+
+

नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १७:१८

२३ फागुन, काठमाडौं । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।

भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदूत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।

मड्रिडस्थित ला लिगाको मुख्यालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदूत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन ।

‘उहाँ नेपाल भ्रमणका लागि निक्कै उत्साहित हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,’ राजदूत ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्ने छ । तथापि महिला फुटबलमा सहकार्य केन्द्रित गर्ने उहाँको इच्छा छ ।’

राजदूत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रुपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

‘खेलकुदको माध्यमबाट नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी छ । देश निर्माणको अभियानलाई सार्थक बनाउन युवाहरुलाई सक्रियतापूर्वक खेलकुदमा सहभागी गराउनुपर्छ । समाजलाई स्वस्थ र रचनात्मक तथा विकासको बाटोमा अगाडि बढाउन खेलकुद निक्कै महत्वपूर्ण क्षेत्र हो,’ राजदूत ढकालको विज्ञप्तिमा उल्लेख छ, ‘यसकारण हामीले स्पेनबाट फुटबलसँगै अन्य खेलमा सहकार्य र सहयोगको प्रयास गरिरहेका छौं । तर फुटबलमा स्पेनको स्तर निक्कै माथि रहेकाले यो सहकार्य फलदायी हुने हामीले विश्वास लिएका छौं ।’

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदूत ढकालको बुझाइ छ ।

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविष्यमै सहकार्यको थालनी गरिने बताएका थिए । सो क्रममा अध्यक्ष मेड्रानोले राजदूत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए ।

स्पेनस्थित नेपाली राजदूतावासको पहलमा गत वर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?