+
+

समयको कुण्डली

घडी आज मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । वर्तमान मानिस घडीको टिक्टिक्सँगै सुत्छ, उठ्छ, दगुर्छ, मिहिनेत गर्छ । घडीको टिकटिक थामियोस् मात्र, सांसारिक गतिविधि अस्तव्यस्त हुन्छ ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०८० माघ १३ गते १२:४४
तस्वीर साभार : www.tathwir.com

समय सृष्टिको अविच्छिन्न धारा । समय आरम्भ हो, अन्तिम किनारा । समय जब जन्मियो, जीवनको अस्तित्व थिएन । समयको तलबारले राजा–रङ्क भन्दैन । सबैभन्दा गम्भीर समयको तीर । समय साँचो हो, झुटो तकदीर !

‘समय आउँछ, पर्खिंदैन । बगेको खोला फर्किंदैन । मिन मे कम, मिन मे गो, बट आइ गो फर एभर !’ यी ती कथन हुन् जसले समयलाई परिभाषित गर्न मद्दत पुर्‍याउँछन् । आजको मानिस घडीको टिक्टिक्सँगै निदाउँछ । जाग्छ । नित्य कर्ममा लाग्छ । जब पुरानो साल (समय) मर्छ, नयाँ साल जन्मन्छ । ज्योतिषहरू समयको कुण्डलीवाचन गर्न तम्सन्छन् ।

मानिसको दिमागमा समयको यति गहन चेत कहिलेदेखि घुस्न थालेको होला त ? किटानीका साथ भन्न नसकिए पनि वास्तविकता यही हुनुपर्छ, सृष्टिपछिको निकै लामो कालखण्डसम्म मानिसले समयको ढुकढुकी पहिचान गर्न सकेको थिएन । ऊ सूर्य उदाएको, अस्ताएको, ताराहरू रातमा चम्केको आदि खगोलीय गतिविधि नियाल्दै नित्यकर्ममा त लाग्थ्यो तर समयको गूढ रहस्यबारे अनभिज्ञ थियो ।

समय के हो भन्ने नजानिकनै उसले सयकडौं हिउँदहरू बितायो । हजारौं बर्खाहरू कटायो । यस्तैमा एक दिन यस्तो आयो, मानव मस्तिष्क समय चेतनाको रोमाञ्चक विन्दुमा पुग्यो । समय चेतनाको उपरोक्त विन्दु स्पर्श गरेको दिन ऊ अतिशय अल्हादित थियो ।

त्यसो त, सभ्यताको यात्रा सुरु भएदेखि नै दैनिक जीवनमा मानवीय सक्रियता दिनानुदिन बढ्दै गइरहेको थियो । उसमा दैनिकीलाई सिलसिलाबद्ध वा सुव्यवस्थित नबनाइनहुने चुनौती थपिइरहेको थियो । अथवा यसो भनौं, मानिसमा बढ्दो संसारिक गतिविधिलाई रुटिनबद्ध गर्नुपर्ने स्वाभाविक बाध्यता आइलाग्थ्यो । फलतः मानिसले समयको आयामलाई टुक्र्याउँदै दैनिकीलाई धारावाहिक रूपमा सञ्चालन गर्ने संभावना र उपायबारे सोच्न थाल्यो ।

त्यस उप्रान्त मानिसले समयसँग सम्बन्धित अनगिन्ती रहस्यको पटाक्षेप गर्दै गयो । समय नामक पुस्तकका बन्द पानाहरू खोल्दै गयो । जगतमा मनुष्यको सृष्टि नभएको भए समयको कथा ब्रह्माण्डको गर्भमै हराउने थियो ।

प्राणीहरूमध्येमा मानिस मात्र एउटा त्यस्तो जीव थियो जसले ब्रह्माण्डमा समयको तरङ्ग प्रवाहित छ भन्ने तथ्य पत्ता लगायो । समयको दिव्य ज्ञान मानिसमा विकसित चेतनाको युगान्तकारी मोड थियो । त्यो एउटा त्यस्तो मोड थियो जसले भूगोल मात्र नभई सम्पूर्ण जगतलाई एक नयाँ दिशा र गति दियो ।

समयको महिमा यति व्यापक छ कि, वर्तमान मानिस धर्तीमा अवतरण गरेको सेकेण्ड, पला, मिनेट, दिनको हिसाब निकाल्दै जन्मदिन मनाउँछ । पुरानो साल मरेको, नयाँ साल जन्मेकोमा ‘सेलिब्रेसन’ गर्छ ।

घडीको आविष्कार समय चेतना यात्राको अर्को महान् उपलब्धि थियो । घडी समकालीन विश्वमा समयको पर्याय भएको छ । कहिलेकाहीं त यस्तो लाग्छ– घडीले समयको पेटेन्ट राइट पाएको छ । घडीले समयलाई वंश–परम्पराविहीन हुनबाट जोगाएको छ ।

मानिस समयको रहस्योद्घाटन गर्ने एक मात्र जीव हो । मानिसद्वारा उद्घाटित समयका रहस्यहरू राजा–रानीको प्रेम कथाभन्दा रोचक छन् । अप्सरा–उर्वशीका कामुक नृत्यभन्दा चित्ताकर्षक छन् । आउनुहोस् विना बिलम्व समय र घडीको सत्य कथा थप विस्तारमा उत्खनन् गर्ने प्रयत्न गरौं ।

‘भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला’– कुरा त्यो कालखण्डको हो, जतिबेला मानिस समयसँग परिचित त थियो तर उसको दिमागले घडी नामक यन्त्रको कल्पना गरेको थिएन । मान्छे सूर्य, उदाएको र अस्ताएको हेर्दै समयको अनुमान लगाउँथ्यो ।

धेरैपछि मात्र उसले सूर्यको गति र प्रकाशमा आधारित समय मापक प्रविधिको आविष्कार गर्‍यो । उक्त प्रविधिको प्रथम प्रयोग इजिप्टसियन सिभिसलाइजेसननमा भएको थियो । किन्तु सूर्य घडीमा बेलाबेलामा एउटा समस्या आइपर्थ्यो । अर्थात् जब आकाशमा बादल लाग्थ्यो, सूर्य घडी समयको रामकहानी सुनाउन असमर्थ हुन्थ्यो ।

सूर्य घडीपछि समय मापक प्रविधिको पुस्तान्तरण पानी घडीमा हुन पुग्यो । प्राचीन बेबिलोनियन र इजिप्टिसियनहरूले आजभन्दा ३४ सय वर्ष पहिले पानीको प्रयोगबाट समय निक्र्योल गर्ने जलघडी प्रचलनमा ल्याएको बुझिन आउँछ । त्यही आसपासमा चिनियाँहरूले समेत जल घडी प्रचलनमा ल्याएका थिए भन्ने भनाइ छ । कतैकतै बेबिलोनियन र इजिप्टसियनहरूले आजभन्दा ६ हजार वर्षअघिदेखि समय मापन गर्न थालेका थिए भन्ने पनि भेटिन्छ ।

पछि गएर युनानी गणितज्ञ तथा वैज्ञानिक आर्किमेडिजले हाइड्रोलिक घडीको आविष्कार गरे । जसमा एउटा भाँडोबाट अर्को भाँडोमा पानी जान लाग्ने समयलाई इन्डिकेटरद्वारा प्राप्त हुने सूचना मार्फत समयको प्रक्षेपण गरिन्थ्यो । जुन पानी घडीकै दोस्रो संस्करण थियो भन्दा हुन्छ । आजभन्दा दुई हजार वर्ष पहिले पानी घडीमा घण्टीको प्रयोग गर्न थालियो भन्ने कथन पनि छ ।

इ.सं.९०० सम्म पुग्दा इङ्ल्याण्ड निवासी ‘अलफ्रेड द ग्रेट’ले ‘क्यान्डल क्लक’ आविष्कार गर्न सफल भए । उक्त प्रविधिमा मैनबत्तीलाई समान दूरीमा निश्चित मार्किङ गरिएको हुन्थ्यो । र मैनबत्ती मार्किङ गरिएको उच्चतम स्थानबाट सबैभन्दा तल्लो अर्थात् बाह्रौं स्थानसम्म बल्दै आइपुग्न जुन अवधि लगाउँथ्यो त्यसैका आधारमा समय अनुमान गरिन्थ्यो ।

कालान्तरमा समय मापक प्रविधिको यात्रा त्यहाँबाट पनि अघि बढ्यो । सन् ९९६ मा पुग्दा वैज्ञानिकहरूले आधुनिक घडीको पुर्खालाई जन्म दिन सफल भए । आधुनिक घडी आविष्कारको श्रेय ‘पोप सिलिभेष्टर द्वितीय’लाई दिने गरिएको छ । पोप सिलिभेष्टर द्वितीयद्वारा आविष्कृत घडीमा घण्टावाला सुई मात्र थियो ।

सन् १३६० मा ‘हेनरी डेभिड’ले मेकानिकल वाचको आविष्कार गरे । सन् १५५६ मा डच नागरिक ‘क्रिश्चियन ह्वेजेन्स’ले ‘पेण्डुलम क्लक’को डिजाइन तयार पारे । साथै सन् १५७७ मा स्विट्जरल्याण्डको ‘जस बर्गी’ले घडीमा सेकेण्ड सुईहरू जोडे भन्ने भनाइ छ ।

किन्तु त्यतिबेलाका घडीहरू एकदमै ठूलो आकारका हुने भएकाले आम प्रचलनमा आउँदैनथे । घडीमा लगाइने पार्टपुर्जाहरू पनि निकै ठूला र महँगा हुन्थे । घडी लगाउनु आम मानिसको वशको कुरा थिएन । तसर्थ त्यस्ता घडीलाई कि त सार्वजनिक स्थानमा, कि भने सरकारी कार्यालयको माथिल्लो भागमा राखिन्थ्यो ।

घडीलाई आधुनिकीकरण गर्ने क्रममा जर्मन निवासी ‘पिटर हेनलिन’ले सानो आकारको वा बोक्न सकिने घडी बनाए । घडी आधुनिकीकरणको यात्रामा त्यो एउटा महत्वपूर्ण पाइला थियो । त्यसै कारण पिटर हेनलिनलाई ‘एड्भान्स वाच’को जनक भन्ने गरिन्छ ।

त्यसपछि घडीहरू राजा–महाराजा, धनी–साहुमहाजनको घरमा समेत सजिन थाले । हाल प्रचलनमा रहेको नाडी घडी आविष्कारको श्रेय चाहिं ‘अब्राहम लुइस ब्रेगुएट’लाई दिइएको छ । उनले त्यस प्रकारको घडीको डिजाइन सन् १८१० मा तयार गरेका थिए ।

घडीको स्तरोन्नति गर्ने र आम मानिसबीच सुगम पहुँच गराउने यात्रा त्यसपछि पनि रोकिएन । आधुनिक विश्वमा घडी भित्तोमा सजिने या नाडीमा पढिने वस्तु मात्र रहेन । प्रविधि विकासमा आएको अत्याधुनिकताले समयलाई मोबाइल, कम्प्युटर वा विविध इलेक्ट्रोनिक्स उपकरणहरूबाट समेत अवलोकन गर्न सकिने बनाइदिएको छ ।

घडी आज मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । वर्तमान मानिस घडीको टिक्टिक्सँगै सुत्छ, उठ्छ, दगुर्छ, मिहिनेत गर्छ । घडीको टिकटिक थामियोस् मात्र, सांसारिक गतिविधि अस्तव्यस्त हुन्छ ।

समयको महिमा यति व्यापक छ कि, वर्तमान मानिस धर्तीमा अवतरण गरेको सेकेण्ड, पला, मिनेट, दिनको हिसाब निकाल्दै जन्मदिन मनाउँछ । पुरानो साल मरेको, नयाँ साल जन्मेकोमा ‘सेलिब्रेसन’ गर्छ ।

मान्छे अरूको मृत्युमा दुःखी हुन्छ । शत्रु नै किन नमरोस् समवेदना प्रकट गर्छ । तर जब पुरानो साल मर्छ, नयाँ साल जन्मिन्छ; ऊ आतिसबाजी गर्छ । उत्सव मनाउँछ । सेलिब्रेट गर्छ । केही हप्ताअघि मात्र विश्वले सन् २०२३ मरेको अनि २०२४ जन्मेकोमा उत्सव मनाएको थियो ।

मानिसले पुरानो साल मरेको र नयाँ साल जन्मेको पहिलो उत्सव चार हजार वर्षअघि मनाएको तथ्य फेलापरेको छ । प्राचीन बेबिलोनियामा चार हजार वर्ष पहिले त्यस्तो उत्सव मनाइएको थियो । कतिपयले चाहिं नयाँ वर्ष सेलिब्रेसनको इतिहास तीन हजार वर्ष पुरानो भएको र ‘साङ्ग डाइनेष्टी’कालीन चीनमा प्रथम उत्सव मनाइएको दावी गरेका छन् ।

कहिल्यै पछाडि नफर्किनु, निश्चित आवृत्तिमा फन्को मारिरहनु समयका विशेषता हुन् । माानिसले समयलाई विभाजन गर्दै ६० सेकेण्डको १ मिनेट । ६० मिनेटको १ घण्टा । २४ घण्टाको १ दिन । ३६५ दिनको १ वर्ष हुने मान्यता बनाएको छ । समयलाई इसा अगाडि र इसापछाडि । बिक्रमअगाडि र बिक्रमपछाडि । प्राग्ऐतिहासिक र ऐतिहासिक इत्यादि आधारमा विभाजन गर्ने गरिएको छ ।

हामी पला, सेकेन्ड, मिनेट, बार, तिथि, मिति पहिचान गर्दै नवजात शिशुको जन्मकुण्डली तयार गर्न लगाउँछौं । मृतकहरूको श्राद्ध, पुण्य कर्महरू गर्छौं । तीज, दशैं, तिहार, छठ, ल्होसार, रमजान, क्रिसमस आदि चाडबाड मनाउँछौं ।

मौसमविद्हरू मैसमी तथ्यहरू एकत्रित गर्दै हिउँदमा कति जाडो हुने ? बर्खामा कति पानी पर्ने ? प्रक्षेपण गर्दछन् । कृषिविद् मौसमी तथ्याङ्कमा निर्भर भई भविष्यमा सहकाल आउने या अनिकाल छाउने उद्घोष गर्छन् ।

आम मानिसको जीवनपद्धतिमाथि बलियो प्रभाव जमाउन सफल समयलाई आइन्स्टाइन भने ‘इलुजन’ मान्थे । उता आइन्स्टाइनका जातभाइ न्युटन चाहिं समयलाई शाश्वत ठान्थे । सम्पूर्ण ब्रह्माण्डमा समयको चाल एकै हुन्छ भन्थे ।

समय र त्यसको स्वभावलाई परिभाषित गर्ने सबालमा अल्बर्ट आइन्स्टाइन र सर आइज्याक न्युटनबीच मतान्तर रह्यो । आइन्स्टाइन समयको गति स्थान अनुसार फरक हुन्छ, अर्थात् ‘समयसापेक्ष हुन्छ’ भन्ने मान्यता राख्थे । ब्ल्याकहोलको एक वर्ष पृथ्वीको असी वर्ष हुने तथ्यले आइन्स्टाइनको मान्यता यथार्थमा आधारित भएको पुष्टि हुन्छ ।

समयको कथा यति बृहत् छ कि, हजार–पन्ध्र सय शब्दमा समयको आदि–अन्त्य वाचन गरें भन्नु धृष्टता ठहरिनेछ । समयको प्रवाह सधैं फरवार्ड डाइरेक्सन (उध्र्वगामी दिशा)मा बहन्छ । समयको फेबिकलले भूतलाई वर्तमानसँग र वर्तमानलाई भविष्यसँग जोड्छ । ब्रह्माण्ड र समयको उत्पत्ति चौध अर्ब वर्षअघि एकैसाथ भएको हो ।

अबको आठ अर्ब वर्षपछि ब्रह्माण्डसँगै समयको पनि इहलीला समाप्त हुनेछ ! र उक्त महा–प्रलय खुम्चिने र फैलिने दुई विपरीत ब्रह्माण्डीय शक्तिबीचको संघर्षका कारण हुनेछ । अर्थात् कुनै दिन तान्ने (गुरुत्वाकर्षण) र फैलिने दुई विपरीत ब्रह्माण्डीय दैत्यबीचको संघर्ष चरमोत्कर्षमा पुग्नेछ ।

दुईबीचको चरमसंघर्षकै परिणामस्वरूप ब्रह्माण्ड र समयको मृत्यु हुनेछ । ब्रह्माण्ड र समयको सम्भावित मृत्युलाई वैज्ञानिकहरूले ‘विग क्रन्च’, ‘विग फ्रिज’ इत्यादि नाम जुराएका छन् ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?