+
+

पोखरामा पहिलो प्रादेशिक ललितकला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १९:११

१९ फागुन, पोखरा । मासिएका रुख विरुवा, बाटो वरिपरि पोलभरि भुण्डिएका तार, गुज्जमुज्ज ठूला भवनहरु । बाटोमा एक व्यक्ति हातमा हरियो रङको डब्बा समाएर उभिएका छन् ।

खाल्डैखाल्डो परेको बाटोमा उभिएका ती व्यक्तिको ब्रसबाट हरियो रङ चुहिइरहेको छ । वरपरको परिवेश पनि केही हरियो देखिन्छ । त्यसमा लेखिएको छ, ‘ग्रिन सिटी ।’

पोखरा महानगरपालिकाले पोखरालाई ग्रिन सिटी बनाउने र सोही प्रावधानअनुरुप बनेका वातावरणमैत्री भवन संरचनामा हरियो रङ लगाउने योजना ल्याएको छ । तर, रङ पोत्दैमा सहर ग्रिनसिटी नबन्ने भन्दै अहिले मेयर धनराज आचार्यको चर्को आलोचना भइरहेको छ ।

त्यही परिवेशलाई व्यंग्य गर्दै कलाकार जित गुरुङले ‘कार्टुन’ कोरेका हुन् । उक्त चित्र महानगरले नै चलाइरहेको ‘पोखरा आर्ट ग्यालरी’मा प्रदर्शन भइरहेको छ । महेन्द्रपुलमा रहेको ग्यालरी भत्काइसकेपछि अहिले महानगरले नयाँबजारमा रहेको क्षेत्री समाज घरलाई भाडामा लिएर आर्ट ग्यालरी बनाएको छ ।

गुरुङकै चित्र छेउमा ‘प्रश्न चिह्न’ शीर्षकमा अर्को चित्र छ । निशान थापाले बनाएको उक्त चित्रमा पुराना पार्टीमाथि नयाँ भनिएका पार्टीहरुले पारेको अप्ठेरो प्रष्ट झल्किन्छ । ‘वर्षौं टिक्छ’ भनिएका पार्टी पनि फुटेको व्यंग्य गरिएको छ ।

दलबहादुर गुरुङले बनाएको चित्रले रोजगारका लागि परदेशिनु परेको नेपाली युवाहरुको कथा बोल्छ । ‘राहदानी’ शीर्षकको उक्त चित्रकलामा नागरिकता, राष्ट्रिय पहिचान धरौटीमा देखिन्छ । चित्रले राहदानी वैदेशिक रोजगारमा श्रमिक उत्पादन गर्नकै लागि बनेको चित्रण गरिएको छ ।

अर्को चित्रमा एक युवक सडकमा सुतेर मोबाइल चलाइरहेको देखिन्छन् । चित्रमा वरपरको वातावरण भद्रगोल प्रष्ट देखिन्छ । तर, मोबाइल चलाइरहेका ती युवाको अनुहारमा कुनै प्रश्नचिह्न वा अत्यास देखिँदैन शान्त देखिन्छ । ‘रेस्टिङ इन पिस’ शीर्षकको उक्त चित्र सुशील गुरुङले कोरेका हुन् ।

उनीहरुका जस्तै विभिन्न सिर्जनशील चित्र तथा कला शनिबारदेखि पोखरामा सुरु भएको पहिलो प्रादेशिक ललितकला प्रदर्शनीमा प्रदर्शन गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठा र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ललितकला प्रदर्शनीमा ७३ जना कलाकारको कला प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा गण्डकीका वरिष्ठ कलाकारदेखि नयाँपुस्ताका कलाकारको कलासमेत राखिएका छन् । शनिबार सुरु भएको प्रदर्शनी २३ गते सकिने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।

उपकुलपति लामाका अनुसार प्रदर्शनीमा राखिएका ललितकलाबाट उत्कृष्ट ९ जनालाई पुरस्कृतसमेत गरिनेछ । ‘प्रदेशकै अग्रज कलाकारहरुको छनोट समिति बनेको छ । त्यही समितिले छनोट गरेर पठाउनेछ’, उनले भने ।

यसअघि ललित कला प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा मात्रै राष्ट्रिय ललित कला प्रदर्शनी गर्दै आइरहेको थियो । तर, यस वर्षदेखि ७ वटै प्रदेशलाई समेट्ने गरी सबै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी छनोट सुरु गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

०८१ भदौ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा यस पटक सातै प्रदेशको उपस्थित गराउन एक प्रदेशदेखि कम्तीमा ३० जना कलाकार छनोट गरिने प्रतिष्ठानले जनाएको छ ।

‘पहिले आफ्नो कला प्रदर्शन गर्न काठमाडौं नै पुग्नुपर्थ्यो । तर, यसपटक सबै प्रदेशलाई पनि सहभागी गराउने उद्देश्यले प्रादेशिक प्रदर्शनी गरेर छनोट गर्न थालिएको हो’, प्रतिष्ठान कर्मचारी सविना भडेलले भनिन्, ‘प्रदर्शनीमा कम्तीमा ७ सय जना सहभागी गराउने लक्ष्य छ ।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले २३ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म ललितकला प्रदर्शनी हुने जानकारी दिए । प्रदर्शनीको अन्तिम दिन पोखराका मेयर धनराज आचार्यसँग ‘कला र पोखरा महानगर’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?