+
+

शालिन मृत्यु प्रकरण : ‘सुसाइड नोट’को अक्षर पनि जाँच गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १४:३५

२० फागुन, काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ ।

शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।

स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया शालिन पोखरेलको शव होस्टलको कोठामा भेटिएको थियो ।

‘किशोरीको पुरानो नोट बुकहरु मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेका छौं, सम्भवतः आजै साँझ वा भोलिसम्ममा रिपोर्ट आउँछ’, प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रहरी यो घटनाको अनुसन्धानमा एकदमै संवेदनशील छ ।’

गृह मन्त्रालय स्रोतका अनुुसार, आवश्यक परे यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई पनि खटाउने गरी प्रहरी हेडक्वार्टरलाई निर्देशन भएको छ । प्रहरीले भने संवेदनशीलतालाई मध्यनजर गर्दै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको जनाएको छ ।

काठमाडौंमा भएको पोष्टमार्टमको प्रतिवेदन समेत तयार भइसकेको छ । जसमा झुण्डिएका कारण मृत्यु भएको उल्लेख छ ।

किशोरीको परिवारका सदस्यले बलात्कार भएको आशंका गरेपछि प्रहरीले यसमा पीडितको संवेदनशील अंगको पनि जाँच गरेको थियो । तर, त्यस्तो कुनै संकेत नदेखिएको रिपोर्टमा उल्लेख छ ।

उनका बुबा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरेलबीच सम्बन्ध विच्छेद भएपछि शालिन रत्ननगर नगरपालिका–१५, माधवपुरमा रहेको मामाघरमा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनलाई मावलीले विद्यालयको होस्टलमा राखिदिएका थिए ।

घटनापछि चितवन पुगेका शालिनका बाबु दीपेन्द्रले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । त्यसपछि विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेल पक्राउ परेका थिए ।

उनीहरु तीनै जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?