+
+

सरकार र मिटरब्याज पीडितबीच दुई घन्टा वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते २०:२५
आन्दोलनरत मिटर ब्याज पीडितहरु । फाइल तस्वीर

१८ फागुन, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा शुक्रबार अपराह्न दुई घन्टा वार्ता भएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई नेतृत्वको सरकारी टोली र पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको टोलीबीच ‘सकरात्मक संवाद’ भएको संवादमा सहभागी एक अधिकारीले बताए ।

मन्त्रालयले यसअघि पीडितसँग वार्तासँग सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति बनाएको थियो । योबीचमा स्वास्थ्यका कारणले वार्ता टोलीको संयोजक फेरिएपछि भएको वार्तामा आफूहरुको मागबारे बुँदागत रुपमा छलफल भएको संघर्ष समितिका प्रवक्ता नीर्घ नविनले बताए ।

उनका अनुसार, पीडितको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, अहिले भएको कानुनमा देखिएका जटिलता लगायतका विषयमा छलफलपछि सरकारी पक्षको जवाफसमेत सुनेर संवाद टुंगिएको थियो । दुवै पक्षका वार्ता टोली संयोजकबीच छलफल गरेर भोलि (शनिबार) फेरि संवाद हुने नविनले बताए ।

मन्त्रालयले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेको थियो । तर, भोलिपल्ट ११ बजे बस्ने गरी टोली उठे पनि प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता विथोलिएको थियो ।

मंगलबार पुनः वार्ताका लागि टोली बसे पनि विनानिष्कर्ष टुंगिएको थियो । योबीचमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आन्दोलनरत् मिटरब्याज पीडितबारे चासो राखेका थिए ।

उनले सरोकारवाला मन्त्रालयका सचिवहरुलाई बोलाएर ब्रिफिङ लिएको एक अधिकारीले बताए । नवीन भन्छन्, ‘अहिले आन्दोलन र वार्तालाई सँगै लाने भन्नेछ, आजको संवाद हेर्दा चाँडै निकास निस्किएला भन्ने लाग्छ ।’

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?