+
+

व्यवसाय सफल भएन ? यसो गर्नुस् !

नेपालीमा व्यवसायको परम्परा, अनुभव र सीप एकदमै कम छ । कसैले बाख्रा पाल्न थाल्यो सबै बाख्रातिर, बंगुर पाल्न थाले अरू पनि बंगुरतिर र गाई पाल्न थाले अरू पनि गाईतिर । लहडले थाल्यो घाटा लागे छोड्यो । यसरी व्यवसाय हुँदैन ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०८० फागुन ३० गते ११:१७
Photo Credit : Pixabay

म दोलखा बिगु गाउँपालिकामा कामविशेषले केही दिनदेखि बसेको छु । मसँग एउटा पिकअप बोलेरो गाडी छ र गाडीका चालक २६ वर्षीय स्थानीय भाइसँग संवादमा छु । उनी गाउँमा सामान्य परिवारका मानिस, पेशा कृषि ।

गाउँकै स्कुलमा ११ पास गरेपछि विदेश हान्निए । दुई वर्ष काम गरेर घर फर्किए, भने जस्तो भएन । ड्राइभिङ लाइसेन्स भए राम्रो कमाइ हुने रहेछ भन्ने लाग्यो । यता आएर ड्राइभिङ सिके । केही दिन यतै अरूको गाडी चलाए । त्यसपछि फेरि विदेश हान्निए । चार वर्ष काम गरेर घर फर्किए ।

फर्कंदा हातमा अलिकति पैसा थियो । आफ्नै गाडी कुदाउने सपना देखे । गाउँमा हाइड्रो निर्माणको चहलपहल थियो । उनी गोजीमा अलिकति पैसा बोकेर सेकेण्डहेन्ड बोलेरो पिकअप किन्न काठमाडौं गए । चरिकोटमा दलालसँग भेट भयो । गाडी मिलाइदिने देउता भेटे जस्तो लाग्यो रे ! दलालले मिलाइदिएको गाडी लिएर गाउँ फर्किए । भएको पैसा दिए, अरू किस्ता तिर्ने शर्तमा ऋण बोकेर आए ।

गाडी पुरानो परेछ भने जस्तो भएन । कमाइ नभएको त होइन तर कमाइभन्दा खर्च धेरै भयो । नियमित किस्ता तिर्न त सकिएन उल्टै गाडी बनाउँदाको पैसा ऋण लाग्न थालेपछि तिनै दलाल लगाएर गाडी बेचे । गाडी बेचेको पैसाले गाडीको ऋण त तिरियो तर आफूले हालेको सावाँ निस्किएन । उल्टै गाडी बनाउन लिएको सापटी पनि ऋण लाग्यो ।

त्यसपछि फेरि अहिले अरूकै गाडी चलाउन आइपुगे । उनको आफ्नै गाडी होस् भन्ने सपना मरेको छैन । उनी भन्छन्, ‘त्यो बेला मेरो अलि बुद्धि पुगेन, दलालको भर परें, गाडी आफैंले छानेर किन्न सकिनँ, कमाएको पैसा जोगाउन सकिनँ, अब चाहिं पहिलाको जति पैसा भएपछि फेरि आफ्नै गाडी किन्ने र त्यसलाई जोगाउने गरी लाग्नेछु ।’ मेरो कामना छ उनको सपना पूरा होस् ।

आज बिहानै झापा मेचीनगरका स्थानीय साथीहरूले चलाएको अनलाइनमा खबर पढें । त्यसमा व्यावसायिक बाख्रापालनको कथा समेटिएको थियो । कुनै बेला बडो उत्साहका साथ सुरु गरिएको बाख्रापालन व्यवसाय अहिले खुम्चिंदै गएको कथा छ । किसान लागत अनुसारको मूल्य नपाएर यो पेशाबाट विरक्तिएको अवस्था छ । खोरमा बाख्राको संख्या घटाउँदै लगेको कुरा छ ।

केही दिन पहिले एकजना माओवादी लडाकु, नेता र सहकारीकर्मी मित्र शिव डाँगीले परिकल्पना गरेको र सहकारी मोडलमा सुरु भएको सुनसरीको एकीकृत कृषि फार्मको अवलोकन गर्ने अवसर जुट्यो । त्यहाँ सुरु भएका कुनै कृषि कर्म सफल भएको पाइनँ ।

गाईपालन, माछापालन, तरकारी खेती, बंगुरपालन, बाख्रापालन सबै नै नोक्सानमा गएको देखें । शिवजी आत्तिनुभएको पाएँ । के गर्ने के नगर्ने अन्योलमा हुनुहुन्छ । उहाँको प्रयास र संकल्प सकारात्मक थियो तर परिणाम सोचे जस्तो भएन । त्यत्रो युद्ध लड्दा नथाकेको उत्साह कृषि कर्ममा थाकेको आभास पाएँ ।

हामीसँग व्यवसाय सुरु गर्दा के छ र के छैन त्यो थाहा पाउनुपर्छ । जे छ त्यसलाई जोगाउनुपर्छ र जे छैन त्यसलाई प्राप्त गर्न निरन्तर कोसिस गर्नुपर्छ ।

२०७० सालतिर झापाको एनएमसी सहकारीले डेरी उद्योग सुरु गर्ने निधो गरेर गाई–भैंसी पालनको अवस्था, दूध उत्पादनको अवस्था आदिको अध्ययन गर्ने क्रममा म धेरै गोठमा पुगेको छु । धेरै किसानलाई भेटेको छु ।

त्यो बेला निकै उत्साहका साथ सुरु गरिएका केही ठूला भनिएका गाई फार्म केही वर्षपछि नै केही बन्द भए र केहीका मालिकहरू फेरिए । त्यसपछि पनि गाईपालन गर्ने क्रम रोकिएको छैन । झापाको मेचीनगरमा स्थापना भएका केही ठूला फार्महरू केही समय उत्साहपूर्वक चले र अहिलेसम्ममा तीमध्ये केही संकटोन्मुख भएको सुनेको छु ।

भmापामा २०७४/७५ सालतिर तीन जनाको साझेदारीमा चलेको मामा–भान्जा कृषि फार्मले निकै चर्चा पायो । त्यो अवलोकन गर्न, हेर्न, सिक्न पनि धेरै पटक पुगेको छु । लोभलाग्दो प्रयास, प्रविधि, उत्पादन सबै राम्रा थिए । तर केही वर्षमा साझेदारी भङ्ग भयो । अहिले पनि काम त हुँदैछ तर विगतको जस्तो आकर्षण र चर्चा छैन । व्यवसाय नै छाडेर विदेश जाने हो कि भन्ने सोचमा रहेको तीमध्येका एक सञ्चालक निर्मलजी बताउनुहुन्छ ।

कृषिमा मात्रै होइन शहर–बजारमा बसेर व्यवसाय गर्न चाहने धेरै युवाको हातमा सोचेको जस्तो सफलता हात परेको छैन । त्यसको कारण गर्ने नगर्ने सबैले यहाँ केही हुँदैन, गर्ने अवसर नै छैन, गर्दा पनि हुँदैन भनेर एकोहोरो विदेशिने क्रम बढेको छ ।

हो विदेश पुगेपछि यहाँ व्यवसाय गर्नभन्दा अलिकति सहज हुन्छ, त्यो पक्कै हो । त्यसले कतिलाई राम्रै कमाइ भएको छ । कतिको लागि सहज जीवनयापनको आधार बनेको छ । कतिको लागि विदेशमा नै भविष्य खोज्ने उपाय बनेको छ ।

तर, यहाँ केही हुँदैन भनेर लगाएको सबै आरोप सही नै हो भन्ने मलाई लाग्दैन । हामीले गर्ने व्यवसायको असफलतामा हामी व्यवसाय गर्ने मानिसका पनि केही कमजोरी छन् । ती कमजोरीलाई पहिल्याएर सुधार गर्ने हो भने अहिलेको तुलनामा व्यवसायमा सफल हुने दर अवश्य बढ्ने छ ।

यसको मतलब हामी सबै जना सबै व्यवसायमा सफल हुन्छौं नै भन्ने छैन । धेरै लामो अनुभव भएका, धेरै समयदेखि व्यवसायमा जमेकाहरू पनि समयक्रममा सफल र असफल हुन्छन्, भएको देखिन्छ भने नयाँ काममा र व्यवसायमा आएका युवा सबै सफल हुन्छन् भन्ने छैन ।

अनुभव, सीप, आयव्ययको सन्तुलन, बजार, धैर्य आदि व्यवसायको सफलताका लागि एकदमै आवश्यक विषय हुन् । यीमध्ये हामीसँग व्यवसाय सुरु गर्दा के छ र के छैन त्यो थाहा पाउनुपर्छ । जे छ त्यसलाई जोगाउनुपर्छ र जे छैन त्यसलाई प्राप्त गर्न निरन्तर कोसिस गर्नुपर्छ । त्यो हामीले कत्तिको गरेका छौं ?

म आफैंले २०४०/४१ सालतिर झोलाको उद्योग सुरु गरेको थिएँ । मैले उत्पादन गरेको झोला बजारमा बिकेन । गुणस्तर र मूल्यमा मेल खाएन । उपभोक्ताले रुचाएनन् । व्यापारीले बेचिदिएनन् । भारतीय चट्टी (जुट) को झोला नेपाली बजारमा देखेर कसो हुँदैन होला त भनेर उत्पादन गरेको थिएँ ।

उद्योगमा पूँजी थप गर्न, समयको माग अनुसार उत्पादन गर्न, मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द गर्नु पर्यो, घाटा लाग्यो । त्यसपछि म पुनः खरिद–बिक्री व्यवसायमै फर्किएँ । दोस्रो पटक म २०५४ सालमा उत्पादनमूलक उद्योग फर्निचरमा आएँ ।

यसमा मलाई पहिलाको असफलताको अनुभवले काम गर्यो । मैले उपभोक्ताको चाहना, आवश्यकता र सहज रूपमा कसरी उपभोक्ताले खरिद गर्न सक्छन् भनेर योजना बनाएर आएँ, म सफल भएँ । आजपर्यन्त यो फर्निचर उद्योग सञ्चालनमा छ ।

म आफैंले तीस वर्ष नेतृत्व गरेको सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले २०७५ सालबाट कृषि क्षेत्रमा काम गरिरहेको छ । जमिन खरिदमा करिब दश करोड र संरचना, मेशिनरी औजार, गाई खरिद लगायतमा अरु १४ करोड लगानी भइसकेको छ । यो कृषि फार्म निरन्तर घाटामा नै छ । सरकारले केही सहयोग गरेको छ तर पर्याप्त छैन ।

नेपालीमा व्यवसायको परम्परा, अनुभव, सीप एकदमै कम छ । त्यसैले बाख्रा पाल्ने लहर आयो भन्यो सबैले बाख्रा पाल्यो, बंगुर पाल्ने लहर आयो भन्यो सबैले बंगुर पाल्यो, गाई पाल्ने लहर आयो भन्यो सबैले गाई पाल्यो, एउटाले बस किनेको देखेपछि अरुले पनि नबुझी बस किन्न दौडिहाल्यो ।

यति हुँदाहुँदै पनि हामी कृषिमा केही गर्न सकिन्छ भनेर लागिपरेका छौं । कृषि फार्ममा गाईपालन, कष्टम हायरिङ, माछापालन, बेर्ना बैंक, साइलेज उद्योग, तरकारी खेती, च्याउ खेती, अन्नबालीको खेती आदि गरिरहेका छौं ।

घाटा भए पनि समग्रमा संस्थाले राम्रो गरिरहेको छ भन्ने लागेको छ, निरास छैनौं । विगतको तुलनामा घाटा कम गर्दै लगेका छौं । धेरैलाई जोडन सकेका छौं, अनुभव लिएका छौं । विश्वास छ– संस्थाको यो व्यवसाय पनि नाफामा जान्छ र नभए पनि लागत धान्न सक्ने अवस्थामा पुग्छ । लागत धान्नु पनि उपलब्धि हो ।

मैले आफैं असफल भएर सिकें । यो लेखको सुरुमा मेरो गाडीका चालक भाइसँगको संवादबाट मैले थाहा पाएँ उनले पनि सिके । अब उनका हातमा अलिकति पैसा हुने हो भने र त्यसमा बैंकले सपोर्ट गर्ने हो भने उनी आफ्नै गाडीको मालिक हुनेछन् । मजाले बंैकको किस्ता तिर्न सक्छन् । सीप उनीसँग थियो तर अनुभव थिएन । व्यवसाय गर्न अनुभवको खाँचो पर्छ । कमाएको पैसाको सदुपयोग कसरी गर्न सकिन्छ भनेर पनि जान्नुपर्छ । ठग, दलालबाट कसरी जोगिने भनेर पनि जान्नुपर्छ ।

नेपालीमा व्यवसायको परम्परा, अनुभव, सीप एकदमै कम छ । त्यसैले बाख्रा पाल्ने लहर आयो भन्यो सबैले बाख्रा पाल्यो, बंगुर पाल्ने लहर आयो भन्यो सबैले बंगुर पाल्यो, गाई पाल्ने लहर आयो भन्यो सबैले गाई पाल्यो, एउटाले बस किनेको देखेपछि अरुले पनि नबुझी बस किन्न दौडिहाल्यो ।

एउटाले चोकमा दोकान खोलेर कमायो भन्यो आपूm पनि त्यस्तै सटर खोजेर उस्तै दोकान थालिहाल्यो । यस्तो लहडको काम धेरै गर्छौं । घाटा लाग्यो छाडिहाल्छौं । धैर्य भन्ने छँदै छैन । घाटा किन लाग्यो थाहा पाउने र घाटा कम गर्ने उपाय लगाउनुपर्छ ।

जस्तै अभावमा वा कम उत्पादन भएको समयमा बंगुर पाल्ने, खसी पाल्ने, दूध उत्पादन गर्ने लगायतले राम्रो दाम लिएका होलान् । उत्पादन बढेपछि मूल्य कम हुन्छ । यो बेला पुरानै भाउ भए मात्रै व्यवसाय गर्ने भन्ने होइन लागत कम गर्ने र तत्कालमा व्यवसायलाई टिकाउने उपायमा लाग्नुपर्छ ।

अहिले पनि सफलताका थुप्रै कथा हाम्रा वरिपरि छन् । सम्भावना हुँदै नभएको होइन छन् तर प्रतिकूलता पनि छन् । तिनलाई चिन्ने र चिर्ने काम गर्दै व्यवसायमा रमाउन सक्नुपर्छ ।

जस्तो कि अहिले बजारमा बंगुरको मासुको अभाव छ । यो व्यवसायमा जो टिकेका छन् उनीहरूले अहिले राम्रै गरिरहेका छन् । सबै व्यवसायमा यस्तै हुन्छ । लहडमा गरेको कामले सफलता कम र असफलता धेरै ल्याउँछ । जसले व्यवसायको मर्म बुझेर, सीप सिकेर, अनुभव लिएर, संकटमा व्यवसायको लागत कम गरेर व्यवसायमा टिक्छन् उनीहरू ढिलोचाँडो सफल हुन्छन् ।

व्यवसायमा आएका कतिपय साना तथा मझौला उद्यमी व्यवसायीहरू आफ्नो व्यवसायको आम्दानी र खर्चको हिसाब नै राख्दैनन् । ऋण लिएको सबै पैसा व्यवसायमा लगाउनुको साटो चाँडो कमाइ हुने लोभमा प्लटिङमा वा घरजग्गामा लगाउँछन् । कमाएर खर्च गर्नुपर्नेमा देखासिकी गर्दै ऋणको पैसाबाटै खर्च गर्न सुरु गर्छन् ।

कमाइहालिन्छ नि भन्ने मान्यताले पहिल्यै खर्च गर्ने तर पछि कमाउन नसक्ने मात्रै होइन नयाँ–नयाँ जोखिम आइलाग्छन् र खर्च बढ्छ । अनि व्यवसाय चौपट् हुन्छ । त्यसपछि भाग्यलाई दोष, मलाई यो फापेन ऊ फापेन, उसले गर्दा भएन, त्यसले गर्दा भएन भनेर आक्रोश व्यक्त गर्छौं ।

यो बानीमा मात्रै सुधार गर्ने हो भने, व्यवसायलाई चाहिने चरित्र, सीप, इमान, पूँजी सदुपयोगिता, धैर्य, अनुभव, आत्मविश्वास, बजार आदिको बारेमा अलि बुझेर काम गर्ने र व्यवसायलाई प्रतिकूलतामा पनि जोगाउने र निरन्तरता दिने हो भने व्यवसाय सफल हुने दर अहिलेको तुलनामा अवश्य बढ्छ ।

अहिले पनि सफलताका थुप्रै कथा हाम्रा वरिपरि छन् । सम्भावना हुँदै नभएको होइन छन् तर प्रतिकूलता पनि छन् । तिनलाई चिन्ने र चिर्ने काम गर्दै व्यवसायमा रमाउन सक्नुपर्छ ।

देशमा उत्पादन बढ्दा राज्यले पनि तदनुरूपको नीति ल्याउन खुट्टा कमाउनुहुन्न । धेरै पछि दूध र दुग्धजन्य कतिपय वस्तुको आयातमा अस्थायी प्रतिबन्ध लगाएको छ । पोल्ट्रीका उत्पादन आयातमा अवरोध छ । अब माछाको उत्पादन बढेको छ । विदेशी माछा आयातमा रोक लगाउनुपर्छ । तरकारी, फलफूल र खाद्यान्नमा परिमाणात्मक बन्देज लगाउनुपर्छ । देशमा कृषिजन्य उद्योगको स्थापनामा प्रोत्साहित गर्नुपर्छ । यसले देशका उद्यमीको संरक्षणमा सघाउ पुग्छ ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?