+
+

मृत भेटिएका डीएसपीको ‘सुसाइड नोट’ : सरी चिफसाब, सरी ब्याचमेट !

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन २३ गते १६:२२

२३ फागुन, विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा मृत भेटिएका थिए ।

उनी मृत भेटिएको कोठामा प्रहरीले फेला पारेको एक पृष्ठ लामो नोट प्रारम्भिक अनुसन्धानबाट उनकै भएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनास्थलबाट भेटिएको सुसाइट नोटका बारेमा अनुसन्धान भइरहेको बताए । ‘शव भएको कोठामा भेटिएको नोट परीक्षणको क्रममा छ’, उनले भने, ‘घटनाक्रम मिलेको देखिएकाले उहाँकै हो भन्ने देखिन्छ ।’

नोटमा बस्यालले आफ्नो मृत्युको छानबिनका नाममा कसैलाई दु:ख नदिन आग्रह गरेका छन् र आफ्ना परिवारका सदस्य तथा सशस्त्र प्रहरी बल संगठनसँग माफी मागेका छन् ।

२१ फागुन डीएसपी बस्याल सशस्त्र प्रहरी बलको सेवा प्रवेश गरेको दिन हो । ४२ वर्षीय बस्यालले मृत्युअघि आफ्ना सहकर्मी र साथीलाई फोन गरेको र निराशा व्यक्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त नोटमा डीएसपी बस्यालले काम गरेर देखाउने चक्करमा अप्ठ्यारोमा परेको उल्लेख गरेका छन् । उनले नोटमा एक जना व्यक्तिबारे लेखेका छन् जसको पहिचान खुलेको छैन । ‘… ऊ स्वयं अपराधी रहेछ, पहिले म त्यसलाई सम्बन्धित स्थानमा पुर्‍याई काम गर्छु भनेको त्यसले अपराधी भई मलाई कानुनी अफ्ठयारो पर्न सक्ने खतरा पो भयो’, नोटमा लेखिएको छ ।

नोटमा बस्यालले सशस्त्र प्रहरी बलका महानिरीक्षक र साथीहरुसँग पनि माफी मागेका छन् । ‘…तर, संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफसाप, सरी फ्रेन्ड्स ।’

नोटमा लेखिएका विषयलाई लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दाहालले जानकारी दिए ।

पत्नीसँग क्षमा माग्दै उनले बच्चा राम्रोसँग हेर्न आग्रह गरेका छन् । आफ्नो मृत्युको छानबिन गर्ने नाममा अनावश्यक दबाब नदिन पनि उनले नोट मार्फत आग्रह गरेका छन् । उनले अन्तिममा भनेका छन्, ‘सरी, ब्याचमेट मलाई झल्लु नठानेर सम्झिरहनु, गुडबाई ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?