+
+

नागरिकता ! आ… छाड्देउ, अब कति बाँच्छु र !

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन ६ गते २०:३१

६ फागुन, विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका– ६ की सुखियादेवी सहनीलाई आफ्नो उमेर ठ्याक्कै याद छैन । उनका श्रीमान बिकु सहनीले वृद्धभत्ता पाउन थालेको दुई वर्ष भयो ।

सुखियादेवीलाई आफू ७० वर्ष पुगेँ कि भन्ने लाग्छ । तर उमेर किटान गर्ने कुनै आधिकारिक कागज उनीसँग छैन । नागरिकता बनाउन चार पटक प्रयास गरिन्, तर बनेन । उमेर छदा उनलाई नागरिकताको आवश्यकता महसुस भएन, बुढेसकालमा नागरिकता चाहिनुको कारण हो सामाजिक सुरक्षा भत्ता ।

उनलाई जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारीले बुवा वा बुवाको नागरिकता लिएर आउनू भन्दै फर्काए । ‘बुबा ल्याउनु, आमा ल्याउनु अनिमात्रै दिन्छु भन्छन्, कताबाट ल्याउनु’, उनले भनिन्, ‘आ.. छाड्देऊ अब कति दिन जिउछु र ।’

उनका बुबा–आमा दुबैको मृत्यु भइसकेको छ । त्यसैले अब उनीहरु वा उनीहरुको नागरिकता लिएर प्रशासन कार्यालय जान सम्भव छैन ।

आफ्नो उमेर ढल्कदै गएको बताउँदै उनले अब नागरिकता बनाउन बल नगर्ने बताइन् । तर वृद्धभत्ता सम्झदा नागरिकताको लोभ लाग्छ । उनका श्रीमान बिकुले नियमित रुपमा वृद्ध भत्ता पाउँछन् । श्रीमानले पाएको भत्ताले घर चलाउन भरथेग भएको छ ।

सुखियादेवीका अनुसार २०६४ सालमा गाउँमा टोली आएका बेला श्रीमान र छोराले नागरिकता बनाएका थिए । त्यसबेला सुखियादेवीले नागरिकता बनाउन चासो दिइनन् । नागरिकताको आवश्यकता महसुस पनि भएको थिएन । तर उमेर ढल्कदै गएपछि वृद्धभत्ता पाउने आशाले नागरिकता बनाउन प्रयास गर्दा नागरिकता बनेन ।

‘भत्ता खान त हुन्थ्यो, तर मेरो बुबाकै नागरिकता बनेन, त्यसपछि मेरो पनि बनेन, के गरौं’, सुखियादेवी भन्छिन्, ‘अरु सबैको भएछ, मेरो चाहिँ बन्दैन रे ।’

उनका दुई छोरा एक छोरी छन् । जेठो छोरा गाडी चलाउछन्, कान्छा मजदुरी गर्छन् । उनी छोराहरुसँग बसेर दैनिकी कटाइरहेकी छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई जन्मको आधारमा नागरिकता बनाएका बुबा–आमामध्ये एक जनाको मात्रै नागरिकता छ भने उनीहरुको छोराछोरीको नागरिकता बन्ने प्रावधान छैन ।

यसरी नागरिकता नपाउनेको संख्या मोरङमा तीन हजार भन्दा बढी छ । कानुनमा जन्मसिद्ध नागरिकता लिएका बुबा–आमाकै नागरिकता भएमात्रै सन्तानको वंशज नागरिकता बन्ने प्रावधान छ ।

बुबा आमामध्ये एक जनाको मात्रै नागरिकता भएकाहरुको छोरा छोरीले नागरिकता पाएका छैनन् । नागरिकता बनाउन नपाएका अधिकांशको बुबाको मात्रै र केहीको आमाको मात्रै नागरिकता छ ।

बुबाआमा दुवैको जन्मसिद्ध नागरिकता भएका १२ हजार ६ सय भन्दा बढीले वंशजको नागरिकता पाएको भट्टराईले बताए । यो संख्या गत ११ असारदेखि १ फागुनसम्मको हो ।

ती मध्ये जिल्ला प्रशासन कार्यालय मोरङबाट ८ हजार ९७४, इलाका प्रशासन कार्यालय रंगेलीबाट ३ हजार १९९ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ४६९ जनाले नागरिकता लिएका छन् ।

नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३) मा जन्मका आधारमा नागरिकता पाएकाहरुको विषय समेटिएको छ ।

११ को उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा २ को उपदफा (२) मा भनिएको छ, ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछ भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?