+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

महानगरको बस बिसौनीमा बन्यो फल्चा

फल्चा निर्माण संयोजन गरिरहेका १० नम्बर वडा सदस्य सतिस तण्डुकारका अनुसार करिब ६२ लाख खर्चमा उपभोक्ता समितिले निर्माण सकाउन लागेको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० फागुन २२ गते १९:५२

२२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बस बिसौनीहरूमा ‘फल्चा’ निर्माण सुरु गरेको छ । महानगरपालिकाले उपभोक्ता समितिमार्फत दुइटा फल्चा निर्माण अन्तिम चरणमा पुर्‍याएको हो ।

मेयर बालेन साहको चुनावी घोषणापत्रमा उल्लेख भएको ‘बस बिसौनीमा परम्परागत शैलीमा फल्चा निर्माण गर्ने’ बुँदा बल्ल कार्यान्वयन सुरु भएको हो ।

चुनाव जितेर आएपछि सार्वजनिक गरिएको आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो नीति तथा कार्यक्रममा उनले काठमाडौं महानगरभित्रका बस स्टपहरूमा प्रतिक्षालयका रूपमा फल्चा निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहित गर्ने उल्लेख गरेका थिए ।

‘काठमाडौंका बस स्टपहरूमा फल्चा निर्माण गर्न महानगर आफैंले पनि लगानी गर्नेछ,’ त्यसबेला मेयर बालेनले भनेका थिए, ‘बस स्टपहरूमा परम्परागत फल्चा निर्माण गर्ने छौं ।’ तर गत आवमा उनले काम सुरु गर्न सकेका थिएन्न ।

नमुनाका रूपमा दुई फल्चा निर्माण

काठमाडौं–१० बिजुली बजार पुल नजिकै र बबरमहल औषधि विभाग अगाडि उपभोक्ता समितिमार्फत फल्चा निर्माण अन्तिम चरणमा पुगेको छ ।

फल्चा निर्माण संयोजन गरिरहेका १० नम्बर वडा सदस्य सतिस तण्डुकारका अनुसार करिब ६२ लाख खर्चमा उपभोक्ता समितिले निर्माण सकाउन लागेको हो ।

‘दुई महिनादेखि काम भइरहेको छ । अबको डेढ महिनामा सञ्चालनमा आउँछ । हामीले यो महानगरपालिकाले कस्तो फल्चा बनाउँदै छ भनेर नमुनाका रूपमा बनाएका हौं,’ तण्डुकारले अनलाइनखबरसँग भने ।

पूर्णरूपमा अग्राखको काठले निर्माण भएको फल्चामा परम्परागत शैलीका बुट्टा कुँदिएको छ । ‘हामीले पाटन क्षेत्रका काठमा काम गर्ने काष्ठकर्मीहरू मार्फत बुट्टा बनाएका हौं । यो सामान्य विश्रामस्थल भन्दा फरक रहन्छ,’ उनले भने ।

उनले फल्चा निर्माण भइसकेपछि इन्टरनेट, खानेपानी, स्थानका जानकारी सहित नक्सा लगायत हुने बताए । ‘हुन त यो बस बिसौनी हो, तर यसमा ऐतिहासिक भौतिक संरचनामा आधुनिक सुविधा दिन खोज्दै छौं,’ उनले भने । फल्चाको आयु ५० वर्षभन्दा धेरै हुने उनले बताए ।

थप १० बन्दै

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोग अन्तर्गत बसेर सडक पूर्वाधार सम्बन्धी काम गरिरहेको प्रशान्त खरेलका अनुसार महानगरले दुई उपभोक्ता समिति मार्फत बनाए पनि अब १० वटा महानगर आफैंले बनाउने बताए ।

‘दुइटा नमुनाका रूपमा तयार गर्दैछौं, त्यसकै लागत र अन्य संरचना हेरेर टेन्डर मार्फत फल्चा बनाउँदै छौं,’ उनले भने ।

खरेलका अनुसार यो वर्ष मुख्य भीड हुने र प्रमुख स्थान छनोट गरेर फल्चा निर्माण सुरु हुनेछ ।

‘महानगर अन्तर्गत केही प्रमुख ठाउँमा यसै वर्ष फल्चा बनाउँछौं,’ पोखरेलले भने, ‘कतिपय फल्चा चक्रपथ (रिङरोड) क्षेत्रमा पर्छ, चक्रपथ विस्तार नहुँदा त्यता तत्काल बनाउन सक्ने अवस्था छैन ।’

५ करोड विनियोजन

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा बस स्टपमा परम्परागत फल्चा निर्माण गर्ने भन्दै रकम विनियोजन गरेको छ ।

बजेटमार्फत चालु आवमा आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा ५ करोड विनियोजन गरेको छ ।

महानगर सम्पदा तथा विकास समिति संयोजक तथा वडा नम्बर ८ अध्यक्ष आशमान संगतले फल्चा झिंगटीको छानो राखेर निर्माण हुँदैछ ।

उनले अब बनाउने फल्चाको स्थान हेरेर आकार तय हुने उनले बताए । ‘काठको पेटीजस्तो हुन्छ, यसमा केही इँटा पनि प्रयोग हुन्छ । परम्परागत शैलीमा निर्माण गर्ने छौं,’ उनले भने ।

महानगरले गरेको अध्ययन अनुसार २ सय ६४ स्थानमा बस बिसौनी छन् । ‘महानगरको योजना त भएजति बस बिसौनीमा फल्चा बनाउने हो, तर व्यावहारिक रूपमा कति ठाउँमा आवश्यक पर्छ, त्यहाँमात्र फल्चा बन्छ,’ उनले भने, ‘फल्चाको बाहिरी भागमा काष्ठकला रहने छ भने भित्री भागमा यात्रुले सवारीसाधन कुर्दा बस्ने मेच, डेस्क, उभिने ठाउँ हुनेछन् ।’

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?