+

ढाड दुखाइको उपचार के छ ? (भिडियो)

२०८० फागुन  ३ गते १८:२० २०८० फागुन ३ गते १८:२०
ढाड दुखाइको उपचार के छ ? (भिडियो)

व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो ।

ढाड दुख्ने कारण

साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै जाने, ढाडको मांसपेशी कमजोर हुँदै जाने र ढाड कुप्रो हुँदै जाँदा शरीरको पोस्चर बिग्रिंदै जान्छ । त्यसमा पनि झुकेर, निहुरेर, टेबलमा बसेर काम गर्दा ढाडको पोस्चर थप बिग्रिने र मेरुदण्डको पछाडि भएका मांसपेशी कमजोर हुने हुँदा ढाडमा दुखाइ महसुस हुन्छ, जसलाई पस्चुरल ब्याक पेन भनिन्छ । यस्तो प्रकारको ढाडको दुखाइ धेरैजसो मानिसले अनुभव गरेका हुन्छन् ।

उमेर बढ्दै जाँदा ढाडको हड्डीका जोर्नीहरुमा दबाब बढी भएर हड्डी खिइने अवस्था आउँछ, जसलाई लम्बर स्पोनडाइलोसिस भनिन्छ । यो पनि धेरैले भोग्ने समस्या हो । उमेर बढ्दै जानेबाहेक शरीरको तौल बढी भएका, बढी झुकेर निहुरेर काम गर्नुपर्ने, भारी बोकेर हिंड्नुपर्ने व्यक्तिलाई यस्तो समस्या धेरै हुन्छ ।

यसबाट बच्न शरीरको तौल नियन्त्रणमा राख्ने, ढाडमा धेरै दबाब पर्ने गरी झुकेर निहुरेर काम नगर्ने, ढाडको पोस्चरलाई ख्याल राख्ने, चिकित्सकको सुझावनुसार औषधि सेवन र फिजियोथेरापिस्टको सुझावअनुसार व्यायाम गर्नुपर्छ ।

युवा उमेर पार हुँदै जाँदा हड्डी पनि कमजोर हुँदै जान्छ । यसलाई ओस्टियोपोरोसिस भनिन्छ । विशेषगरी  महिलामा महिनावारी बन्द भएपछि शरीरमा इस्ट्रोजन भन्ने हार्मोन कम हुँदा हड्डी कमजोर हुन्छन्, जसलाई पोस्ट्मेनोपजल ओस्टिओपोरिसिस भनिन्छ । कुनै चोटपटकविना नै ढाडको हड्डी भाँचिन जान्छ । यसले शरीर कुप्रो हुनुका साथै ढाड दुखाइको समस्या पनि हुन्छ ।

ओस्टिओपोरोसिस कम गर्न नियमित व्यायाम गर्ने दूध र दुग्धजन्य पदार्थ सेवन गर्ने, डाक्टरको सल्लाहअनुसार क्याल्सियम, भिटामिन डी, एन्टिओस्टिओपोरोटिक मेडिसिन विस्फोनेट तथा महिलाको हकमा हार्मोन थेरापी गर्न सकिन्छ । हड्डी कमजोर भएर निकै नै कुप्रो भएर ढाड दुखेको अवस्थमा भने काइफोप्लास्टी र भर्टेब्रोप्लास्टीजस्ता शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

अग्लो ठाउँबाट खसेर मेरुदण्डको हड्डी भाँचिंला हड्डी दबिएकै अवस्थामा जोडिंदा कालान्तरमा ढाड बाङ्गो हुन्छ र दुख्छ ।

भिटामिन डीको कमी हुँदा पनि ढाड दुख्न सक्छ । यसको कमीले शरीरमा थकान महसुस हुने, जीउ थाक्ने, जोर्नी, मांसपेशीमा दुखाइ महसुस हुनेजस्ता लक्षण देखिन्छन् । प्रत्यक्ष रुपमा खानेकुराबाट मात्र भिटामिन डी प्राप्त नहुने र घामको सहारा लिनुपर्ने हुँदा नेपाललगायत विश्वका धेरै मुलुकका नागरिकमा भिटामिन डीको कमी देखिन्छ ।

त्यसैले भिटामिन डीयुक्त खानेकुरा धेरै खाने, नियमित घाममा बस्ने, डाक्टरको सल्लाहअनुसार भिटामिन डीको प्रयोग गर्नेजस्ता उपाय अवलम्बन गर्दा भिटामिन डीको कमीबाट हुने ढाड दुख्ने समस्या कम हुन्छ ।

पिसाबको समस्या ढाड दुख्ने अर्को प्रमुख कारण हो । मिर्गौलाको पत्थरीबाट हुने दुखाइ निकै कडा खालको हुन्छ । बुझ्नुपर्ने कुरा के भने मिर्गौलामा भन्दा पनि मिर्गौलाबाट सुरु हुने युरेटर भन्ने नलीमा ‘स्टोन’ अड्किंदा यस्तो प्रकारको दुखाइ महसुस हुन्छ ।

एङ्काइलोजिङ स्पोण्डिलाइटिस

यो रोग धेरैलाई थाहा नहुन पनि सक्छ । यसलाई ढाडको बाथ भनेर बुझ्न सकिन्छ । यो समस्या महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । धेरैजसो अवस्थामा यो रोग विविध कारण सुरुकै अवस्थामा डायग्नोसिस नहुन पनि सक्छ । सानै उमेरमा लक्षण सुरु भएमा ढाड, गर्धन तथा हिपको जोर्नी पूर्ण रुपमा जाम हुने समेत अवस्था आउन सक्छ । कहिलेकाहीं राति सुतेको अवस्थामा अत्यधिक दुखाइ भई कोल्टो फेर्न समेत हात टेक्नुपर्ने अवस्था हुन्छ ।

साथै ढाड जाम भएजस्तो महसुस हुने, छातीका करङको हड्डी वरिपरिको मांसपेशी दुख्ने, लामो सास तान्दा छातीको चौडाइ तुलनात्मक रुपमा कम बढ्ने जस्ता लक्षण देखिन्छन् ।

मेरुदण्डको टीबी

मेरुदण्डमा क्षयरोग अर्थात् टीबी हुँदा पनि ढाड दुख्छ । सुरुकै अवस्थामा टीबी भएको पत्ता लगाउन केही गाह्रो हुन सक्छ । ढाड दुख्न सुरु भएपछि दुखाइको मात्रा बढ्दै जाने, रातिको समयमा दुखाइ ज्यादा हुने, ढाड दुखाइकै कारण दैनिक जीवनमा असर पार्ने, भोक नलाग्ने, ढाड कुप्रो हुँदै जाने, खुट्टा प्यारालाइसिससम्म हुने समस्या हुन सक्छ ।

एक्सरे, एमआरआई, रगत जाँच, बायोप्सी आदि गरेर मेरुदण्डमा टीबी भए नभएको पत्ता लगाउन सकिन्छ । समयमा नै पत्ता लागेर उपचार गरे यो रोग निको हुन्छ ।

क्यान्सरका कारण हुने ढाड दुखाइ

ढाड दुखाइको एउटा कारण क्यान्सर पनि हुन्छ । वृद्ध उमेरका व्यक्ति जसमा ढाड दुख्नुका साथै रेड फ्ल्याग संकेत जस्तै शरीर दुब्लाउने, भोक नलाग्ने, ज्वरो आउने, राति ढाडको दुखाइ धेरै हुने, पहिला लामो समयसम्म धुम्रपान र मध्यपान गरेका ढाडको क्यान्सर पनि भएको हुन सक्छ । मेरुदण्डको क्यान्सर दुई प्रकारको हुन्छ, एउटा मेरुदण्डबाटै उत्पति भएको क्यान्सर र अर्को शरीरको अरु भागमा क्यान्सर पैदा भएर बिस्तारै मेरुदण्डको हड्डीमा सरेको क्यान्सर ।

उपचार के छ ?

जुन कारणले ढाड दुखाइ भएको भए पनि समयमै यसको पहिचान गरेर उपचार गर्नु उत्तम हुन्छ । बाहिर निस्किएको डिस्कले नसा कति वटा ठाउँमा र नसाको कति अंश च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि डिस्क आधा मात्र बाहिर निस्किएको वा नसा आधा मात्रै चेपिएको छ भने त्यसलाई औषधि तथा फिजियोथेरापीद्वारा निको पार्न सकिन्छ । जुन पहिलो तथा दोस्रो चरण अन्तर्गत पर्छ । तर डिस्क धेरै बाहिर निस्किएको छ र एक्कासि धेरै सरेको छ, मलद्वार वरिपरि लाटो भएमा, दिसापिसाब नियन्त्रण गर्न नसक्ने अवस्थामा, खुट्टा कमजोर हुने समस्या देखिएमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

इन्टरभेन्सनल पेन म्यानेजमेन्टबाट पनि उपचार गर्न सकिन्छ । यो बिना शल्यक्रिया सुईको माध्यमबाट जुन डिस्क वा नसामा समस्या छ, त्यसमा औषधिको प्रयोग गरेर गरिन्छ । प्रायजसो दुखाइ मात्रै छ र गम्भीर लक्षण छैन भने इन्टरभेन्सनल पेन म्यानेजमेन्ट गरिन्छ । कुनै दीर्घरोग जस्तै मधुमेह, मुटुरोगका कारणले अपरेसन गर्न नमिलेको अवस्थामा पनि यो विधिबाट उपचार गर्न सकिन्छ ।

इन्टरभेन्सनल पेन म्यानेजमेन्ट दुई तरिकाले गरिन्छ । पहिलो, एक्सरे मेसिनबाट हेरेर दुखाइ भएको ठाउँमा सुईमार्फत औषधि लगाइन्छ भने दोस्रो, डिस्क धेरै सरेको छ भने रुटब्लकसँगै ओजन ग्यास पनि इन्जेक्ट गरिन्छ ।

ओजन थेरापी गर्न डिस्कभित्र पानी बाँकी हुनुपर्छ । कहिलेकाहीं लामो समयदेखि डिस्क सरेको अवस्थामा डिस्कभित्र सुख्खा भएको हुनसक्छ । यस्तो अवस्थामा डिस्कमा ओजन हालेर खासै लाभदायक हुँदैन ।  काम गर्दैन । ढाडमा एकैदिनमा उपचार गर्न गरिन्छ । ढाडको दुवैतिर नसा च्यापिएको अवस्थामा काउडल एपिड्युरल (दुखाइ नियन्त्रण गर्न दिइने एक प्रकारको सुई) पनि दिने गरिन्छ ।

घाँटीमा पनि एक्सरेबाट सुईमा औषधि हालेर उपचार गर्न सकिन्छ । यसमा भने कम्मरमा जतिको सहज हुँदैन । किनभने घाँटी प्रत्यक्ष मस्तिष्कमा जोडिने नसा हुन्छ । केही गरी सुई लागेमा जटिलता हुनसक्छ तेसैले घाँटीको केसमा एपिड्युरल स्टेरोइड (एक प्रकारको नदुख्ने औषधि) दिने गरिन्छ । मेरुदण्डको उपचार गरिसकेपछि खाने औषधि दिइन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. तीर्थराज भण्डारी ढाड दुखाइ स्वास्थ्य
डा. तीर्थराज भण्डारी
लेखक
डा. तीर्थराज भण्डारी
इन्टरभेन्सनल पेन स्पेसलिस्ट

डा. भण्डारी हाल काठमाडौंको नेसनल न्युरो सेन्टर, ललितपुरको अल्का अस्पताल र चिरायु अस्पतालमा कार्यरत छन् । उनले इन्टरभेन्सनल पेन एण्ड हेड्याक विषयमा एमडी  र पेन मेडिसिनमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १४२९७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय