+
+

६५ लाख तिरेर अवैध बाटो अमेरिका गएका बसन्त उतै अस्ताए

 परिवारलाई ९० लाखको ऋणको भारी

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० फागुन १८ गते १८:०५

१८ फागुन, काठमाडौं । गाउँमा चलेको अमेरिका जाने लहरले रोक्न सकेन, रुकुम पूर्व सिस्ने गाउँपालिका ३ पोखराका ३२ वर्षिय बसन्त शर्मालाई । घरमा मुना जस्तै दुई छोरी र श्रीमती छोडेर गाउँकै युवाहरु जस्तै उनले पनि अमेरिका जान ‘तल्लो बाटो’ रोजे ।

अमेरिका जाने सपना पछ्याउँदै ०७८ चैतमा घरबाट निस्किए । अमेरिका पठाइरहेका रुकुमका पूर्णबहादुरलाई ६५ लाख बुझाएर अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा तय गरे ।

मानव तस्करै आडमा उनी दुबईदेखि विभिन्न रुट भएर कोलम्बिया–पानामा–मेक्सिको हुँदै आठ महिना लगाएर अमेरिका पुगे । घरबाट निस्किएको आठ महिनापछि २०७९ मंसिरमा उनले अमेरिकामा पाइला टेकेका थिए ।

उनै बसन्तको अमेरिका पुगेको एक वर्षपछि हिजो बिहीवार न्यूयोर्कको मोनमाउथ मेडिकल सेन्टर अस्पतालमा निधन भयो । क्षय रोगबाट सिकिस्त भएका उनलाई अमेरिकाको अस्पतालले पनि बचाउन सकेन ।

अमेरिका जानुअघि गाउँमै ज्याला मजदुरी गर्थे, बसन्त । ८ वर्षअघिमात्र उनी साउदीमा तीन वर्ष बिताएर फर्किएका थिए । बेलाबखत भारत पनि जाउआउ गरिरहन्थे । ज्याला मजदुरी गर्दा पनि नचलेपछि अभावमै गुज्रिरहेको थियो उनको जीवन ।

गाउँमा भने अमेरिका जाने लहर थियो । घरैपिच्छे, एकपछि अर्काे गर्दै गाउँका युवाहरु दलाललाई मोटो रकम बुझाएर अवैधबाटोबाट अमेरिका हिँडिरहेका थिए । अमेरिकाको रंगिन सपनाले बसन्तलाई पनि तान्यो । ‘गाउँमा बसेर केही सीप नलागेपछि अमेरिका जान्छु भनेर उनी (बसन्त) म कहाँ आए’ बसन्तका साढु दाइ फरेन्द्र आचार्यले भने, ‘गाउँका मान्छे अमेरिका हिँडिरहेका थिए, उनले पैसा खोजिदिन आग्रह गर्न थाले ।’

अमेरिका जान दलाललाई ६५ लाख बुझाउनुपथ्र्याे । आर्थिक अवस्था कमजोर भएकाले बसन्तले पैसा जुटाउन सम्भव थिएन । तर गाउँमा भने अमेरिका जान भनेपछि जो कोही पनि चर्काे ब्याजमा ऋण दिन तयार हुन्थे । बसन्तलाई अमेरिका जान चाहिने पैसा खोजिदिने चाँजोपाँचो फरेन्द्रले मिलाइ दिएका थिए । सयकडा चार प्रतिशत ब्याजदरमा गाउँ ठाउँ र आफन्तबाट गरी ६५ लाख रुपैयाँ ऋण खोजिदिएका थिए ।
०७८ मंसिरको २९ मा मेक्सिकोको बोर्डरबाट अमेरिका छिरेका उनलाई अध्यागमनले पक्राउ गरी डिटेन्सन क्याम्पमा राख्यो । १५ दिन डिटेन्सन क्याम्पमा बसेपछि वर्क प्रमिसन पाएर उनी बाहिर निस्किएका थिए ।

उनको स्वास्थ्य भने पहिले जस्तो थिएन । घरमा ठिकठाकै रहेका उनको स्वास्थ्यमा अमेरिका पुगे लगतैसमस्या देखिन थाल्यो । परिवारसँग नियमित सम्पर्कमै रहेका उनले अस्वस्थ भएको परिवारलाई सुनाएका थिए । ‘फोनमा कुरा हुँदा बोल्नै नसक्ने गरी उनी खोकीरहेका हुन्थे’ फरेन्द्रले भने, ‘हामीले पनि अस्पताल जान भनेर सम्झाइ रहन्थ्यौैं ।’

कानुनी कागजात नभएकाले उनले अस्पतालमा उपचार गर्न पाएनन् । उनको जिम्मा लिएर उपचार गरिदिन पनि कोही तयार भएनन् । ‘समयमै उपचार पाएको भए उनी बाँच्ने थिए कि ?’ साढ दाइ फरेन्द्र भन्छन्, ‘परदेशमा उपचार गरिदिने कोही नहुँदा उनको अकालमै ज्यान गयो ।’

अस्वथ्य हुँदा पनि उनी काम गरिरहन्थे । उनको विगँ्रदो स्वास्थ्य अवस्था थाहा पाएर आत्तिएका परिवारले उपचार गराउन भनिरहन्थे । ‘पहिला आफ्नो उपचार गराउ, आराम गर भनेर फोनमा भनिरन्थ्यौं’ उनले भने, ‘घरको ऋण सम्झेर उनी परिवारलाई नभनी काममा जाँदा रहेछन् । यो कुरा पछि मात्र थाहा भयो ।’

गत मंसिर ११ गते एक्कासी बेहोस भएर उनी ढले । अमेरिकामा भएका साथीभाइले उनलाई अस्पताल लगे । अस्पाल पुर्‍याउँदा थाहा भयो, उनी क्षयरोगबाट ग्रसित रहेछन् । समयमै उपचार नपाएकाले उनको अवस्था अत्यन्त गम्भीर रहेछ ।

तीन महिना यता बसन्त न्युयोर्कस्थित ‘मोनमाउथ मेडिकल सेन्टर’ मा उपचाररत थिए । गत बुधवार अमेरिकाको अस्पतालबाट श्रीमती शर्मिला शर्मालाई फोन आयो । ‘धेरै प्रयास गर्दा पनि तिम्रो श्रीमान्लाई बचाउन सकेनौं’, हिन्दी भाषामा एक जना डाक्टर बोले ।

परिवारलाई ९० लाख ऋणको भारी

बसन्तका घरमा श्रीमती सहित, ९ र १३ वर्षकी छोरी छन् । आमा र दुई भाइ छन् ।

बसन्त वितेको खबरले परिवार विक्षप्त छ । श्रीमान् बितेको खबरले श्रीमती शर्मिला अर्धमुर्छित छिन् । परदेशमा छोरा वितेको खबरले आमाले आफूलाई सम्हाल्न सकेकी छैनन् ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का वडाध्यक्ष हेरम खड्काले बसन्तको मृत्युको खबरले परिवारसँगै गाउँ नै शोकमा डुबेको बताए । उनले आफ्नो वडाबाट २५० युवाहरु ‘तल्लो बाटो’बाट अमेरिका गए पनि यो पहिलो घटना भएको बताए ।

बसन्तको परिवार उनको मृत्युको खबरले पीडामा छँदैछ । त्यसमाथि उनलाई पठाउँदा लागेको ऋणको भारी परिवारमाथि आइपरेको छ । वडाध्यक्ष खड्काले बसन्तले अमेरिका जाँदा लिएको ६५ लाख र ब्याज गरी ऋण ९० लाख पुगेको आफूले सुनेको बताए । ‘घरको आर्थिक स्थिति पहिल्यै कमजोर थियो । अहिले यस्तो घटना भयो’ उनले भने, ‘ऋण ९० लाख नाघिसक्यो भनेर सुन्छु । घरका साना छोरी छन् । यस्तो पीडा कसैले भोग्न नपरोस् ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?