+
+

समीकरण फेरिएपछि कोशीमा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १६:४५
कोशीका मुख्यमन्त्री केदार कार्की

२१ फागुन, विराटनगर । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।

२७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए ।

तर सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताए ।

‘अब माथिको गठबन्धन भत्किएपछि उहाँ अल्पमतमा पर्नुभयो, गठबन्धन भत्किएपछि उहाँले नैतिकताका आधारमा आजभोलि नै राजीनामा दिनुपर्छ,’ उनले भने,‘ अर्काे सरकारका लागि प्रदेश प्रमुखले आह्वान गर्नुहुन्छ ।’

भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएपछि गत असोज २६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर नेपाली कांग्रेसका आठ सांसदसहित विद्रोह गरेका कार्कीलाई नेकपा एमालेले समर्थन गरेपछि उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमत सांसद ४७ जनाको हस्ताक्षर बुझाएका थिए । कार्की मुख्यमन्त्री नियुक्त भएपछि एमाले पनि सहभागी भयो ।

तर मुख्यमन्त्री नियुक्तपछि कार्की सत्ता गठबन्धनमै फर्किए र माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई पनि सरकारमा सामेल गरे । त्यसपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?