+
+

बैंक तथा वित्तीय संस्था फेल हुने सम्भावना छैन : गभर्नर

सही हिसाबले काम गर्दै गए संस्था ढल्न दिँदैनौं । अहिलेको सिनारियोमा बैंक तथा वित्तीय संस्था फेल हुने अवस्था छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १६:०६

१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्था ‘फेल’ हुने सम्भावना नरहेको बताएका छन् ।

बैंक ‘फेल’ गराउन केही समूह लागेकोतर्फ इंगित गर्दै गभर्नर अधिकारीले ‘कुनै बैंकको पछि लागेर फेल गराउँदा सफल नै भइन्छ कि भनेर लागेको जस्तो देखिएको’ उनले बताए ।

कुनै संस्था बिग्रिँदा खुसी हुन खोजेको जस्तो देखिएको उनको भनाइ छ ।

‘केही बैंकले पनि त्यस्तो सोचेको हो कि जस्तो देखिन्छ । बैंक फेल हुनसक्छ,’ नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘कैयौँ देशमा भएको छ, तर त्यहाँको लिक्विडेसन प्रोसेस र बीमा अलि फरक छ ।’

अधिकारीले हाल मुलुकको वित्तीय प्रणाली र नीति धेरै हदसम्म राम्रो रहेको बताए ।

‘सही हिसाबले काम गर्दै गए बैंक तथा वित्तीय संस्था ढल्न दिँदैनौं । बैंकहरु नोक्सानी भएर पूँजी धेरै तल गयो भने ढल्न सक्छ । अहिले बैक वित्तीय संस्था फेल हुने अवस्था छैन,’ उनले भने, ‘सानोतिनो संस्था ‘फेल’ नै भयो भने पनि त्यसलाई व्यवस्थापन गर्ने मेकानिज्म छ। बचतकर्ताको बचत संरक्षित गर्ने उपाय छ । बचतकर्ताको रकम संरक्षित गर्ने राष्ट्र बैकको प्राथमिकता रहन्छ ।’

अर्थतन्त्रमा केही सुस्तता र चालु पूँजी कर्जामा गरेको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा रिकभरीमा केही दबाब परेको उनको भनाइ छ ।

‘निष्क्रिय कर्जा साढे ३ प्रतिशत पुगेपनि खुद निष्क्रिय कर्जा १.१३ प्रतिशत मात्रै छ । बैकिङ क्षेत्रले प्रशस्त कर्जा नोकसानी व्यवस्था गेका छन्,’ उनले भने, ‘केही समय लाभांश नलिनुस्, बैकिङ क्षेत्र स्वस्थ रहनुपर्छ भनेर प्रोभिजनलाई अलि बढी नै प्रुडेन्ट बनाइएको छ ।

गभर्नर अधिकारीले नेपाली समाज र माहोल बैकिङ बुझ्ने नै नभएको बताए ।

‘अधिकांशले बैंकलाई मिटरब्याजी, सामन्ती भनिरहुनभएको छ । तथ्यांक हेर्दा त्यो पाउँदिन,’ उनले भने, ‘म गभर्नर हुँदा ३० खर्बको पोर्टफोलियो र ७० अर्ब नाफा थियो । अहिले ५० खर्ब पुग्दा पनि नाफा बढेको छैन ।’

विश्व अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको र नेपालको अर्थतन्त्र पनि विस्तारका लागि वाह्य क्षेत्रमा ‘स्ट्रेन्थ’ बनेको बताए ।

‘सन् २०२२ मा विश्वभरि नै मुद्रास्फीति धेरै माथि गएको थियो भने आर्थिक वृद्धिदर घटेको थियो,’ उनले भने, ‘२०२३ मा सुधार हुँदै गयो । मुद्रास्फीति घट्दै गएको छ । अर्थतन्त्र विस्तार हुँदै गएको छ । २०२४ मा थप सुधार हुने क्रममा छ ।’

नेपालको अर्थतन्त्र पनि राम्रो देखिएको तर केही कारणहरुले गर्दा तयसलाई महसुस गर्न नसकिएको बताए ।

‘धेरैको कुरा आर्थिक शिथिलता भयो, माग घट्यो भन्ने छ,’ गभर्नर अधिकारीले भने, ‘केही अगाडि ओभर फाइनान्सिङ भयो, लिभरेजिङ बढी भयो भनेकै हो । यसको दोष कसलाई दिने ? म आफैं लिन्छु । हाम्रो ऋणीहरुले क्षमताभन्दा बढी ऋण लिएकै हो । बैंकहरुले पनि ऋणीको क्षमताभन्दा बढी ऋण दिएकै हो । सबै बैंकको सीईओहरू यहाँ हुनुहुन्छ । त्यसलाई आफैं मनन् गर्नुस् ।’

मागमा संकुचन आए स्थिर सम्पत्तिमा लगानी गरेको ठूला व्यवसायीलाई समस्या भएको उनले स्वीकार गरे । तर, कर्जा मागमा कमी आउनुमा ठूला उद्योगले क्षमता अनुसार माग नहुनु नै रहेको उनले बताए ।

‘ठूला उद्योगमा माग घटेर ३०/४० प्रतिशतमा आएको छ । माघ घट्दा उनीहरुलाई चाहिन चालुपूँजी कर्जा पनि घटेको छ,’ उनले भने, ‘कर्जा नै नचाहिने भएपछि व्यवसायीले किन ऋणको ब्याज तिरेर बस्छ ? अर्थतन्त्र विस्तार भएर माग बढ्दा अहिले ३०/४० प्रतिशतमा सीमित रहेको चालुपूँजीको माग पनि बढ्ने र कर्जा विस्तार हुन्छ ।’

‘सहकारी समस्याले कर्जा रिकभरी प्रभावित भयो’

गभर्नर अधिकारीका अनुसार माग घट्नु सहकारीसँग सम्बन्धित चुनौती पनि रहेको बताए ।

‘अर्थतन्त्रमा सहकारी र अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो छ । धेरै सटर सहकारीबाट फाइनान्स भएका छन्,’ उनले भने, ‘उनीहरू सानो ऋण र सानो बचत त्यहीँ गर्छन् । सानोतिनो बैंकसँगको कारोबारको सेटलमेन्ट सहकारीसँग मिलेर गरेको हो । सहकारीमा समस्या आउँदा बैकहरूको रिपेमेन्टमा समस्या भएको हो ।’

सहकारीको समस्या समाधान गर्न ठूलो समस्या नरहेको गभर्नर अधिकारीले बताए ।

‘१० प्रतिशत साना बचतकर्ताको समस्या समाधान गर्ने हो भने ठूला बचतकर्ता आफैं चुप लाग्ने अवस्था आउँछ,’ उनले भने, ‘सहकारी व्यवस्थित भएपछि अर्थन्त्रको अहिलेको समस्या केही हदसम्म समाधान भएर जान्छ ।’

निर्माणमा निजी क्षेत्रको पनि साह्रै न्यून र सरकारको पनि ठूला पूर्वाधार कम नै भएकोले पनि अहिले निमार्ण क्षेत्रका उद्योगमा समस्या रहेको बताए ।

‘निमार्ण गतिविधिलाई अलि बढाउन सके सिमेन्ट, डन्डी लगायत ठूला उद्योगको माग बढेर जान्छ,’ उनले भने, ‘निमार्ण क्षेत्रको गतिविधि बढ्दा अर्थतन्त्रमा माग र कर्जा विस्तार दुवै हुन्छ ।’

सहकारीको समस्या र विभिनन कारणले मागमा आएको कमीले नै अर्थतन्त्रको वास्तविकता र आमनागरिकले गर्ने महसुसमा फरक परेको उनले दाबी गरे ।

‘बैंकिङ क्षेत्रको वास्तविक अवस्था बाहिर आयो’

अहिले निष्क्रिय कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविक चित्र बाहिर आएको दाबी गरे ।

‘अर्थतन्त्रमा आएको शिथिलताले कर्जा रिकभरीमा केही दबाब परेको र सहकारीको समस्याले पनि केही समस्या परेको छ,’ उनले भने, ‘त्यसभन्दा पनि अहिले बैंकिङ क्षेत्रको वास्तविक चित्र बाहिर ल्याएको हो । चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन नआउँदा कुनै न बकुनै माध्यमबाट कर्जाको एभरग्रिनिङको अवसर थियो । अहिले एभरग्रिनिङ हुन नसक्दा निष्क्रिय कर्जा बढेको देखिएको हो ।’

चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन आएपनि कर्जाको लिमिट बढाएर ब्याज तिर्ने वातावरण नभएको र वर्षमा कुनै एक समयमा कर्जा तिर्नैपर्ने व्यवस्थाले कर्जा एभरग्रिनिङ हुन रोकिएको उनको दाबी छ ।

जसले गर्दा कर्जामा सीमा बढाएर कर्जा तिर्न रोकिएपछि बैंकिङ क्षेत्रको वास्तविक अवस्था बाहिर आएको उनले दाबी गरे ।
‘सुधार गर्दा केही समय दबाब हुनु स्वाभाविक हो । त्यसलाई स्वीकार गरेर अगाडि जानुपर्छ ।’

राष्ट्र बैंकले सीडी रेसियो कार्यान्वनमा जाँदा पत्रकार प्रयोग गरेर बैंकहरुले समाचार लेखाएको बताउँदै उक्त व्यवस्था पनि अहिले सही सावित भएको उनले दाबी गरे ।

‘उच्च कर्जा विस्तार भइरहँदा कर्जा नियन्त्रण गर्न सीडी रेसियो ल्याएका थियौं । त्यो अहिले सही सावित भयो,’ उनले एनआईसी एसिया बैंकको नाम लिँदै भने, ‘सीडी रेसियो ९५ प्रतिशत भएको भए अहिले तरलताको लागि हारगुहार गर्नुपर्ने थियो । यति ठूलो निक्षेप जाँदा पनि समस्या भएन । जुन सीडी रेसियोको कारण भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?