+
+

रास्वपाका यी मन्त्री अब उत्तर दिने ठाउँमा

संसद्मा खरो प्रश्न उठाइरहेका, सरकारसँग निरन्तर जवाफदेही मागिरहेका सांसदहरू नै मन्त्री बन्न पुगेका छन् । रास्वपाको यो निर्णयसँगै उनीहरू अब उत्तर दिने ठाउँमा छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० फागुन २३ गते २१:१७

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा पठाएका चार मन्त्रीमा सर्वाधिक चासो दुई अनुहारप्रति देखिएको छ । सभापति रवि लामिछाने र उपसभापति डीपी अर्याल पोहोर पुसमा प्रधानमन्त्री प्रचण्डकै क्याबिनेटमा सहभागी भइसकेका थिए ।

यसपल्ट पहिलो पटक मन्त्रिपरिषद्मा पुगेका पार्टीका संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठको रोजाइले धेरैको ध्यान खिचेको छ ।

रास्वपाबाट सभापति रविले गृह, उपसभापति अर्यालले श्रम तथा रोजगार, सहमहामन्त्री सुमनाले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने भएका छन् ।

संसदीय भूमिकामा खरो

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो बाल्यकालका अधिकांश समय हजुरआमा कृष्णदेवी श्रेष्ठसँग बिताएकी थिइन् ।

आफूलाई बाह्रखरी अक्षर चिनाउने हजुरआमाको ८७ वर्षको उमेरमा निधन भएपछि शोकमा रहेकै बेला सुमनालाई शिक्षाको नीति बनाउने र कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयको नेतृत्व मिलेको छ ।

हजुरआमा बित्नुभन्दा केही दिनअघि अनलाइनखबरसँग कुरा गर्ने क्रममा आफ्नो बच्चा बेलाको हुर्काइ र शिक्षा–दीक्षामा हजुरआमाको ठूलो हात रहेको बताइरहेकी थिइन् सुमना ।

यसअघि संसद् र संसदीय समितिमा सर्वाधिक प्रश्न उठाउने सांसदमध्ये सुमना अग्रपंक्तिमै थिइन् । संसद्को प्रभावकारितामा खरो उत्रने सांसदको छवि बनाएकी उनले अनियमितता, ढिलासुस्तीमा सरकारलाई प्रश्न गरेर जवाफ खोजिरहिन् ।

संसद् र समिति बैठक हुनुअघि विषयगत अध्ययन गरेर प्रस्तुत हुने सांसदको पहिचान उनले बनाएकी छन् । ऐन संशोधनका लागि सरकारलाई झक्झकाइन् । संसदीय समितिमा देखिने र सुनिने सांसदको पहिचान बनाएकी छन् ।

संसद्को क्यालेण्डर बनाउन महत्वपूर्ण भूमिका खेलेकी सुमनाले हाजिरी गरेर बैठकमा नबस्ने प्रवृत्ति हटाउन बैठकबाट निस्कनेको रियल टाइम ट्रयाकको व्यवस्था गर्न माग गरिन् । क्यालेण्डर बनाउन एक वर्ष लागेको र यथास्थिति विरुद्ध जित भएको उनको भनाइ थियो ।

शिक्षाका विषय लिएर सरकारलाई ¥याख¥याख्ती पार्ने सुमना अब निर्णय गर्ने ठाउँमा पुगेकी छिन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री प्रचण्डलाई पटक–पटक प्रश्न उठाउने सुमना सहकुलपति बनेकी छन् । उपकुलपति छनोट समितिको संयोजक समेत हुने शिक्षामन्त्री सुमनाबाट नियुक्त हुन बाँकी विश्वविद्यालयमा के गर्छिन् ? उनका लागि यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पेश गर्ने चुनौती छ ।

पूर्वाञ्चल, सुदूर र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्ति हुनसकेको छैन । लाखौं विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको उपकुलपति पदको छनोटमा प्रधानमन्त्रीको गम्भीरता नभएको भन्दै उनले प्रश्न उठाएकी थिइन् ।

विश्वविद्यालय उपकुलपतिमा भएको ढिलासुस्ती र भागबन्डा बारे रुष्ट सुमनाले तत्कालीन समयमा भन्थिन्, ‘प्रधानमन्त्रीको कार्यसम्पादन यही हो ? शिक्षा मन्त्रीको कार्यसम्पादन यही हो ?’ अब ती प्रश्न उनीतिर फर्किने छन् । शिक्षा विधेयक सर्वस्वीकार्य बनाउने चुनौती पनि उनीसामु छ ।

अमेरिकाको म्यासाचुस्टस् इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट सुमनाले बिजनेस एडमिनिस्ट्रेसनमा एमबीए गरेकी छन् । सुमनासँग अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा काम गरेको अनुभव छ । २०७२ सालको भूकम्पपछि उनी अमेरिकाबाट नेपाल फर्किन् । विश्व खाद्य कार्यक्रमसँग आवद्ध भएर उनी नेपालमा काम गर्न फर्केकी थिइन् ।

भूकम्प गएपछि विदेशमा रहेका नेपालीसँग राहत संकलन र वितरणमा उनले भूमिका खेलेकी थिइन् । काष्ठमण्डप पुनर्निर्माण उपसमितिको नेतृत्व गरिन् । रानीपोखरी बचाउ अभियानमा सक्रिय भएर लागिन् ।

गत निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेकी उनलाई पार्टीको जलेश्वर बैठकले सहमहामन्त्री बनायो ।

विवेकशीलको स्कुलिङबाट अघि बढेका विराजभक्त

सामाजिक अभियानबाट स्थापित भएको विवेकशीलबाट विराजभक्तले राजनीति सुरु गरेका थिए । २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागेका उनी लुम्बिनी प्रदेश सभा सदस्य पनि बने ।

२०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा सक्रिय भएर लागे । उनले तत्कालीन समयमा आफ्नै नेतृत्वमा स्वयंसेवक टोली बनाएका थिए । वातावरण संरक्षणमा पैरवी गर्दै आएका उनी संस्कृति र परम्परा बचाउने सामाजिक अभियानमा सहभागी हुँदै आएका छन् । वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान समेत पनि चलाएका थिए । काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर उनले विगतमा भूमिका निर्वाह गरेका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा ल्याइएको गुठी विधेयकको विरोधमा सरोकार पक्षसँग मिलेर आन्दोलनलाई प्रभावकारी बनाए । बागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहेर काम गरेको अनुभव श्रेष्ठलाई छ । नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठले बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक तहको अध्ययन सकेका छन् । अस्पताल, कम्पनी र परियोजनामा व्यवस्थापकको जागिर खाएको अनुभव पनि उनीसँग छ ।

युवा लक्षित मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठका लागि खेलकुदप्रति बढ्दै गएको युवाको लक्षित योजना पूरा गर्नुपर्ने चुनौती छ । राष्ट्रिय गौरवको आयोजनामा परेको खेलकुद पूर्वाधारको निर्माणले गति लिन सकेका छैनन् । खेलाडीलाई टिकाइराख्ने नीति बनाई खेलाडी पलायन र व्यवस्थापन रोक्नुपर्ने उनका लागि चुनौती छ ।

यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका र निर्माणाधीन पोखरा, धनगढी, इटहरी र नेपालगञ्जको प्रदेश रंगशाला तथा कभर्ड हल सम्पन्न गर्नुपर्ने दायित्व श्रेष्ठमा छ ।

रास्वपाको संसदीय दलको उपनेता समेत रहेका श्रेष्ठले गत निर्वाचनमा काठमाडौं–८ बाट प्रत्यक्षतर्फ जितेका थिए ।

डीपीलाई श्रम मन्त्रालय नै

जापानमा आठ वर्ष बिताएर फर्केका रास्वपा उपसभापति डीपी अर्याल २०७९ पुस १० गते प्रचण्ड सरकारमा श्रम तथा रोजगार मन्त्री बनेका थिए । माघ २२ गते राजीनामा दिएका उनी १३ महिनापछि सोही मन्त्रालयमा फर्किएका छन् ।

गत निर्वाचनमा समानुपातिक सांसद बनेका अर्यालको अनुभव पर्यटन, रेमिट्यान्सको क्षेत्रमा समेत छ । आठ वर्ष जापानमा बिताएका अर्याल नेपाल फर्केपछि पर्यटन व्यवसायमा संलग्न थिए ।

मर्यादित वैदेशिक रोजगारीको व्यवस्था, रोजगारीमा जानेहरूमाथि भइरहेको ठगी, उद्धार संयन्त्रलाई प्रभावकारी, राम्रा श्रम गन्तव्य पहिचान, फ्रि भिसा फ्रि टिकट भए पनि कार्यान्वयन लगायत अर्यालका चुनौती छन् । साथै, श्रम सम्झौता हुन नसकेका साउदी, कतार नवीकरण उनको प्राथमिकतामा पर्नुपर्ने कार्यभार छ ।

आन्तरिक रोजगार सिर्जना गर्ने चुनौती उनका सामु छ । प्रभावकारी हुन नसकेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सीप विकासका कार्यक्रम लगायत अर्यालका लागि चुनौती छन् । गत निर्वाचनबाट समानुपातिक सांसद बनेका रास्वपा उपसभापति अर्याल र पार्टी सभापति रविको सम्बन्ध पार्टी गठन हुन अघिदेखि नै थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?