+
+

विश्वकपअघि नेपालले कम्तिमा १५ वटा टी-२० खेल खेल्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते २०:२४

७ फागुन, काठमाडौं । नेपालले आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्दैछ । टी-२० विश्वकपको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल छन् ।

त्यो विश्वकपको लागि नेपालले विशेष तयारी थालेको छ । टी–२० विश्वकप अघि नेपालले कम्तिमा पनि १५ टी–२० खेल खेल्ने पक्का भएको छ । नेपालले लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेलपछि त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी–२० आई सिरिज फागुन १५ देखि २२ (फेब्रुअरी २७-मार्च ५) सम्म खेल्नेछ । दुवै टोलीसँग सिरिजमा २–२ खेल खेल्नेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । यस सिरिजमा नेपालले कम्तिमा ४ र बढीमा ५ खेल खेल्नेछ ।

त्यसपछि नेपाल हङकङ जानेछ । त्यहाँ नेपाल, हङकङ, युएई र ओमानबीच चार देश सम्मिलित टी–२० आई सिरिज हुनेछ । नेपालले कम्तिमा तीन खेल खेल्ने पक्का छ । यस सिरिजबारे क्यानले घोषणा गर्न बाँकी छ ।

हङकङपछि नेपाल भारत जानेछ । भारतका दुई रणजी ट्रफ खेल्ने गुजरात र बरोडासँग नेपालले चैत्र १८ देखि २५ (मार्च ३१-अप्रिल ७) सम्म त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । २–२ खेल पछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

त्यसपछि नेपाल एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ । चैत्र २८ देखि वैशाख ११ (अप्रिल १०-२३) सम्म ओमानमा एसीसी टी-२० प्रिमियर कप खेल्नेछ । नेपालले समूह चरणमा कम्तिमा चार खेल खेल्नेछ । सेमिफाइनल हुँदै फाइनल पुग्न सके थप दुई खेल खेल्नेछ । भारतमा हुने सिरिज बाहेक अन्य सबै टी-२० आई मान्यता हुनेछन् ।

नेपालले समूह चरण र लिगको मात्रै खेल खेल्दा १५ खेल खेल्ने पक्का भएको छ । तीन सिरिज र एसीसी प्रिमियर कपको फाइनल खेल्न सके ५ खेल बढ्नेछन् । जेठ २० देखि टी–२० आई विश्वकप सुरु हुनेछ ।

विश्वकपअघि नेपालले अन्तिम तयारीको रुपमा सिरिज खेल्ने सम्भावना रहन्छ । आईसीसीले अफिसिल वार्मअप खेल पनि प्रदान गर्ने गर्दछ । त्यसैले विश्वकप अघि नेपालले २५–३० खेल खेल्ने देखिन्छ । कम्तिमा १५ पक्का भएको छ ।

नेपालले अघिल्लो साता आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नामिबियासँगको खेल छाडेर अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई इन्टरनेशल लिग टी-२० क्रिकेट खेल्न दुबई पठाएको थियो ।

नेपालले टी-२० को लागि फरक टोली बनाउनेछ । अहिले खेलेका ओडीआईबाट केहि खेलाडी बाहिरिनेछन् । टी–२० विशेष खेलाडी टोलीमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?