+
+

पोखरामा ५ तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १३:३०

१५ फागुन, पोखरा । पोखरा महानगरपालिकाले ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट र अग्निसूचक राख्नैपर्ने नियम बनाएको छ ।

महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० मा पहिलो पटक ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट राख्नैपर्ने व्यवस्था गरिएको हो ।

‘१७ मिटरभन्दा बढी उचाइ या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ’, मापदण्डमा उल्लेख छ ।

महानगरको घरनक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार पाँच तल्ला  भन्दा अग्ला सबै प्रकारका भवन र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, होटल, रिसोर्ट आदि भवन निर्माण गर्दा माटो परीक्षण गरेर संरचनात्मक योजना प्रतिवेदन पेश गर्नुपर्छ ।

नयाँ मापदण्डले ३ हजार वर्ग फिटभन्दा धेरै पिँधको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । भवन बनाउने स्थानको भौगर्भिक परीक्षण लगायतका प्राविधिक पक्षको विस्तृत अध्ययन गरी प्राविधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृति लिएर मात्रै भवन निर्माण गर्नुपर्नेसमेत नियम बनाएको छ ।

नयाँ मापदण्ड अनुसार भवनको वरपर पर्खाल बनाउँदा पनि संरचनात्मक योजना पेश गर्नुपर्नेछ । तर, यो मापदण्ड ४ फिटभन्दा अग्ला पर्खालको हकमा मात्रै लागू हुनेछ ।

‘सीमा पर्खाल निर्माण गर्दा पर्खालको उचाइ बढीमा ४ फिट अग्लो गारो र त्योभन्दा माथि जाली राख्नुपर्नेछ’, मापदण्डमा भनिएको छ, ‘उपयोगिताको आधारमा ४ फिट भन्दा अग्लो पर्खाल लगाउनु परेमा संरचनात्मक योजना अनिवार्य हुनेछ ।’

फराकिलो जग्गामा अग्लो घर

महानगरले यसअघि उचाइका आधारमा भवन निर्माणको स्वीकृति दिँदै आएको थियो । तर, हालै जारी भएको नयाँ मापदण्डले उचाइलाई भन्दा बढी जमिनको आकारलाई महत्व दिएको छ । अर्थात् अब जसको धेरै फराकिलो जग्गा हुन्छ, उसले अग्लो घर बनाउन स्वीकृति पाउनेछ ।

अब पोखरामा बन्ने भवन ठाउँ, भवनको किसिम र तुलनात्मक जग्गाको क्षेत्रफलको अनुपात (फार) अनुसार फरकफरक हुनेछ । ‘यसले गर्दा मापदण्ड पुग्यो भने जसको जग्गा बढी छ, उसले नियमानुसार अग्लो घर बनाउन पाउनेछ’, इन्जिनियर पौडेलले भने ।

व्यापारिक र आवासीय भवनको अधिकतम ग्राउन्ड कभरेज (जमिनमा भवनले ओगटेको क्षेत्रफल) ७० प्रतिशत र भुँइ क्षेत्रको अनुपात ३.५ हुनुपर्ने मापदण्डमा तोकिएको छ ।

संयुक्त आवास भवन, अपार्टमेन्ट र होटलको अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत तोक्दा भुँइ क्षेत्रको अनुपात ४.० हुनुपर्ने उल्लेख छ । सुपरमार्केटका हकमा ग्राउण्ड कभरेज ५० प्रतिशत र भुँइ क्षेत्रको अनुपात ३.० हुनुपर्ने मापदण्डले तोकेको छ ।

शैक्षिक संस्था, अस्पताल नर्सिङ होम, पोलिक्लिनक लगायतको भवन निर्माण गर्दा अधिकतम ग्राउण्ड कभरेज ५० प्रतिशत र भुँइ क्षेत्रको अनुपात २.५ मापदण्डले व्यवस्था गरेको छ । गैरआवासीय पाँच तला भन्दा अग्ला भवनसंग जोडिने मुख्य बाटोको चौडाइ ६ मिटरभन्दा कम हुन नहुने उल्लेख छ ।

महानगरले ल्याएको मापदण्डमा पोखराका फेवातालसहित ९ वटा ताल र खोला नालाको पनि मापदण्ड तोकिएको छ । जसमा फेवातालको ६५ मिटर र सेती नदीको ३० मिटर कायम गरिएको छ ।

मापदण्डले बेगनास ताल र रुपा ताल १ सय मिटर र अन्य तालको ५० मिटर मापदण्ड कायम गरेको छ । तर, कास्कीकोटको ठूलीपोखरी, कमलपोखरी, खुँडे पोखरीसहितका साना पोखरीलाई भने जम्मा ६ मिटर मापदण्ड तय गरेको छ ।

महानगरले पोखरालाई वातावरणमैत्री बनाउने भन्दै ऊर्जा प्रभावकारी मापदण्ड पनि ल्याएको छ ।

महानगरको भवन तथा पूर्वाधार मापदण्डको परिच्छेद ५ मा ऊर्जा प्रभावकारिताबारे उल्लेख छ । उक्त मापदण्डअनुसार अब बन्ने पोखराका भौतिक संरचना भूगोलको उचाइअनुसार फरकमात्रै हुने छैनन्, वातावरणमैत्री झ्याल, ढोका पनि राख्नुपर्नेछ ।

महानगरले पहिलोपटक पोखरामा वडाअनुसार सडक, पेट्रोल पम्प र विमानस्थलसँग सम्बन्धित मापदण्ड पनि जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?