+
+

ऊ कहिल्यै घर फर्किएन…

कृष्णमणि पराजुली कृष्णमणि पराजुली
२०८० फागुन १४ गते ८:०६

कमल सरले निकै राम्रो सपना देखेछन् । खुसीको सीमा छैन उनको । किनभने उनको छोरो अरुणले युद्ध जितेछ । त्यही खबर सुनाउन छोरो अरुण घर फर्किएको छ र कमल सरलाई भन्छ, ‘बा हामीले युद्ध जित्यौं । त्यसैले आज म खुसीको समाचार सुनाउन घर फर्किआएको छु ।’

कमल सर निद्रामा छन् । एकदम खुसी छन् । सपना हुँदै होइन जस्तो लाग्छ । उनी ढुक्क भए छोराको कुरो सुनेर । खुसीले गद्गद् भएको छ कमल सरको मन । तीन वर्षसम्म अज्ञात अवस्थामा रहेको छोरो आज अनायास घर र्फकंदा कति खुसी कति कमल सर । खुसीले मनै थाम्न सकेनन् । एक्कासी अँगालो हाल्न पुग्छन् । बाबु-छोरा दुवै हषिर्त हुन्छन् ।

तीन वर्षसम्म छोरो अरुण कहाँ छ अत्तोपत्तो थिएन कमल सरलाई । उनले छोरोलाई युद्ध लड्न पठाएका थिएनन् । पठाएका थिए त कलेज पढ्न । अरुण भने आफ्नो पढाइ छोडेर युद्धमा होमिएको थियो ।

विचरा कमल सरलाई के थाहा ? छोरो अरुण पढाइ छोडेर युद्धमा प्रवेश गरेको कुरो । कमल सरलाई सपना जस्तो पटक्कै लागेको थिएन । तीन वर्षसम्म लापत्ता भएको छोरो घर फर्किंदा निकै नै खुसी भएका थिए कमल सर ।

कमल सरको त्यो खुसी धेरैबेर टिक्न सकेन । सपना हो कि भनेर कमल सरले आफैं माथि शंंका गरे । सपना हो भन्ने कुरामा विश्वासै लागेन कमल सरलाई । विश्वास दिलाउन आफ्नै हातलाई चिमोटे । चिमोटेको दुखाइको अनुभव गरे । ओल्टे-कोल्टे गरे । सपनाको अनभूति हुँदै भएन । विश्वास गरे निश्चय नै युद्ध जितेर घर फर्किएको हो छोरो अरुण भनेर ।

केही समय कमल सर अत्तालिए । उनी निद्राको तन्द्रामा नै थिए । सपना विपना के हो ठम्याउन सकेनन् । उनी विश्वस्त थिए । त्यो सपना हुनै सक्तैन । किनभने उनले धेरै परीक्षण गरे सपना विपना छुट्याउन ।

तर अनायास दिमाग खल्बलियो । शरीर पसिना-पसिना भयो । मुख सुक्न थाल्यो । भर्खर बा भनेर बोलाउने छोरो एकैछिनमा कता गयो कता । चारैतिर आँखा लगाए कतै देखेनन् । केही सोचमग्न पछि थाहा पाए त्यो त सपना मात्र रहेछ । अनि उनमा बेचैनी सुरु भयो । मन अत्तालिन थाल्यो । आफूलाई नियन्त्रण गर्न सकेनन् । अनि उनमा आउन थाल्यो पागलपन ।

सपनाले उनलाई निकै खुसी बनायो । विपनाले भने आलो घाउमा नुनचुक छर्के जस्तो बनायो कमल सरलाई । युद्धमा छोरो मरेको ३ वर्ष भइसकेको थियो । यो तीन वर्ष उनको लागि सधैं अँध्यारो मात्र भयो । कहिल्यै पनि उज्यालो भएन उनलाई ।

सधैं एकोहोरो भइरहने कमल सरलाई यो सपनाले झनै एकोहोरो बनायो । सपना आफ्नै थियो, विपना पनि आफ्नै थियो । न त सपनाले कमल सरलाई खुसी पार्न सक्यो न त विपनाले । कमल सरलाई दिन पनि रात भयो । सधैं अन्धकार मात्र । विपना त यसै आफ्नो थिएन, सपना पनि आफ्नो भएन कमल सरको ।

छोरो गोली लागेर मर्‍यो भन्ने समाचार उनले पहिले नै थाहा पाइसकेका थिए । तर, उनलाई विश्वास भएन । ‘मेरो छोरो मरेको छैन । ऊ कहिल्यै मर्दै मर्दैन । किनभने बाउ नमरी कसरी छोरो मर्छ ? म बाँचिरहेको छु’ भन्दै आजभोलि गाउँ-गाउँ कराउँदै हिंडिरहेका छन् कमल सर । विक्षिप्त भएका उनी झनै बहुलट्ठी भएका छन् ।

गणतन्त्रको लागि युद्धमा गएको छोरो उतै हरायो । यता कमल सर बौलाएर भौंतारिंदै हिंडिरहे । कमल सरलाई कहिले पनि गणतन्त्र आउन सकेन । अहिले छोरोको खोजीमा गल्ली-गल्ली कराउँदै हिंडिरहेका छन् कमल सर- खै मेरो छोरो भन्दै । छोरो कहिल्यै भेट्न सकेनन् । कलकलाउँदो छोरो अरुण कहिल्यै घर फर्किएन ।

(लेखक नेपाल सरकारका सेवानिवृत्त उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?