+
+

विद्यालयमा भवनै भवन, तर विद्यार्थी पढ्ने कोठा छैन

‘यहाँ जति भवन बनिरहेको छ विद्यालयसँग समन्वय गरिएको छैन, बनिरहेको दुईवटा भवनले पूर्णता पाउँदा मावि तहको लागि कक्षाकोठा पर्याप्त हुन्छ । यो नयाँ भवन किन बनाइएको छ पालिकालाई नै थाहा होला’, प्रधानाध्यापक राजकुमार राउत भन्छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० फागुन २३ गते १५:२९

२३ फागुन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–२ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बालविकास र कक्षा १ का विद्यार्थी एउटै कोठामा राखिएका छन् ।

कक्षा २ र ३ का विद्यार्थी पनि एउटै कोठामा राखिएका छन् । यी कक्षामा एकै पटक दुई शिक्षक/शिक्षिका जान्छन् र एउटा–एउटा कक्षाका विद्यार्थी पढाउँछन् ।

शिक्षिका कृष्ण रायका अनुसार यसरी पढाउँदा सिकाइ प्रभावकारी भएको छैन । ‘दुईवटा क्लासका विद्यार्थीलाई एउटैमा पढाउँदा न विद्यार्थीको ध्यान एकतृत हुन्छ न शिक्षकको नै । विद्यार्थीले पढाएको बुझ्दैनन्, हल्ला गर्छन् । विषवस्तु बुझाउनै गाह्रो हुन्छ’, उनी भन्छिन् ।

प्रधानाध्यापक राजकुमार राउत कक्षाकोठा अभावले गर्दा एउटै कक्षाकोठामा दुईवटा कक्षाका विद्यार्थी राख्नुपरेको बताउँछन् । ‘दुवै कक्षाको ध्यान यताउता हुन्छ । पठनपाठन प्रभावकारी नहुनु स्वभाविकै हो’, उनी भन्छन् ।

विद्यालयको १० कोठे पुरानो भवन जीर्ण भएपछि कक्षाकोठा अभाव हुन थालेको यो विद्यालयको प्रांगणमा हाल ३ वटा भवन निर्माणाधीन छन्, तर तीन/चार वर्ष पहिले निर्माण सुरु गरिएको भवन कुनैलाई पनि पनि पूर्णता दिइएको छैन ।

बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोको घरदेखि १०० मिटर दूरीको यो विद्यालयमा कक्षाकोठाको अभाव हुन थालेको ४ वर्ष भयो ।

विद्यालयको १० कोठे भवन पुरानो जीर्ण भएपछि कक्षाकोठा अभाव हुन थालेको यो विद्यालयको प्रांगणमा हाल ३ वटा भवन निर्माणाधीन छन्, तर तीन/चार वर्ष पहिले निर्माण सुरु गरिएको भवन कुनैलाई पनि पनि पूर्णता दिइएको छैन ।

प्रधानाध्यापक राउतका अनुसार अहिले विद्यालयसंग जस्तापाताले छाएको भवनको ९ वटा र छत भएको भवनको एउटा कोठा कक्षाकोठाका लागि प्रयोग भएको छ ।

छत भएको भवनको एउटा कोठामा विद्यालयको कार्यालय छ भने अर्कोमा कम्प्युटर कक्षा छ ।

आर्थिक वर्ष २०७७/०७८ मा डम्बरबहादुर राउत क्षेत्री गाउँपालिका अध्यक्ष भएका बेला विद्यालयले संघीय सरकारको सशर्त अनुदानमा ८ कोठे पक्की भवनका लागि ३६ लाख रुपैयाँ पाएको थियो । उपभोक्ता समितिमार्फत भवन निर्माण पनि सुरु भयो । तर भवनमा छत ढलान गरिएन र झ्यालढोका पनि राखिएन ।

२०७९ वैशाखको स्थानीय तहको चुनावबाट अध्यक्ष रामअशिष महतो अध्यक्ष बनेपछि त्यस भवनलाई अलपत्र नै छाडियो ।

२०७८ को असारमा त्यही अलपत्र भवनको दक्षिणपट्टि आठ कोठे अर्को भवनका लागि संघीय सरकारको सशर्त अनुदानको ८३ लाख रुपैयाँ बजेट विनियोजन गरियो । रौतहटको आर्यन कन्ट्रक्सनले निर्माणको ठेक्का पायो र असार मशान्तसम्ममा ५४ लाख ८९ हजार ३४७ रुपैयाँ भुक्तानी लियो । स्थानीय बासिन्दा ठेकेदारले पैसा भुक्तानी लिन हतारमा राम्रो काम नगरेको बताउँछन् ।

विद्यालयको दुबै भवन अधुरो रहेपछि गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक स्रोतबाट रकम विनियोजन गर्‍यो ।

आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको भवनका लागि ३० लाख ४७ हजार ५१८ र आर्थिक वर्ष २०७८/७९ को भवनका लागि ३५ लाख रुपैयाँ बजेट छुट्याइयो ।

अहिले दुबै अधुरो भवनको भुइँतला तयार पार्ने काम भइरहेको छ । झ्याल निर्माण र रंगरोगन भएको छैन । दुबै भवन निर्माणले पूर्णता नपाएकाले उपयोग गर्न नपाएको प्रधानाध्यापक राउतले बताए ।

पहिलेका दुईवटा आठकोठे भवनले पूर्णता नपाउँदै गत २ फागुनमा विद्यालयमा अर्को ८ कोठे भवनको शिलान्यास गरिएको छ । ५९ लाख रुपैयाँको लागतमा सन्तोष निर्माण सेवाले भवन निर्माण गरिरहेको छ ।

प्रधानाध्यापक राउत विद्यालयमा भवन बनाउँदा समन्वय नै नगरिएको बताउँछन् । ‘तत्कालै गर्नुपर्ने भवन अभावको समस्यालाई कसैले मतलब गरेन । एउटालाई पूर्णता नदिई अर्को थपेको थप्यै छ’, उनले गुनासो गरे ।

दुईवटै निर्माणाधीन भवनले पूर्णता पाएमा विद्यालयमा १६ वटा कोठा थपिन्छ । जुन अहिले विद्यालयको आवश्यकता अनुसार पर्याप्त हो । तर फेरि किन अर्को भवन बनाइयो भन्ने प्रश्नको जवाफ प्रधानाध्यापक राउतसँग छैन ।

‘यहाँ जति भवन बनिरहेको छ विद्यालयसँग समन्वय गरिएको छैन, बनिरहेको दुईवटा भवनले पूर्णता पाउँदा मावि तहको लागि कक्षाकोठा पर्याप्त हुन्छ । यो नयाँ भवन किन बनाइएको छ पालिकालाई नै थाहा होला’, उनी भन्छन् ।

वडाध्यक्ष विजयकुमार महतो जस्ताले छाएको कक्षाकोठामा गर्मीमा विद्यार्थी बेहोस हुने गरेकाले पक्की भवन निर्माण गरिरहेको बताउँछन् ।
पालिका अध्यक्ष रामअशिष महतो भने विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यले नयाँ भवन बनाएको बताउँछन् ।

निर्माणाधीन भवन किन अलपत्र छाडिएको भन्ने प्रश्नमा अध्यक्ष महतो भन्छन्, ‘दुबै आठकोठे भवनको भुइँतला चाँडै तयार हुन्छ, अर्को भवन प्लस टु सञ्चालन गर्न बनाइरहेका छौं । त्यो कुरा हेडसरलाई थाहा छैन’, उनले भने ।

३ वर्षदेखि छैन व्यवस्थापन समिति

यो विद्यालय १८ चैत २०७७ देखि व्यवस्थापन समितिविहीन छ । १० कक्षासम्म पढाइ हुने विद्यालयमा माध्यमिक तहमा १, निमाविमा ३, प्राविमा ३ र बालविकासमा दुई शिक्षक शिक्षिका छन् । आर्थिक प्रशासन हेर्ने लेखा कर्मचारी छैन ।

व्यवस्थापन समिति नहुँदा विद्यालयले ठेक्का लगाएको १३ बिघा जग्गा रकम असुल गर्न सकेको छैन । न विद्यालयले आन्तरिक स्रोतबाट राखेका शिक्षकलाई तलब खुवाउन सकेको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा शिक्षक अभाव हुँदा पनि पदपूर्ति गर्न नसकेको प्रधानाध्यापक राउत बताउँछन् ।

विद्यालयले व्यवस्थापन समिति गठन गर्न दुईपटक अभिभावक भेला बोलाए पनि गठन हुन सकेन । त्यसपछि पालिकाले अभिभावक भेला डाक्ने अनुमति नै नदिएको प्रधानाध्यापक राउतले बताए ।

जनप्रतिनिधिको बेवास्ताले विद्यालयको अवस्था दयनीय बनेको स्थानीय रामपूजन महतो बताउँछन् । ‘विद्यालयलाई कसैले मतलबै गरेको छैन । खाली ठूलाठूला भवन बनाएर मात्र पढाइ राम्रो हुन्छ, कि तत्कालिन आवश्यकतालाई पनि हेर्नुपर्छ ?’ महतोले प्रश्न गरे ।

जनप्रतिनिधिले कमिसन पाउने हुनाले भवन बनाउन मात्र ध्यान दिएको उनको आरोप छ । ‘भवन माथि मात्रै जनप्रतिनिधिको ध्यान किन छ ? अन्य समस्याप्रति किन चासो छैन सजिलै बुझ्न सकिन्छ, त्यसमा कमाइ हुन्छ ।’

गाउँपालिका अध्यक्ष महतोले अब चाँडै विद्यालय व्यवस्थापन समिति गठन गर्ने र अरु समस्या पनि समाधान गर्ने बताएका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?