+
+

निजी अस्पतालको फोहोर व्यवस्थापन भद्रगोल, तत्काल सुधार्न महानगरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:१४

९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका निजी अस्पतालहरूको फोहोर व्यवस्थापन सुधारमा लागेको छ । निजी अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापनका सम्बन्धमा महानगरले अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनका क्रममा महानगरले हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको जनाएको छ । महानगरले गरेको अनुगमनमा स्रोतमा फोहोर छुट्ट्याउन राखिएका बाल्टिनमा रङ संकेत नमिलेको देखिएको हो ।

‘सबै खालका बाल्टिनमा सबै खालका फोहोर हाल्ने गरिएको पाइयो, वर्गीकृत फोहोरको ढुवानी गर्ने ट्रली देखिएन । ढुवानी गरेर भण्डारण गर्ने ठाउँमा लैजाने बाटो साँघुरो छ,’ महानगरका वरिष्ठ इन्जिनियर निशा कोइरालाले भनिन्, ‘जसले गर्दा फोहोरले अक्सिजन सिलिन्डर लगायत सामान छुने जोखिम छ ।’

कोइरालाका अनुसार अटोक्लेभ मेसिन चलाउने गरिएको छ, तर प्रेसर र तापक्रम मापन गरिएको छैन ।

महानगरका अनुसार हिमाल अस्पतालले फोहोर व्यवस्थापन प्रक्रियाका लागि जिम्मेवार कोही पदाधिकारी तोकेएको छैन । माथिल्लो तलामा अस्पतालमा प्रयोग भएका कपडा धुने ठाउँ छ । ती कपडा कसरी संक्रमणमुक्त हुन्छन् । धुनेलाई थाहा छैन । अस्पतालले चलाएको औषधि पसलमा एक्स्पाइरी जोन छैन ।

त्यसैगरी उत्पादनमा भएको वर्गीकरणपछिको ढुवानी र प्रशोधन व्यवस्थापन कमजोर छ । कति फोहोर उत्पादन हुन्छ, कुन फोहोर कसरी व्यवस्थापन भइरहेको छ, अभिलेख छैन ।

हेल्पिङ ह्यान्ड्समा पनि समस्या

हिमाल अस्पताललाई महानगरले तत्काल सुधार गर्न निर्देशन दिएको छ । चाबहिलमा भएको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्नका लागि ठाउँ ठाउँमा ६ वटा बाल्टिन राखे पनि अस्पतालले ढुवानी गर्ने प्रबन्ध भने राम्रो गर्न सकेको नपाइएको कोइरालाले बताइन् ।

कोइरालाका अनुसार वर्गीकृत फोहोर कर्मचारीले प्लास्टिकमा हालेर बोकेर प्रशोधन गर्ने ठाउँमा लैजाने गरेको पाइयो । ३० किलो क्षमताको अटोक्लेभ छ । यसलाई व्यवस्थित राखेको छैन । यी पक्षमा सुधार गर्न अस्पताललाई सुझाव दिइएको छ ।

एभरेस्ट हस्पिटल पनि उस्तै

नयाँबानेश्वरमा रहेको एभरेस्ट हस्पिटलको फोहोर संकलनमा महानगरले बुधबारदेखि रोक लगाएको छ ।

अनुगमन क्रममा स्वास्थ्य संस्थाले अवलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ वैशाख १६ ) पत्राचार गरेर ९ बुँदे सुधारको सुझाव दिइएको थियो ।

फोहोरको रेकर्ड राख्न, बिनहरूमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, विसर्जनपूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए ।

महानगरका अनुसार यसरी सुझाव दिएको आगामी वैशाखमा दुई वर्ष पुग्दैछ । यति लामो अवधिसम्म पनि सुधारका कुनै संकेत देखिएका छैनन् । अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ संकेत ख्याल गरिएको छैन । ढुवानीका लागि ट्रलीको प्रबन्ध छैन ।

त्यस्तै संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन । संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्ने बाटो साँघुरो छ । त्यही ठाउँमा अन्य संरचना बनाउँदै गरेका कारण खाडल बनाएर पुर्न नै कठिन छ । भएको मेसिन पनि चलेको छैन । यसप्रकारका लापरबाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो ।

यसअघि अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ ।

‘हानिकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारबाही फुक्का हुन्छ,’ महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन् ।

यसैगरी बुधबार मीनभवनस्थित सिभिल अस्पतालको पनि अनुगमन गरिएको छ । अस्पतालले फोहोर संकलन गर्न राखेका सबैजसो बाल्टिन कालो रङका भेटिए पनि बिर्को भने हरियो, पहेँलो र निलो राखिएको पाइएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?