+
+

एआई चिपमेकर एनभिडिया बन्यो विश्वकै चौथो मूल्यवान कम्पनी, गुगल र अमेजन पछि परे

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १४:५१

अमेरिकी चिपमेकर कम्पनी एनभिडियाको बजार पुँजीकरण २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको छ ।

योसँगै एनभिडिया २ ट्रिलियन डलर बजार मूल्य भएको विश्वकै पहिलो चिपमेकर कम्पनी मात्र बनेको छैन माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि विश्वको सबैभन्दा मूल्यवान कम्पनीको चौथो स्थानमा उक्लिएको छ ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र लोकप्रियतासँगै सिलिकन भ्यालीस्थित एआई चिपमेकर एनभिडियाको कारोबार र शेयर मूल्यमा तीव्र बढोत्तरी भएको छ ।
शुक्रबार कम्पनीको शेयर मूल्यमा करिब ४ प्रतिशतले वृद्धि भएर कुल बजार पुँजीकरण २० खर्ब डलर पुगेको थियो ।

त्यसअघि बिहीबार कम्पनीको शेयर मूल्यमा १६ प्रतिशतले वृद्धि भएर ७८५ डलर पुगेको थियो र कुल पुँजीकरण १.९४ ट्रिलियन डलर पुगेको थियो ।

त्यस्तै गतहप्ता मात्रै एनभिडियाले बजार मूल्यमा अमेरिकी कम्पनी अमेजन र गुगलको मातृ कम्पनी अल्फाबेटलाई पछि पार्दै अमेरिकाको तेस्रो मूल्यवान कम्पनी बनेको थियो ।

कम्पनीले बुधबार जारी गरेको चौथो त्रैमासिकको वित्तिय प्रतिवेदनमा गत वर्षभन्दा २७० प्रतिशतको वृद्धि भएर २२ अर्ब डलर आम्दानी गरेको तथ्य सार्वजनिक भएसँगै शेयर मूल्यमा लगातार बढोत्तरी भैरहेको छ ।

एनभिडिया कम्पनीका संस्थापक तथा सीईओ जेन्सेन हुआंगले भनेका छन्, ‘जेनेरेटिभ एआई तथा तीव्र गतिको कम्प्युटिंग चरम विन्दुमा छ । विश्वभरका कम्पनी, उद्योग तथा मुलुकहरुमा यसको माग बढिरहेको छ ।

चिपमेकर एनभिडियाको ३० हजार डलर पर्ने एच१०० चिपको सबैभन्दा ठूला ग्राहक माइक्रोसफ्ट तथा मेटा हुन् । सन् २०२३ मा यी कम्पनीले कुल ९ अर्ब डलरको उक्त चिप खरीद गरेका थिए । त्यस्ता अल्फाबेट, अमेजन र ओरेकलले पनि गत वर्ष ठूलो परिमाणमा एनभिडियाका चिप खरिद गरेका छन् ।

यो वर्ष सन् २०२४ को सुरुवातदेखि हालसम्म एनभिडियाको शेयर मूल्यमा ४० प्रतिशतको वृद्धि भैसकेको छ भने गतवर्षको यहीँ अवधिको तुलनामा २ सय प्रतिशतले बढेको छ ।

गत वर्षको यही अवधिमा एनभिडियाको बजार पुँजीकरण १ ट्रिलियन डलरभन्दा पनि कम थियो । गत वर्ष २४० डलर शेयर मूल्य रहेको एनभिडियाको प्रतिशेयर मूल्य अहिले करिब ८ सय डलर पुगेको छ ।

सन् १९९३ मा स्थापना भएको एनभिडिया कम्पनी सुरुवातमा खासगरी कम्प्युटर गेमिंगका लागि आवश्यक ग्राफिक्स प्रोसेस गर्ने कम्प्युटर चिपहरु उत्पादनका लागि चर्चित थियो ।

एआई क्रान्ति आउनुभन्दा धेरै अगाडि नै कम्पनीले आफ्ना चिपमा मेसिन लर्निङ फिचर थप गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?