+
+

कास्कीमा अलपत्र एन्फा टेक्निकल सेन्टरबारे राखेप र एन्फासँग लिखित जवाफ माग

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन १० गते २०:०४

१० फागुन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एन्फाले बनाउन लागेको ‘फिफा ड्रिम प्रोजेक्ट’को विषयमा राष्ट्रिय खेलकुद परिषद्, एन्फासहित ७ व्यक्ति, संघसंस्थासँग उच्च अदालत पोखराले लिखित जवाफ मागेको छ ।

माछापुच्छ्रे भिडाबारीमा फिफा ड्रिम प्रोजेक्ट बनाउन एन्फाले नै असहयोग गरेको र परेको बजेट पनि रकमान्तर गरेको भन्दै गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले उच्च अदालत, पोखरामा रिट दायर गरेका थिए ।

उक्त रिटउपर उच्च अदालत पोखराका न्यायाधीश उमेश कोइरालाको एकल इजलासले बिहीबार लिखित जवाफ माग गर्दै अन्तिम अन्तरिम आदेशका लागि छलफलमा उपस्थिति हुन आदेश दिएको हो । अदालतले फागुन ३० गते पेसी तोकेको छ ।

गाउँपालिका अध्यक्ष गुरुङले बजेट विनियोजन भएर टेन्डर आह्वान भइसकेको अवस्थामा एन्फाले रकमान्तर गरेको भन्दै उजुरी दिएको बताए । एन्फाले उक्त टेक्निकल सेन्टरका लागि विनियोजित २० करोड रुपैयाँ वैशाखमा विभिन्न अन्य शीर्षकमा रकमान्तर गरेको उनको भनाइ छ ।

‘हाम्रो प्रोजेक्टका लागि आएको रकम आपतकालीन बैठक बसेर रकमान्तर गरिएको छ । यसलाई रोक्न पटकपटक बैठक बस्यौं । तर, सहमतिमा पुग्न सकेन’, गुरुङले अनलाइनखबरसँग भने, ‘रकमान्तर रोक्न अदालत जानुपर्‍यो ।’

अध्यक्ष गुरुङले उक्त परियोजनाका लागि गाउँपालिकाले स्थानमा तटबन्धलगायत काम गरिसकेको र हालसम्म १ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको जानकारी दिए ।

के हो विवाद ?

फिफा र एएफसीको आर्थिक सहयोगमा भिडाबारीमा बन्ने भनिएको टेक्निकल सेन्टर दक्षिण एसियाकै नमुना परियोजनामध्ये एक हो । विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दिएको हो ।

फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन, एन्फालाई दिइएको थियो । एन्फाले उक्त प्रोजेक्ट कास्कीको भेडाबारीमा बनाउने योजना अघि बढायो । २०७६ सालमा कास्कीको माछापुच्छे्र गाउँपालिका भेडाबारीमा जग्गा देखाएपछि उक्त परियोजना कास्कीले पाएको थियो । जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइ काम अघि बढेको थियो ।

एन्फाका तत्कालीन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र माछापुच्छ्रे गाउँपालिकाले भिडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माण गर्न २०७५ फागुन १४ गते सम्झौता गरेका थिए । तर, पंकज विक्रम नेम्वाङ नेतृत्वको नयाँ कार्यसमितिसँगै ड्रिम प्रोजेक्ट छायाँमा परेको आरोप लाग्दै आएको थियो ।

कर्माछिरिङ शेर्पा नेतृत्वले ल्याएको उक्त परियोजनामा पंकज नेतृत्वको असन्तुष्टि रहेको आरोपसमेत लाग्दै आएको छ । एन्फा पदाधिकारीबीच जुंगाको लडाइँ हुँदा उक्त गौरवको परियोजना अहिले अलपत्र परेको छ ।

उक्त प्रोजेक्टका लागि मिनी रंगशालासहितको एन्फा टेक्निकल सेन्टरका लागि डीपीआर तयार भइसकेको छ । तत्कालीन समयमा एन्फाको टेक्निकल टिमले स्थलगत निरीक्षण गरेर सबै तरिकाले उक्त स्थल प्रोजेक्टका लागि योग्य रहेको निष्कर्षसमेत निकालेका थिए ।

२०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि कोरोना महामारीका कारण काम रोकिएको थियो । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्ट्याएर ४ चरणमा उक्त परियोजना सक्ने योजना थियो ।

३५२ रोपनी जग्गामा बन्ने परियोजनाको पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने योजना छ ।

टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, २ वटा कृत्रिम मैदान, २ वटा बालुवा मैदान, स्विमिङपुल, रेस्टुरेन्ट, पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा छ । उक्त परियोजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?