+
+

प्रचण्ड र ओली २–२ वर्ष बन्नेछन् प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते २३:४७

२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो सहमति अनुसार माओवादी केन्द्र र नेकपा एमालेले दुई–दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् ।

माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुको दुई वर्षसम्म सरकार चलाउने छन् । त्यसपछि बाँकी दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेको छ । गठबन्धनका यी चार दलका शीर्ष नेताहरुबीच आठ बुँदे लिखित सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने लगायतका विषय उल्लेख भए पनि सरकारको नेतृत्व आलोपालो गर्नेबारे भने उल्लेख छैन ।

तर माओवादी केन्द्रका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘एक वर्षसम्म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिसक्नु भएको छ । अब बाँकी चार वर्षमध्ये दुई/दुई वर्ष प्रचण्ड र ओलीले आलोपालो सरकार चलाउने समझदारी भएको छ ।’ केन्द्रको समीकरण र समझदारी अनुसार प्रदेश सरकारमा पनि आलोपालो गर्ने शीर्ष तहमा छलफल भएको छ ।

प्रचण्ड र ओलीले दुई/दुई वर्ष सरकारको नेतृत्व गर्दा आफूलाई काम गर्न सहज हुने गरी मन्त्रालय लिने विषयमा पनि समझदारी भएको माओवादीका ती नेताले बताए ।

प्रचण्डले नयाँ सत्ता गठबन्धनबाट एमाले, माओवादी केन्द्र र रास्वपाका एक–एक जनालाई मन्त्रिपरिषदमा समावेश गरिसकेका छन् । तत्कालका लागि एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल गरी तीन जना मन्त्री बनेका छन् । तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

एमाले–माओवादीबीच नयाँ सत्ता गठबन्धनमा वामपन्थी र समाजवादी पक्षधरहरुलाई समेट्दै अघि बढ्ने समझदारी भएको छ । तर राजा र राजसंस्थाको पक्षमा गतिविधि गर्दै आएको राप्रपालाई भने गठबन्धनमा सहमत नगराइने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?