग गर्ने नै भए ।

उपभोक्ताको माग भएपछि बजारमा आयातकर्ता व्यवसायीले सामानको आपूर्ति गरिरहे । सरकार कुन वस्तुमा कति भन्सार लगाउने भनेर नीति बनाउँदै भन्सारबाट भएको आम्दानीमा मख्ख परेर बस्यो ।

सन् १९९० को दशकपछि नेपालीलाई भारत बाहेकका देशमा पनि रोजगारीका लागि जाने बाटो खुल्यो । नेपाली युवा विभिन्न कारणले विदेशिने क्रम बढ्यो । विदेश पुगेकाले कसरी पैसा पठाए त्यो खासै देखिएन र सुनाएनन् पनि तर पठाएको पैसा देखियो ।

त्यो पैसाले घरको गर्जो टारेको, घडेरी किनेको, ऋण तिरेको, घर ठड्याएको, मोटरसाइकल गुडेको, विवाहमा खुलेर खर्च गरेको, छोराछोरी निजी बोर्डिङका लागि टाई लगाएर स्कुल बस चढेको, घरमा ठूलो टिभी र भान्सामा फ्रिज भित्रिएको, हात–हातमा स्मार्ट फोनको कमाल गाउँ र आफन्तले देखे, स्कुल कलेज पढ्दै गरेका किशोर–किशोरी र युवाले देखे । व्यवहार धान्न सकस महसुस गरिरहेका अभिभावकले देखे ।

गाउँ–गाउँमा म्यानपावरका एजेन्टहरू खडा गरिए, स्कुल, कलेजहरूमा नै विदेशको सपना बाँड्न थालियो । मानौं विदेश नजानेहरू, जान नसक्नेहरू, गाउँमै केही गर्नेलाई ‘यतै हल्लिनेहरू’ को उपमा दिन थालियो ।

विदेश गएकाले पैसा पठाए । यस्ता परिवारको गाउँ–शहरमा शान बढेको सबैले महसुस गरे । त्यसैले आफैं विदेश जाने, छोराछोरी ठूला भएपछि विदेश पठाउने, आफैं ठूलो भएपछि विदेश जाने, कमाउने र रमाउने सपना गाउँमा सबैले देख्न थाले ।

जब सबै युवाको सपना विदेश जाने बन्न थाल्यो, लगभग सबै अभिभावक आफ्ना सन्तानको भविष्य विदेशमा नै देख्न थाले । अनि देशमा बस्ने, व्यवसायको बारेमा सोच्ने, उद्यम गर्ने, व्यवसाय सिक्ने, तदनुरूपको शिक्षा र सिकाइको खोजी गर्ने कोही भएन । अनि चुनौती स्वीकार्ने, अवसर खोज्ने र देख्ने कुराको अन्त्य हुँदैगयो । देशमा नै केही गरिन्छ, गर्न सकिन्छ भन्ने सपना मर्दै गयो ।

शहरका गल्ली–गल्लीमा ‘म्यानपावर कम्पनी’ खुले । ठूलाठूला होर्डिङ बोर्ड जताततै राखेर विदेशका सपना बाँडिए । सामाजिक सञ्जाल, इलेक्ट्रोनिक मिडिया, पत्रपत्रिका जताततै विज्ञापनको बाढी आयो । गाउँ–गाउँमा यस्ता म्यानपावरका एजेन्टहरू खडा गरिए । त्यति मात्रै होइन, स्कुल, कलेजहरूमा नै विदेशको सपना बाँड्न थालियो । मानौं विदेश नजानेहरू, जान नसक्नेहरू, गाउँमै केही गर्नेलाई ‘यतै हल्लिनेहरू’ को उपमा दिन थालियो ।

जुन देशमा, जुन समाजमा, जुन परिवारमा अधिकांश युवा जे सोच्ने गर्छन् त्यो देश, त्यो समाज र त्यो परिवारको भविष्यको बाटो तिनै युवाको सोचमा आधारित भएर अगाडि बढ्ने गर्छ । जुन देश, समाज, परिवारका युवाले आफ्नै देशमा, आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास गुमाउँछन्, कुनै सम्भावनाको खोजी नै गर्दैनन्, प्रयास नै गर्दैनन्, सम्भावना नै देख्दैनन् त्यो समाज, त्यो देशमा कसरी उद्यमशीलताको विकास हुन्छ ?

यसै पनि हाम्रो समाज, हाम्रो देश, हाम्रा परिवारमा उद्यमशीलता एवम् व्यवसायको आधार, इतिहास, सीप, शिक्षा, विश्वास निकै कमजोर छ । निर्वाहमुखी कृषि पेशा र प्रणालीले धानेको परिवार तथा समाजको नयाँ पुस्ताका लागि निर्वाहमुखी कृषिबाहेक जे गरे पनि नयाँ नै हो ।

यसरी समाजको नयाँपिंढी निर्वाहमुखी कृषिबाट तीव्र गतिमा विस्थापित भइरहेको छ र यो स्वाभाविक हो । आधुनिक विकासको नियम पनि हो । यस्तो नयाँ पुस्ताका लागि जुनसुकै काम नयाँ र चुनौतीले भरिएको नै हुन्छ ।

किनकि उसले पारिवारिक विरासतबाट नयाँ व्यवसाय र पेशाको अनुभव गर्न पाएको हुँदैन । सिकाउने, अनुभव सुनाउने, गाइड गर्ने परिवारका अभिभावक हुँदैनन् । उद्यम र व्यवसायका मर्महरूमा सिद्धान्तले भन्दा धेरै व्यवहारले बाटो देखाउने गर्छ ।

उद्यम एवम् व्यवसायमा सामेल हुनु भनेको एउटा जटिल प्रक्रियामा जोडिनु हो । यसमा लगानी, इमानदारी, विश्वसनीयता, धैर्य, सीप, सहनशीलता, विनम्र, तटस्थ, निरन्तरता, दूरदर्शिता, निरन्तर सिकाइ, नयाँ खोज–अनुसन्धान, आशा आदि कुराको आवश्यकता पर्दछ ।

यो प्रक्रिया पार गरेर सफलता पाउन, सफलतामा टिक्न र सफलतालाई उचाइतर्फ हिंडाउन खास चिन्तन, चेतना, आचरण, एकाग्रता, समर्पण आदि चाहिन्छ । यो जो–कोहीमा हुँदैन । त्यसैले धेरैले सजिलो बाटो रोज्ने गर्छन् । यो भनेको अरूले लगाएको, अह्राएको, देखाएको, गर भनेको काम गर्ने हो ।

यस्तो काम भनेको स्वदेशमा होस् वा विदेशमा जागिर खानु वा श्रम बेच्नु हो । जागिरमा लागेपछि, एक महिना काम गरेपछि त्यो कामको पैसा आउँछ । अरू कुरा काम लगाउनेले जान्ने हो । श्रम बेच्नेको पनि यस्तै हो । धेरै टाउको दुखाउनुपर्दैन । धेरै परे अलिअलि गाली खाने हो ।

जे भए पनि यो सजिलो र कम जोखिमको बाटो हो । त्यो पनि यस्तो काम गर्दा स्वदेशमा अरूले देख्ने, चियो गर्ने र विदेशमा भए कसैले नदेख्ने जे गरे पनि हुने । त्यसैले परिवार र स्वयम्को हकमा पनि विदेशको बाटो रोजाइको विषय बन्ने गर्छ ।

धेरैलाई लाग्न सक्छ यहाँ कामको कुनै अवसर नै छैन । व्यवसाय गर्न लगानी गर्ने पूँजी छैन, बैंकले पत्याउँदैन । व्यवसाय गर्ने वातावरण छैन, जताततै अवरोध र झन्झट मात्रै छ । उत्पादित वस्तुको बजार छैन, आदि ।

यसमध्ये केही कुरा मात्रै सत्य हुन् । व्यवसाय गर्न पूँजी सहजै जुटाउन सक्ने र पूँजीको आधार बलियो भएकाहरू पनि विदेश नै जान मरिहत्ते गर्छन् । पाँच, दश लाख होइन बीस, तीस लाख, चालीस, पचास लाख रुपैयाँ दलाललाई बुझाएर गैरकानुनी बाटोबाट विदेश जानेहरू पनि छन् ।

बैंकले ऋण दिन सबैभन्दा पहिला ऋणीको आचरण, काम गर्ने क्षमता, गरेको काममा सफल हुने सम्भावना, कामको अनुभव हेर्ने गर्छ । नयाँ व्यवसाय गर्न चाहनेहरूसँग अनुभव हुँदैन । यस्ता अनुभव नभएकाहरू सानो लाग्ने, थोरै पूँजीमा हुने, सिकेर व्यवसाय गर्ने जस्ता काम गर्न खासै रुचाउँदैनन् ।

तर, उनीहरू ऋण लिएर ठूलो काम गर्ने भन्छन् । अनुभव नभएकाहरू र खर्चिलो जीवनशैली भएकाहरू असफल हुने सम्भावना धेरै भएकाले बैंक, वित्तीय संस्था लगानी गर्न हच्किने गर्छन् । लगानी गरिहाल्दा पनि पर्याप्त धितो लिनु बैंक वा वित्तीय संस्थामा भएको सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु हो । ऋणीलाई पूर्ण जिम्मेवार बनाएर मात्रै लगानी गर्नु बैंक वा वित्तीय संस्थाको बाध्यता हो ।

उद्यम व्यवसाय गर्नेहरूले केही झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुन्छ । यो नेपाली समाजको मानसिकता र सरकारको कमजोरी हो । व्यवसाय गर्न केही न केही प्रक्रिया पूरा गर्नुपर्छ यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ । सरकारले पनि व्यवसाय गर्न चाहनेलाई सहजीकरण गर्नुपर्छ ।

तर व्यवसाय गर्न चाहनेले सामान्य प्रक्रिया पूरा गर्न झमेला मान्ने, सरकारी नीति र कर्मचारीको रवैया पनि सहयोग गर्नेभन्दा अल्झाउने र पैसा झार्ने देखिन्छ । यसलाई सुधार गर्नुपर्छ ।

सामाजिक मनोविज्ञान कस्तो बनेको छ भने अलि ठूलो उद्योग, उद्यम, व्यापार–व्यवसाय गर्नेहरू सर्वसाधारणलाई ठगेर, झुक्याएर, खोसेर धनी भएका हुन् । यस्ताले सधैं लुट मच्चाउँछन् । यस्ताहरू पैसा कमाउन मात्रै आएका हुन् । त्यसैले यस्तालाई सकेसम्म करकापमा पारेर, धम्क्याएर, अवरोध सिर्जना गरेर पैसा लिनुपर्छ ।

यस्ता उद्योग, उद्यमी र व्यवसायीले कस्तो र कति योगदान गरेका हुन्छन् भन्ने बारेमा खासै चर्चा कसैले गर्दैनन् । कति रोजगारी सिर्जना भयो, कति उत्पादन भयो, यो उद्योग नभएको भए यसले उत्पादन गर्ने समान विदेशबाटै आयात हुन्थ्यो होला, कति सीपको विकास भयो, राज्यलाई कति कर तिरेको होला । यस्ता कुराको कतै चर्चा हुँदैन ।

उद्योग गर्नु र उद्यमी बन्नु सम्मानको कुरा हो । यसले देश, समाज, परिवारलाई निरन्तर योगदान गरिरहेको हुन्छ भनेर उद्यम गर्नेलाई सम्मानित नजरले हेर्ने, सम्मान गर्ने, सहयोग गर्ने वातावरण बनाउन हामी सबै लाग्नुपर्छ ।

उद्यम एवम् व्यवसायमा सामेल हुनु एउटा जटिल प्रक्रियामा जोडिनु हो । यसमा लगानी, जोखिम, नयाँ खोज–अनुसन्धान र निरन्तर सिकाइको आवश्यकता पर्दछ । यो प्रक्रिया पार गरेर सफलता पाउने साहस जो–कोहीमा हुँदैन । त्यसैले धेरैले सजिलो जागिरको बाटो रोज्ने गर्छन् ।

समाजमा उद्यम गर्नेभन्दा जागिर खाने मानिस ठूला हुन् भन्ने भाष्य वर्षौंदेखि निर्माण भएको छ । त्यसमा पनि सरकारी जागिरमा भएका मानिसको शान, मान, पहिचान उच्च छ । अझ उनीहरूको कमाइ पनि आकर्षक देखेकाहरू उद्यमी बन्ने सोच राख्नुभन्दा जागिरे बन्ने सोच नै राख्छन् ।

अनि सरकारी जागिर जुटाउन नसक्नेहरू अरूतिरका जागिर ताक्छन् । त्यो पनि जुरेन भने विदेशिनु नै निको मान्छन् । यसरी हाम्रो सामाजिक मान्यता नै जागिर खाने वा श्रम बेच्न विदेश जाने भन्ने बन्यो । पढ्न विदेश जानेको सोच पनि विदेशमा श्रम बेच्ने वा जागिर खाने नै हो ।

यसरी जब कसैको सोच स्वदेशमा उद्यमी बन्न मिहिनेत गर्ने, चुनौती स्वीकार्ने, गरेरै छाड्ने हुँदैन तब देशमा केही हुँदैन, वातावरण नै छैन भन्ने बाहेक यहाँ के हुन्छ र ?

उद्यम गर्ने उद्यमी, व्यवसाय गर्ने व्यवसायी लगायत कुनै पनि पेशा व्यवसायका लागि सधैं राम्रै मात्र हुन्छ भन्ने हुँदैन । आन्तरिक समस्या धेरै हदसम्म आफ्नै कारणले आउँछ । बाह्य कारण भनेको काबु बाहिरको परिस्थिति हो । जस्तै, २०७२ सालको महाभूकम्प, कोभिड–१९, आर्थिक मन्दी, आदित्यादि ।

बाह्य कारणले सिर्जना भएको दबाब थेग्न धेरै उद्यमी व्यवसायीलाई सकस परेको छ । यो बेला नयाँ–नयाँ उद्यमी व्यवसायी झन् संकटमा हुने नै भए । उद्यम व्यवसाय सुरु गर्ने सोच बनाएर बसेकाहरू अरूको अवस्था देखेर कुनै आँट गर्न सकिरहेका छैनन् ।

अहिले अवस्था प्रतिकूल छ तर सधैं प्रतिकूल नै हुन्छ भन्ने होइन । अनुकूल भएपछि काम गरौंला भनेर पर्खने र अहिले केही नगरी बस्नु पनि समय बर्बाद गर्नु हो । प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्ने प्रयास गर्नुपर्छ ।

कुनै पनि सरकारका लागि आफ्नो राज्यमा धेरैभन्दा धेरै सफल उद्यमी एवम् व्यवसायी हुनु राज्यका लागि हितकर हुन्छ । रोजगारी वृद्धि हुन्छ, उत्पादन बढ्छ, कच्चा सामानको खपत हुन्छ, सीपको विकास हुन्छ, आयात घट्छ, निर्यात बढ्छ, करबाट राज्यको आम्दानी बढ्छ, उद्यमीले अर्को उद्यमी नै जन्माउँछ, आदि ।

त्यसैले राज्यले उद्यमी जन्माउन, उद्यमीको विकास गर्न, उद्यमीलाई आकर्षित गर्न, उद्यमीलाई सफल पार्न प्रयास गर्नुपर्छ । यस्तो सहयोग गर्न र उद्यमीका समस्या सुन्न सक्ने अवस्था तब आउँछ जब सरकारले उद्यमीको महत्व बुझ्ने गर्छ ।

जब सरकारले उद्यमीको महत्व बुझ्न सुरु गर्छ तब उद्यमीलाई आकर्षित गर्न सरकारले विभिन्न प्रकारका छुट र सहुलियत दिने गर्छ । उद्यमीलाई व्यवसाय गर्न झञ्झट नहोस् भनेर प्रयास गरेको हुन्छ । उत्पादनमा अनुदान, सस्तो मूल्यमा बिजुली, सस्तो मूल्यमा घरजग्गा उपलब्ध गराउने, ब्याजमा अनुदान दिने, निश्चित अवधि करमा छुट दिने आदि आकर्षक प्याकेज घोषणा गरेका हुन्छन् ।

नेपालमा तीन तहको सरकार बनेको छ । सरकार चलाउन पुगेका जनप्रतिनिधिले उद्यम व्यवसायको महत्व र यसले आफ्नो क्षेत्रमा पुर्‍याउन सक्ने योगदानको बारेमा बुझ्न आवश्यक छ । नबुझ्दासम्म जनप्रतिनिधि र सरकार चलाउने मानिस पनि उद्यमी–व्यवसायीसँग चन्दा, कर असुली गर्ने । आफ्ना मानिसलाई जागिर खुवाउने ध्याउन्नमै हुन्छन् । यो चरित्र भनेको उद्यमी व्यवसायीले आफ्नो क्षेत्रमा पुर्‍याएको आर्थिक योगदानको बारेमा सचेत नभएर हो ।

हाम्रो हकमा तीनै तहका सरकारले अब पनि अर्थतन्त्रको अवस्था बुझ्न र उद्यमी व्यवसायीलाई आकर्षण, संरक्षण, सहयोग र सम्मान गर्न ढिला गर्नुहुँदैन । युवा पुस्तालाई उद्यमी बन्न प्रेरित गर्ने किसिमको वातावरण तयार गर्नुपर्छ ।

सम्मान, उत्प्रेरणा, संरक्षण र सहयोगले युवापुस्तालाई उद्यमी, व्यवसायी बन्न आकर्षण गर्नेछ । अहिले पनि विदेशबाट फर्किएका, विदेश नगएर यतै केही गर्ने र भविष्य बनाउन भनेर लागेका युवा छन् । उनीहरूलाई निराश हुनबाट जोगाउनुपर्छ । अनुकूल वातावरण निर्माणमा सबैको सहयोगको आवश्यकता छ ।

अहिले यस्ता युवालाई यहीं केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सके एक दशकमा हामीले राम्रै अवस्था निर्माण गर्न सक्छौं । यहाँ व्यवसाय र उद्यम गर्ने वातावरण नै नभएको होइन बरु वातावरण बनाउन हामी नलागेका हौं । भएको सम्भावना नदेखेका हौं, व्यवसाय र उद्यमलाई टिकाउन चाहिने आँट र जोखिम लिने क्षमताको कमी हो ।

यस्तै उद्यमी व्यवसायी बन्ने चिन्तन र चरित्र निर्माणमा कमी भएको हो । अहिले प्रतिकूलता छ तर सबैले व्यवसाय र उद्यम छाडेर भागेका छैनन्, चुप लागेर बसेका छैनन् । आज प्रयास जारी राखेकाहरूले, आफूलाई टिकाइ राख्नेहरूले भविष्यमा अवश्य राम्रो गर्नेछन् । प्रतिकूलतामा टिक्नेहरूले नै अनुकूलतामा फड्को मार्ने छन् ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?