+
+
कथा :

दीक्षान्त समारोहको कालो टोपी

अनिता घिमिरे अनिता घिमिरे
२०८० फागुन २६ गते ७:३४

म बिहानको ६ बजे नेममा पढ्न गइरहेकी थिएँ । जब डिल्लीबजारको ओरालोमा जाँदै थिए, मेरो अगाडि एउटा कालो टोपी झर्‍यो । टोपी अनौठो थियो । मैले निहुरेर टोपी हातमा उठाएँ अनि फेरि त्यहीं छोडिदिए । मलाई लाग्यो त्यो नजिकैको घरमा बस्ने मान्छेको कोठाबाट खस्यो होला । तर त्यस्तो टोपी कसले लगाउँछ ?

साढे ६ बजे म नेम पुगें । कक्षामा गएर सधैं झैं पढें, ११ बजे हाम्रो कक्षा सकियो । कक्षा सकिएपछि म सिधै कोठामा आउँथें । तर त्यस दिन साथीहरुले जाउलाखेलमा चिडियाखाना घुम्न जाऔं भनेकाले हामी चार जना मिल्ने साथी रोशनी, कल्पना, विभूति र म रत्नपार्कमा पुगेर जाउलाखेल जाने बसमा चढ्यौं । केही समयपछि बस कुपन्डोल पुग्यो, त्यहाँ सडकभरि अनौठा मानिसहरु थिए । अनौठा त होइनन, तर सबै जनाले लामो कालो कोट लगाएको थिए अनि एउटा कालो टोपी पनि, टोपी त ठ्याक्कै बिहान मेरो टाउकोमा झरेको टोपी जस्तो थियो ।

मलाई बिहान डिल्लीबजारमा देखेको टोपीको याद आयो । सबै मानिसहरु २५-२६ वर्षका जस्ता थिए । केटाहरुले त विवाहमा लगाउने जस्ता कोट र पाइन्ट लगाएका अनि केटीहरुले चाहिं साडी र ब्लाउज लगाएका सिंगार पनि गरेका, सबैले त्यो कालो लामो कोट अनि टोपी लगाएका थिए । सबै युवायुवती असाध्यै प्रफुल्लित मुद्रामा देखिन्थे । हाम्रो बस एकछिन रोकियो । ती कालो पोशाक लगाएका युवा युवतीहरुले सडकलाई ढपक्कै ढाकेका थिए । तिनीहरु बिस्तारै सडक पार गरेर अर्को सानो गल्लीतिर लागे । मेरो मनमा अनेक प्रश्नहरु उब्जिए ।

अनि त्यही बसमा उपस्थित एकजना काकालाई सोधें ।

‘यी मानिसहरु के गर्न लागेका हुन् ? यस्तो पोशाक किन लगाएको ?’

‘आज त्रिभुवन युनिभर्सिटीको ४५ औं दीक्षान्त समारोह हो,’ उनले भने ।

मैले फेरि सोधे- ‘दीक्षान्त समारोह भनेको के हो ?’

उनले जवाफ दिए, ‘हरेक विश्वविद्यालयले स्नातकोत्तर पास गरेका विद्यार्थीहरुलाई टोपी लगाएर सम्मान गर्छ । त्यसलाई दीक्षित भएको भनिन्छ । आज हाम्रो त्रिभुवन विश्वविद्यालयले पनि १० हजार विद्यार्थीलाई दीक्षित गर्दैछ ।’

‘दश हजार !’

मलाई मनमनै त्यो कार्यक्रम हेर्ने लोभ पलायो । त्यसपछि मैले साथीहरुसँग भाग्ने योजना बनाएँ । मैले भने- ‘मेरो फोन कक्षामा छुटेछ, म फोन लिएर आउँछु तिमीहरु चिडियाखानामा जाँदै गर्नु मेरो लागि टिकट लिनु पर्दैन । म पछि आफैं टिकट काटेर आउँला ।’

मेरो तीन जना साथीहरुको ओठ खुल्नुभन्दा पनि छिटो म बसबाट बाहिर निस्किएँ । अनि तिनै कालो टोपी लगाएको जमातको पछि पछि लागें । दश मिनेट जति हिडेपछि म एउटा ठूलो चौरमा पुगें, त्यहाँ धेरै नै मानिसहरु जम्मा भएका रहेछन् । सबैजना प्लास्टिकको कुर्सीमा बसेका थिए । अगाडि मञ्चमा कोही बोलिरहेको थियो । कार्यक्रम उद्घोषकले विभिन्न विषयमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई पालैपालो मञ्चमा आमन्त्रित गरिरहेका थिए । कुनै एउटा विषयमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने विद्यार्थीलाई गोल्ड मेडलिस्ट भनिंदोरहेछ । गोल्ड मेडलिस्टहरुलाई त राष्ट्रपतिको हातबाट मेडल प्रदान गरिंदोरहेछ । मैले मेरो जीवनमा राष्ट्रपतिलाई पनि नजिकैबाट हेर्ने मौका पाएँ ।

त्यो अवसरमा गोल्ड मेडल पाउने एक जना विद्यार्थी आफ्नो बुबालाई लिएर मञ्चमा दंग परेर प्रमाणपत्र लियो । मेरो आँखा उसको बुबाको जुत्तामा पर्‍यो, जुत्ता फाटेको थियो । मेरो कलिलो दिमागले सोध्यो यो गोल्ड मेडल बेच्दा यी बाको ऋण तिर्न पुग्छ कि पुग्दैन ?

जे होस् त्यस दिन खुब रमाइलो भयो । त्रिभुवन विश्वविद्यालयले १० हजार नेपालीलाई स्नातकोत्तर गरेर दीक्षित भएको प्रमाणपत्र वितरण गर्‍यो । यी सबैजना कुनै न कुनै विषयमा विद्वान हुनुपर्छ । मलाई सबैभन्दा रमाइलो चाहिं त्यहाँको माहोल लाग्यो । कोही काला टोपी लगाएका दिदीहरु चार महिनाको सुत्केरी रहिछन् । कसैले त सानो चार महिनाको बच्चालाई दूध चुसाइरहेको दृश्य देखियो । कोही बदाम बेचिरहेका थिए, कोही बदाम किनिरहेका थिए, कोही राष्ट्रपतिको हातबाट स्वर्णपदक थापिरहेका थिए भने कोही टिकटक बनाइरहेका थिए । त्यहाँ सबै थोक गरिरहेका थिए तर कसैले कसैलाई सुनिरहेका थिएनन् । मेरो मनमा फेरि अर्को प्रश्न उब्जियो- विकसित भनाउँदा देशका विश्वविद्यालयहरुमा चाहिं दीक्षान्त समारोह कसरी मनाउँछन् होला ?

यसरी नै बदाम बेचेर मनाउँछन् होला कि, त्यहाँ सुन्तला पनि पाइँदोहोला ? तत्कालै मेरो दोस्रो मनले जवाफ फर्कायो- विदेशीले जेसुकै गरुन् । हामीले किन तिनको नक्कल गर्नुपर्ने आफ्नो मौलिकतामा गर्व गर्नु नै नेपालीपन हो ।

जे जस्तो भएपनि मेरो मन फुरुङ्ग भइरहेको थियो, म पहिलोपटक दीक्षान्त समारोहमा दर्शक बनेर अवलोकन गरिरहेकी थिए । मलाई त्यो सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थीले स्वर्णपदक पाएको देखेर उत्साह जाग्यो । मैले मनमनै अठोट गरे म पनि आफ्नो विषयमा स्वर्ण पदक लिएर आउने गरी पढ्छु र मेरी आमालाई यसरी नै मञ्चमा बोलाएर फोटो खिचाउँछु । मेरो मनमा अनेक कुराहरु खेलिरहेका थिए । त्यो कार्यक्रमबाट बाहिर निस्किएपछि म सिधै घर गएँ ।

म कालोपुलमा मेरा मामा-माइजूसँग बस्दै आइरहेको थिएँ । साँझको खाना खाइसकेपछि मामाले माइजूलाई भन्नु भयो- ‘भान्जीलाई साथी लिएर जाऊ मेरो बिदा मिलेन ।’

मैले सोधे- ‘कहाँ जाने ?’

माइजूले भन्नुभयो- ‘चैत ८ गते दोलखामा मेरो भाइको विवाह छ । भाइको विवाहमा जाने कुरा गरेको, भान्जी मसँग जाऊँ है ? रमाइलो हुन्छ बिहेमा ।’

माइजूले भाइको विवाहमा जाऔं भनेपछि मलाई पनि दोलखा जान मन लाग्यो र हुन्छ भनिदिएँ । मामाले माइजू र मेरा लागि नयाँ कपडा र जुत्ता किनिदिनुभयो हामी चैत ८ गतेको विवाहमा लागि चैत ४ गते नै दोलखा पुग्यौं । दोलखा जिल्ला त मैले सोचेको जस्तो विकसित रहेनछ । चरिकोटबाट दुई घण्टा बसमा चढेर पनि दुई घण्टा पैदल हिंडेपछि मात्र माइजूको माइतीघर पुगियो । पुगेको दिन त मलाई धेरै नै दिक्क लागेको थियो, किनकि खुट्टा धेरै नै दुखिरहेको थियो । भोलिपल्ट उठेपछि गाउँघरको सुन्दरता र त्यहाँको प्रकृतिले मलाई लोभ्याउन थाल्यो ।

बिहेघरमा पनि चहलपहल बढ्दै थियो । बिहानैदेखि गाउँका मानिसहरु भेला भएर बिहेको धन्दामा जुटिरहेका थिए । अकस्मात एउटा समाचार सुनियो कि चैत ८ गतेदेखि एकहप्ताको लागि देशभर लकडाउन हुन्छ । मलगायत सबैका लागि यो शब्द नयाँ थियो । लकडाउनको अर्थ थियो जो जहाँ छ त्यहीं रहनुपर्ने सवारीसाधन चलाउन अनुमति नहुने । लकडाउनका कारण माइजूको भाइको विवाह पनि सीमित मानिसको उपस्थितिमा सम्पन्न भयो ।

विवाह त सम्पन्न भयो तर एक हप्ता भनिएको लकडाउन थपिंदै तीन महिना लम्बियो । पाँच दिनको लागि दोलखा घुम्न गएको मैले नचाहेर तीन महिना एउटा दुर्गम गाउँमा बिताउनुपर्‍यो । त्यो समय दोलखाबासीको लागि मात्र नभएर विश्वकै लागि कहालीलाग्दो थियो । म त्यस समयमा जुन गाउँमा पुगेर बन्धक भएकी थिएँ, त्यो गाउँमा हरेक दिन जस्तो नयाँ–नयाँ घटना भइरहेका थिए । लकडाउन सुरु भएको एक महिना जति भएको हुनुपर्छ । त्यो गाउँमा झाडापखालाको महामारी फैलियो धेरै मानिस बिरामी परेको कुरा सुनिन्थ्यो ।

मेरो माइजुको काकीलाई पनि धेरै गाह्रो भएको थियो । माइजू काकीलाई भेट्न उहाँको घरमा जान लाग्दा म पनि पछिपछि गएँ । माइजूको काकाको घर अरुको भन्दा अलि ठूलो रहेछ । सिकुवामा फोटाका फ्रेमहरु सजाएर राखिएका थिए । तीनवटा फोटो चाहिं त्यही कालो कोट र कालो टोपी लगाएका बेला खिचिएका रहेछन् । माइजूले मलाई एउटा फोटोतिर औल्याउँदै भन्नुभयो- ‘यो मेरो भाइले गतसाल औषधि विज्ञानमा स्वर्णपदक पाएको थियो । अनि यी दुइटी छोरीहरुले चाहिं समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । मेरो काकाका सबै छोराछोरी काठमाडौं बस्छन् ।’ मैले भने- ‘यो दादाले विद्यादेवी भण्डारी (तत्कालीन राष्ट्रपति) को हातबाट प्रमाणपत्र ग्रहण गर्दा म पनि त्यही पुल्चोकको मैदानमा थिएँ ।’

माइजूलाई मेरो कुरा विश्वास लागेन, भन्नुभयो- ‘जे मन लग्यो त्यही नबोल्नु ।’ मैले पनि हतारहतार मोबाइल खोलेर फोटो देखाइदिए । माइजु अक्क न बक्क पर्नुभयो, हामी घरभित्र छिर्‍यौं । माइजूको काकीलाई धेरै नै गाह्रो भएको रहेछ । चार दिन भएको थियो झाडापखाला नरोकिएको । बेहोस अवस्थामा हुनुहुन्थ्यो । मेरो माइजूले सोध्नुभयो- ‘किन अस्पताल नलगेको काकीलाई ?’ त्यही स्वर्णपदक पाउने भाइ पनि घरमा आउनुभएको रहेछ, उहाँको नाम विजय हो ।

विजयले भन्नुभयो- ‘गाडी चल्न दिएको छैन ।’

‘बिरामी बोकेको गाडी त चल्न दिन्छन् होला,’ माइजूले उहाँलाई भन्नुभयो ।

‘दिन्छन् तर चरिकोटमा स्वास्थ्यकर्मी पनि छैनन् । कोरोनाको डरले सबैजना बिदा लिएर घर गएछन् । एक जना नर्स मात्र छन्,’ विजयले माइजूसँग भन्नुभयो ।

माइजूले भन्नुभयो- ‘त्यसो भए हामी आफैं गएर औषधि मात्र भए पनि लिएर आउनुपर्छ ।’

‘म गएको थिएँ हिजो, तर अस्पतालमा औषधि सकियो रे । औषधि पसल पनि बन्द थियो,’ विजयले माइजूलाई जवाफ दिनुभयो ।

‘तिमीसँग चाहिं कुनै औषधि छैन ? तिमी पनि यस्तै काम गर्ने हैन र ?’ विजयलाई माइजूको प्रश्न थियो ।

विजयले भन्नुभयो, ‘हो, मेरो काम यही हो । कुन बिरामीलाई कुन औषधि दिनुपर्छ भनेर लेख्ने नै मेरो काम अध्ययन हो । तर दुर्भाग्य भनौं, म क्लिनिकमा काम नगरेर शिक्षण गर्छु । त्यसैले मेरो कोठामा औषधि थिएन । औषधि किनेर बोकिराखौं भन्ने बुद्धि पनि पुगेन ।’

मेरो माइजूका सबै प्रश्न सकिएछन् क्यारे चूप लाग्नुभयो । एकछिनसम्म बिरामी काकीलाई एकटकले हेरिराख्नुभयो । अनि फेरि काकासँग कुरा गर्न थाल्नुभयो । केहि समय बितेपछि हामी आफ्नो घरतिर लाग्यौं ।

हामीले भेटेर आएको दुई दिनपछि माइजूकी काकीले यो संसार छोडेको खबर गाउँमा फैलियो । गाउँका सबैजना उहाँलाई बिदाइ गर्न त्यो आँगनमा भेला भएका थिए । मेरी माइजूका माइतीघरका सबै सदस्य पनि घरमा ताला लगाएर काकाको घरमा पुगे । त्यो घरमा भएको रुवाबासीले त्यो नजिकैको जंगल पनि थर्किएको थियो । त्यो नजिकैको पहाडमा ठोकिएको प्रतिध्वनि गाउँमै आइरहेको थियो । अचानक मेरो आँखा त्यो सिकुवामा फ्रेममा सजाएर राखिएको फोटोमा पर्‍यो । त्यो त त्यही मृतक आमाका स्वर्णपदकधारी छोराको फोटो थियो । मैले त्यो फोटोलाई हेरेर मनमनै भने धिक्कार छ, तिम्रो त्यो स्वर्णपदकलाई र यो कालो टोपीलाई जसले आफ्नो आमालाई सामान्य झाडापखालाबाट पनि बचाउन सकेन ।

दुर्भाग्य ! त्यो फ्रेमभित्र भएको निर्जीव मान्छेले खै कसरी मेरो मनको कुरा सुन्यो । खित्का छाडेर हाँस्यो मैले पनि होस गुमाए । मैले त्यो सिसाको फ्रेममा एक मुक्का हानेछु सिसा झर्‍यामझुरुम भएर भुईंमा झर्‍यो । उता आँगनमा मृतक आमाको लास उठ्नै लागेको रहेछ । सबै मानिस भावविह्वल भएर रोइरहेका थिए । एक जना दिदीले मलाई देख्नुभएछ- ‘बहिनी के गरेको ?’ भन्नुभयो । मैले कुनै जवाफ दिइनँ । दुई-तीन मिनेटपछि मेरो माइजू पनि छेउमा आउनुभयो अनि सोध्नुभयो- ‘यो फोटोको फ्रेम के भएर फुट्यो ?’

ती अपरिचित दिदीले मतिर देखाउँदै भनिन्- ‘त्यो बहिनीले झारेको हो ।’

‘किन फुटाएको नि यो फ्रेम ?’ माइजूले सोध्नुभयो ।

मैले भने- ‘त्यो फ्रेमभित्रको फोटोले मलाई जिस्कायो, अनि मैले हानेको हो ।’

माइजुले के बुझ्नुभयो थाहा भएन, तर मेरो गाला पड्काउनुभयो । माइजूलाई पक्कै पनि मेरो व्यवहार असामान्य लाग्यो होला । मान्छे मरेको घरमा गएर उनीहरुको सामान फुटाउनु कदापि तर्कसंगत थिएन । यद्यपि, त्यस दिन मेरो जीवनमा एउटा मानसिक रोग लागेको छ । म त्यो दीक्षान्त समारोहमा लगाइदिने कालो टोपी र कालो पोशाक लगाएर खिचेको तस्वीर जोसुकैको घरमा झुण्ड्याएको देखें पनि फुटाइदिन्छु । बदलामा दुई-चार थप्पड खान तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?