+
+
कथा :

मिसन–८४

हरिप्रसाद पोख्रेल हरिप्रसाद पोख्रेल
२०८० फागुन १२ गते १८:२०

१२ वर्षको कक्षा ८ मा पढ्ने एक मिहिनेती, लगनशील, मिलनसार, गुरुहरूको प्यारो, हरेक वर्ष स्कुलमा प्रथम हुने अब्बल विद्यार्थी रामु अर्थात् मेरो प्रिय भाइ। ऊ उमेरले सानो छ तर व्यावहारिक र अति जिज्ञासु ।

देश-विदेशका घटनाक्रम, वैदेशिक रोजगारी, देशको आर्थिक-सामाजिक विकास, वर्तमान राजनीतिदेखि समाजमा रहेका विकृति–विसंगतिका पक्ष समेतलाई निकै चासोका साथ पढ्ने र बुझ्ने गर्छ। उसका हरेक क्रियाकलाप हेर्दा मेरो मन फुरुङ्ग हुन्छ, उसको दाइ हुनुमा गर्व पनि लाग्छ।

केही समय भयो एकछिन फुर्सद पायो कि भन्ने गर्छ दाइ अब जे हुन्छ ८४ पछि हुन्छ, मिसन–८४, मिसन–८४ भनेर दिक्क लगाउँछ। कहिलेकाहीं त रिस पनि उठ्छ र भन्ने गर्छु ‘चुपलाग् तँ फुच्चे! ८४ पछि पनि केही हुनेवाला छैन !’

म थप्छु, ‘हामीलाई डोको–नाम्लो गर्नुपर्ने नै होला, भकारामा गएर सकी–नसकी भैंसीको गोबर सोहोर्नै पर्ने होला, एक गाग्री पानीको लागि दुई घण्टा उकालो हिंड्नुपर्ने नै होला, साहु–महाजन र लघुवित्तसँग लिएको ऋण तिर्नुपर्ने नै होला, थप ऋण नलिइकन तेरो किताब–कापी किनिंदैन होला, दशैंमा एकजोर लुगा किन्नलाई अर्को लघुवित्त खोज्नैपर्ने होला, ४ घण्टा पैदल यात्रा नगरी स्वास्थ्य चौकी पुगिन्न होला, केही हुनेवाला छैन भाइ हाम्रो जीवनमा त्यो ८४ होस् कि ८९ ! सधैं उस्तै हो! तैंले सपना अलिक सानो सानो देख्ने गर साने, पढाइमा ध्यान दे, अरु तेस्तै हो! हामी जस्तो सानो हैसियत भएकाले ठूलो सपना देख्नुहुन्न, ठूलो सपना देखेर सपनामै विलीन हुनुभन्दा सपना नदेख्नु नै बेस !’

तर ऊ जिद्दी गर्छ, ‘तेसो होइन दाइ, हेर्दै जाउ। अब ८४ पछि केही न केही त फरक हुन्छ, हुन्छ ।

‘दाइ आजकल रामेलाई के भएको हो ?’ एकोहोरो मिसन ८४, ८४ मात्र भन्छ ? के रहेछ खासमा यो मिसन ८४ ?’ उसको स्कुलका साथीहरूले समेत सोद्धै थिए मलाई।

‘हेर ठुले यो सानेलाई के भाको आजकल खाली टोलाएर बस्छ, केही भन्यो कि पीर नमान्नु बा ८४ पछि हाम्रा दिन पनि आउँछन् भन्छ, कतै राजनीतिमा लाग्ने सोच बनाएको त होइन यसले ? यो पढ्ने बेलामा के के सोच्ने हो, कम्तीमा त्यो एसईई हो कि के–जातिसम्म पास गर्दे त हुने, मलाई त डर पो लाग्न थाल्यो, हेर ठूले पढाइमा तेस्तो अब्बल मान्छे, केही राम्रो गर्ला भनेको त ८४ बाहेक अरु कुरै गर्दैन, कतै बरालिने त होइन ?’ यसो भन्दै हिजो घरमा बाले पनि पीर गर्दै हुनुहुन्थ्यो।

‘तेरी आमा उमेरमै स्वर्गवास भैहाली, तँ पनि अपाङ्गता भएको छस्, तेरो पनि हेरचाह हुने, मेरो पनि बुढेसकालमा सहारा हुने भनेर त्यो ६८-७० वर्षको उमेरमा अर्की ल्याएँ, उसलाई पनि दैवले चुँडेर लगिहाल्यो। म बिरामी बुढो, डाँडापारिको जून कतिबेला अस्ताउने हुँ के थाहा, त्यही बुढेसकालमा जन्मेको कान्छाले केही प्रगति गर्ला र तिमीहरूको भविष्य राम्रो बनाउला कि भन्ने थियो, त्यो पनि के हो के हो मलाई त तेरो सारै चिन्ता लाग्न थाल्यो ठुले !’

हुँदा-हुँदा एकदिन मामाघरमा गएको उता पनि भन्ने गर्दोरहेछ, ‘आमा विनाका हामी टुहुरालाई बाले कति दुःख गरेर यहाँसम्म पुर्‍याउनुभो। मेरा बाका ती दुःखका दिन पनि ८४ पछि त कसो हट्दै नजालान् र है मामा? जे हुन्छ ८४ पछि हुन्छ। राम्रै हस्पिटलमा लगेर दाइ र बाबाको उपचार गर्ने दिन पनि आउने छ, आर्थिक अवस्था पनि सुध्रिने छ। जिम्मलबासँग सयकडा तीनको दरमा लिएको ऋणले पनि पिरोल्न छोड्नेछ। उनको किचकिच् पनि बन्द हुनेछ। लघुवित्तका कर्मचारी घरमा आएर बालाई थर्काउन छाड्नेछन्।’

रामेलाई ८४ को भूतले यतिसम्म छोएछ कि एकदिन सानिमा घरमा आउनुभएको, उहासँग पनि गुनासो गर्न भ्याएछ, ‘सानिमा के गर्नु आखिर जे गरे पनि ८४ नआइकन हाम्रो अवस्था सुध्रिने देखिंदैन। आमा बिरामी पर्नुभो। समयमा राम्रो अस्पतालमा लगेर उपचार गर्न नपाएर आमाको मृत्यु भो, बाबा बुढो भैसक्नु भो। उहाँको सहारा भनेकै त्यही अपाङ्गता भएका दाइ र म मात्र हो, म त भर्खर ८ कक्षामा त पढ्दैछु तर पनि हजुरहरूको आमा बराबरको स्नेह, साथ–सहयोगले हामी यो टुहुराहरू यहाँसम्म त आइपुगेका छौं। अब धेरै प्रगति गर्नुछ, चिन्ता नगर्नु सानिमा ८४ पछि केही न केही गरौंला !’

कान्छोको त्यो ८४ को कुराले मलाई यतिसम्म इरिटेट गर्‍यो कि मेरो त्यो मुटुभन्दा प्यारो भाइलाई एक थप्पड लगाएर बेस्सरी झपारें, ‘चुप् लागेर आफ्नो काम गर्, काम छैन, खालि ८४, ८४ भनेको छ, के हो त्यो ८४ ? के हुन्छ ८४ मा ?’

उ सुँक्कसुँक्क गर्दै रुँदै भन्न थाल्यो, ‘हेर ठुल्दाइ २०८४ मा धेरै कुरा हुन्छ, म १६ वर्षको हुन्छु, मेरो पासपोर्ट बन्छ, बाको ८४ पूजा पनि हुन्छ। २०८४ मा नयाँ सत्ताको लागि राष्ट्रिय चुनाव पनि हुन्छ, अनि म विदेश पनि जान्छु। विदेश गएर कमाएर त्यो बन्धकीमा गएको खेत फर्काउनु छ, लघुवित्तका कर्मचारीको किचकिचबाट बालाई मुक्ति दिई स्वर्गको बाटो खुल्ला गरिदिनुछ, विदेश गएर निकै दुःख गरेर भए पनि तिम्रो र बाउको उपचार गर्ने मेरो ठूलो सपना छ र मुख्य कुरा २०८४ पछि केही नयाँ गर्छौं, देश बनाउँछौं भन्दै हिंडेकाहरूले केही आशा जगाएछन् वा पुराना सुध्रिएछन् भने स्वदेशमै फर्की यही गैह्रीखेतमा मुठी रोपेर मुरी फलाउनुछ। त्यो डाँडामा उद्योग खोलेर उद्यमी बन्नु छ। तिमीहरू सँगसँगै रमाउनु छ। बिहे गरेर सानो र सुखी परिवार बनाउनुछ। तर नयाँबाट पनि भरोसा पाइएनछ भने गैरआवासीय नागरिक बन्नुछ, त्यही मार्फत देशमा लगानी भित्र्याउनु छ, जसरी पनि देश विकास गर्नुछ, समृद्धि हासिल गर्नुछ।’

ऊ एकछिन रोक्कियो र पुनः बोल्न थाल्यो, ‘तर त्यसको लागि त्यो ८४ मा काजीसाबसँग १ लाख जति ऋण खोज्दिनु है दाइ! त्यो पल्लो गाउँको माइकल दाइको काठमाडौंमा विदेश पठाउने म्यानपावर छ रे, गाउँको भाइ होस्, मलाई भेट्न आएस् सस्तोमा राम्रो कमाइ हुने कम्पनीमा पठाइदिम्ला भनेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?