+
+

पोखरामा ५ तलासम्म अग्लो घर बनाउन पाइने, सबैमा हरियो रङ

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन ९ गते २०:४५

९ फागुन, पोखरा । पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ ।

यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने नीति लिएको हो ।

‘अब भवन ५ तलासम्म बनाउन पाइन्छ । तर, त्यो ५ तलासम्म बनाउन पनि सुरुमा माटो परीक्षण गर्नुपर्छ’, महानगरपालिकाका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘माटो परीक्षणपछि मात्रै कहाँ कस्तो ठीक हुन्छ, त्यहीअनुसार डिजाइन तयार गर्न लगाउँछौं ।’

तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पहिलो पटक २०३१ सालमा पोखरामा घर तथा भवन बनाउने मापदण्ड तोकेको थियो । उक्त मापदण्ड पुनरावलोकन हुनुपर्ने माग बढेपछि ०५७÷५८ सालतिर पनि अध्ययन भएका थिए । तर, ती अध्ययनले पनि शंकरराज पाठक नेतृत्वकै मापदण्डलाई सदर गरेका थिए ।

महानगरले अहिलेसम्म त्यही पुरानै मापदण्डलाई आधार मानेर बढीमा साढे ३ तलासम्मको भवन बनाउन स्वीकृति दिँदै आएको छ ।

तर, पोखरामा साढे ३ तला भन्दा अग्ला ५ हजारभन्दा बढी भवन रहेको अनुमान छ । १० तलाभन्दा अग्लो घर १९ वटा रहेको मेयर धनराज आचार्य बताउँछन् । ‘तर, ती सबै भवन अवैध नै त भन्न मिल्दैन । कुनै कुनैले भवन सम्पन्न पनि लिइसकेका छन्’, महानगर नक्सा शाखा प्रमुख पौडेलले भने ।

यो मापदण्ड लागू भएपछि पोखरामा यसअघि मापदण्ड मिचेर बनेका धेरै भवन वैधानिक हुनेछन् ।

पौडेलका अनुसार नयाँ भवन मापदण्डमा झ्याल, ढोका कता राख्ने, कुन उचाइमा राख्ने, पोखराका कुन स्थानमा कस्तो घर बनाउने जस्ता विषय पनि उल्लेख छ ।

महानगरपालिकाले २०७५ असोजमा इन्जिनियर प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा भवन मापदण्ड पुनरावलोकन समिति गठन गरेको थियो ।

उक्त समितिले पोखरामा जग्गाको आकार अनुसार उचाइ निर्धारण गर्ने गरी नयाँ मापदण्ड ल्याउन सुझाव दिएको थियो । जग्गाको क्षेत्रफल, उपयोग र भवनको किसिमअनुसार ‘फ्लोर एरिया रेसियो’ अर्थात भुइँ क्षेत्रको अनुपातमा उचाइ निर्धारण गर्ने सो समितिको सुझाव थियो ।

मेयर धनराज आचार्यले मापदण्ड तयार भइसके पनि राजपत्रमा छापिएपछि मात्र सार्वजनिक गरिने जानकारी दिए । ‘अबको ४८ घन्टामा सबैले थाहा पाउनुहुन्छ’, उनले भने ।

नयाँ मापदण्डमा पोखरामा बन्ने भवन वातावरणमैत्री हुनुपर्ने उल्लेख गरिएको मेयर आचार्यले जानकारी दिए ।

‘परिच्छेद ५ मा ऊर्जा प्रभावकारितासम्बन्धी मापदण्ड बनाएका छौं । यो एकदमै नयाँ हो । २०३१ मा जे थियो, थियो । अब बन्ने भवन वातावरणमैत्री हुनेछन्’, मेयर आचार्यले भने, ‘सकभर एसी प्रयोग गर्न नपर्नेगरी मापदण्ड तयार पारेका छौं ।’

मेयर आचार्यले नयाँ मापदण्डबारे निजी घर बनाउने निर्माण व्यवसायीलाई जानकारी गराउने बताए । ‘प्राइभेट तर्फबाट बन्ने विषयमा उहाँहरुलाई हामी जानकारी दिँदै सहजीकरण गर्दै लैजान्छौं’, उनले भने, ‘यो मापदण्ड लागू गर्न केही अवसर र चुनौती दुवै छन् ।’

सबै घरमा हरियो रङ

पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ ।

पोखराका भवनमा हरियो रङ लगाउने योजना पुरानै भए पनि बल्ल कार्यान्वयन गर्न लागिएको मेयर आचार्यले बताए । ‘यो प्रचलन पुरानै हो । पुतलीबजार पर्पल सिटी, वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’, उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?