
३२ असार, काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले सीआईपी सम्मान प्रदान गरे ।
सीआईपी प्राप्त गर्नेहरूमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक ९ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।
सोही अवसरमा उद्योगमन्त्री भण्डारीले देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने बताए । उनले सीआईपी सम्म्मानले उद्योगी–व्यवसायीको मनोबल उच्च राख्दै निर्यात प्रवर्द्धनमा थप प्रभावकारी भूमिका खेल्ने बताए ।
‘यो सम्मानका लागि सम्मान होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौं । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसैले हामीले देशको समृद्धिका लागि सहकार्य गरर अगाडि बढ्न चाहन्छौं,’ उनले भने ।
नेपाल सन् २०२६ मा एलडीसी ग्र्याजुएसनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनु पर्ने उनले बताए ।
सोही अवसरमा उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्याउन सकिने बताए । उनले नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पुर्याउन र कुल गार्हस्थ उत्पादनको शुन्य दशमलव २ प्रतिशत मात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्याउन सकिने धारणा राखे ।
अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले शिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र यसमा सरकारको भरपुर सहयोग रहेको भन्दै निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिकाप्रति आभार व्यक्त गरे ।
कुन–कुन संस्था र व्यक्तिले पाए सम्मान ?
व्यवसायीका प्रतिनिधिमूलक संस्थाका तर्फबाट उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघ निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ ।
यी संस्थालाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भनेर सम्मान गरिएको हो ।
यस्तै व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघ अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ ।
यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्पी व्यवसायी संघ झापा, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोसाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआईपी सम्मान पाएका छन् ।
उनीहरूलाई तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब वा त्यसभन्दा बढी निर्यात गरेका आधारमा यो सम्मान प्रदान गरिएको हो ।
यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुमध्ये प्रत्येकबाट एक–एक व्यवसायीलाई सीआईपी सम्मान प्रदान गरिएको छ ।
जसअन्तर्गत ऊनी गलैंचातर्फ थर्ड आई इन्टरनेसनल, तयारी पोसाकतर्फ नेपाल फेसन प्रालि, ऊनी फेल्टका सामानतर्फ नेसनल एक्स्पोट्स प्रालि, छुर्पीतर्फ मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इन्डस्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यस्तै भारततर्फ निकासी रकमका आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रालि, आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्टमंगल काठमाडौंले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यसैगरी नेपालको मौलिक सिप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तु निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्यान्ड इन्टरप्राइजेज प्रालिले पनि सीआईपी सम्मान पाएका छन् ।
यसैगरी प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेस्ट कार्डमम प्रडक्सन झापा र जडीबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् ।
निर्यात व्यापारमा कुल रकमका आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौं र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा १ अर्ब वा त्यसभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीमध्ये द सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट, एभरेस्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइन्डफुल क्राफ्ट प्रालि काठमाडौंले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यसैगरी बैंकिङ प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आईएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेस्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4