+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

जनमत पार्टीले घोषणा गर्‍यो दोस्रो गणतन्त्र आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:२८

१३ फागुन, काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ ।

जनमतले राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार र अर्कमण्यताले देश असफल बन्ने ठाउँमा पुगेको भन्दै  आन्दोलन आह्वान गरेको छ । शीर्ष नेताहरूको संलगन्नतामा बालुवाटार काण्ड, भूटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर हुदै आए पनि छानबिन र कारवाही नभएको उल्लेख छ ।

‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ । जहिले पनि कुर्सीको लडाइ छ’, जनमतले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेको उद्योगधन्धाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदै छन् ।’

जनमत पार्टीले आठ लाखभन्दा बढी युवाहरू बर्षेनी विदेशिन बाध्य भए पनि रोजगारी दिनुको सट्टा वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको आरोप लगाएको छ ।

चारैतिर निषेधित क्षेत्र घोषणा गरेर, अभिव्यक्ति स्वतन्त्रता हरण गरेर लोकतन्त्रको हत्या गर्ने काम सरकारले गरिरहेको जनमत पार्टीको आरोप छ ।

तरकारी र खाद्यान्नमा समेत भ्याट लगाएर सरकारले जनताबाट चर्को कर तथा राजस्व उठाइरहेको, तर भ्रष्टाचारको कारणले प्रहरी र कर्मचारीलाई तलब समेत खुवाउन असमर्थ रहेको जनमतको भनाइ छ ।

‘देशको अर्थतन्त्र धराशायी छ । अब देशको विकासको लागि जनता नउठे यो देशको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ’, जनमतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?