+
+
गफ स्टेसन :

दाङबाट दुई सपना बोकेर आएका भूपू : ‘संगीतमा आफ्नो ठाउँ आफैं बनाउने प्रयास गर्दैछु’

खेम रिसाल खेम रिसाल
२०८० फागुन ३० गते ७:००

काठमाडौं । २०६२ सालमा गायक बन्छु भनेर काठमाडौं आउँदा भूपू पाण्डेलाई संघर्षको यात्रा लामो र कठिन होला भन्ने लागेकै थिएन । केही समय संगीत पढेर गायक बन्ने अनि मान्छेको नजरमा परिहालिन्छ भन्ने उनको सोचाइ थियो । तर सपना र यथार्थबीच आकाश पातालको फरक हुन्छ भन्ने कुरा उनले काठमाडौं आएपछि संघर्षको मैदानमा उत्रिंदा चाल पाए ।

हुन त उनको सुरुवाती सपना अभिनेता बन्ने थियो । अभिनेता पनि हिरो होइन, चरित्र अभिनेता । किनकि उनलाई हिरोमा आफूलाई कसैले लिंदैन भन्ने लाग्थ्यो रे । यो सपना पूरा गर्न पनि सकस देखेपछि उनले बीचमै तुहाइदिए । अनि अर्को सपना पूरा गर्न संगीत सिके, पढे । एल्बम नै निकाले तैपनि श्रोताको नजरमा पर्न सकेनन् । भूपूलाई संगीतप्रेमी श्रोता-दर्शकबीच चिनिन सन् २०१८ सम्म कुर्नुपर्‍यो, जतिबेला उनले ल्याएका थिए- ‘छोटो छ जिन्दगी’ ।

हुन त सन् १०१६ मै एकल सांगीतिक एल्बम ‘मायावी’ निकालेका उनी त्यसमै संग्रहित ‘ओइ चम्पा’ पनि चलेकै थियो तर उनी ‘नोटिस्ड’ हुने गरी चिनिएका थिएनन् । उनको टर्निङ प्वाइन्ट भने ‘छोटो छ जिन्दगी’ बनेर आयो । कक्षा ६ मै हुँदा बुवाको दुई हजार रुपैयाँ चोरेर गाउँकै दाइहरुको लहलहैमा लागेर पढाइ बीचमै छाडेर उनी भारत समेत गएका थिए । पैसा कमाउने, रंगीन टिभीमा छानी छानी फिल्म हेर्ने सपना देखाएका थिए ‘दाइ’हरुले । तर त्यहाँ गएर भूपूले उनकै शब्दमा ‘छोटू’ काम गरे । अर्थात् घरेलु कामदार । पछि आमाको करले फेरि नेपाल आएर उनले पढाइलाई निरन्तरता दिंदै टुंगोमा पुर्‍याए पनि ।

भूपूका गीतमा युवाका कथा, बेरोजगारी, वैदेशिक रोजगारीका पीडा समेटिएका हुन्छन् । यसमा उनले बाल्यकालमै देखेको संसारले पनि भूमिका खेलेको हुनसक्छ । यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका भूपूले आफ्नो वास्तविक नाम भूपेन्द्रबहादुर पाण्डे रहेको बताए । तर नाम लामो लागेकाले सांगीतिक क्षेत्रमा पहिचान बनाउन सजिलो हुने लागेर ‘भूपू’ राखेको खुलाए ।

भूपूको भर्खरै सार्वजनिक गरेको गीत ‘पीरैपीर’ अहिले निकै रुचाइएको छ । अर्थात् भनौं भाइरल नै भइरहेको छ । ‘खासमा यो गीत यति चल्छ होला भनेर सोचेकै थिइनँ । बेरोजगार युवाको मनोदशाबारे गीत तयार गरेको थिएँ, भिडियो पनि गाउँघरमा गएर साथीहरु मिलेर सामान्य बनाएका हौं । तर रुचाइदिनुभयो, एकदमै  खुसी छु,’ भूपूले गीतको अन्तर्य खोले ।

करिब पाँच दर्जन गीतमा स्वर र अन्य थुप्रै गीतमा संगीत भरेका भूपू संगीतदेखि थोरै ‘फ्रस्टेड’ समेत सुनिए । साथै उनले देशमा बढिरहेको बेरोजगारी अन्त्यका लागि सरकारले ‘एक घर एक रोजगारी’को अवधारणा ल्याउनुपर्ने सुझाव समेत दिए ।

भूपूसँग गफ स्टेसनमा उनको सांगीतिक संघर्ष, भारतमा बाल्यकालमै गएर गरेको परिश्रम, नेपाली संगीत, आगामी योजना लगायत विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, गायक तथा संगीतकार भूपू पाण्डेसँगको भिडियो अन्तर्वार्ता :

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर 

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?