
त्यो समय म नेपाल बाहिर बेलायत वा अमेरिका कतैतिर थिएँ, त्यसैले सबै सन्दर्भ चाहिं यकिन भएन। तैपनि नेपालका बारे निरन्तर चासो राख्ने हुनाले त्यो घटनालाई मैले राम्रोसँग नोटिस चाहिं गरेको थिएँ। त्यो दिन नेपालका सबै मुख्य पत्रिकाहरूले त्यतिबेला प्रधानमन्त्री रहेका केपी ओलीको पेजभरिको ठूला–ठूला फोटो आ-आफ्नो मुखपृष्ठमा छापेका थिए।
त्यस्तै अर्को सन्दर्भमा मैले बिजुलीका पोलैपिच्छे ओलीको फोटो टाँसिएको घटना पनि नोटिस गरेको थिएँ। त्यसरी सेलिब्रेट गर्नुमा कुनै सन्तुलित औचित्य त थियो जस्तो लागेन, तैपनि जे हुनुथियो भइहाल्यो, भयो सकियो।
२०८० को फागुन महिनाको पहिलो हप्ता नेपालमा विश्व सामाजिक मञ्चको यौटा निकै महत्वपूर्ण विश्वव्यापी सम्मेलन सम्पन्न भयो। मैले सोचेको थिएँ, यो सम्मेलनको पूरै सप्ताह नेपालका मिडियाले सम्मेलनलाई घेरेर बस्नेछन्। माथि केपी ओलीको फोटो छापेको घटना जस्तै यो घटनाको रिपोर्टिङद्वारा आ–आफ्ना मिडिया रंगीन बनाउने छन् भन्ने मेरो अनुमान थियो। र सम्भवत: त्यो हप्ताभर यो सम्मेलनको विषय बाहेक अरु विषयमा जान मिडियाले समय नै पाउने छैनन् कि भन्ने समेत मैले अनुमान गरेको थिएँ।
तर वास्तविकतामा त्यसो भएन। त्यसो भएन हैन, त्यसको ठिक उल्टो भयो। कार्यक्रम आरम्भ भएको दोस्रो दिनको अन्त्यसम्म पनि प्रमुख सञ्चारमाध्यमहरूले समेत उक्त घटनालाई महत्व दिएनन्।
यो तहको सम्मेलन नेपालमा एक पुस्तामा एक पटक हुने सम्मेलन थियो। बताइए अनुसार यो सम्मेलनमा ९८ देशबाट १४०० संस्थाको प्रतिनिधित्व गर्दै हजारौं सहभागीले भाग लिएका थिए। २५-३० देशका प्रतिनिधिसँग त म स्वयंले पनि लामो-छोटो कुराकानी गरेको थिएँ।
पूरै चार दिनसम्म काठमाडौंको भृकुटीमण्डप र प्रदर्शनीमार्ग पाँचै महादेशका मानिसहरूको चहलपहलले रंगीन र सुन्दर देखिएको थियो। र यो घटनालाई आयोजकले वा मिडियाले राम्रो प्रचार गरेको भए यसमा नेपाली जनताको पनि व्यापक सहभागिता हुनेथियो र त्यसले नेपाल र नेपालीलाई धेरै फाइदा हुनेथियो। यो मलाई ठूलै ‘गुमाएको अवसर’ हो भन्ने लाग्यो, र अहिले पनि लागिरहेको छ।
यो सम्मेलन के हो, किन महत्वपूर्ण छ, यो किन र कसरी सबै नेपालीसँग जोडिएको छ भनेर पहिल्यै बताउन सकेको भए निश्चित रूपमा यसको भिन्न प्रतिफल आउनेवाला थियो। यो वास्तवमा विश्व बुझ्न, नेटवोर्किङ गर्न, सोलिडारिटी जनाउनका लागि धेरै नै महत्वपूर्ण हुनेथियो।
विद्यार्थी, अनुसन्धानकर्ता, मिडियाकर्मी, अभियन्ता, सामाजिक उद्यमी, वातावरणवादी, राजनीतिमा चाख राख्नेहरू लगायत धेरै जनसमुदायका लागि सिक्ने मौका थियो। अन्ततः त्यो सबै पोटेन्सियलको उपयोग नभए पछि यो फगत दाताको पैसा खर्च गर्दिने यौटा सामान्य औपचारिक घटना मात्र भएर सकियो। यद्यपि आयोजकले यो सुने पढे भने, हामीले यसो गरेका थियौं, उसो गरेका थियौं त भन्ने नै छन्।
विश्व सामाजिक मञ्च आयोजना हुन थालेको जम्मा २३ वर्ष पुगेको छ। यसका आयोजकहरू, यसभित्र घुसेका व्यक्त-अव्यक्त एजेन्डाहरू, खर्चको स्रोत आदिका कुरामा प्रश्नहरू हुन सक्छन्, त्यसमा म जान चाहिनँ। तर ती कुराहरूसँग निरपेक्ष यौटा कटु सत्य के हो भने यो सम्मेलन विश्व जनसमुदायको यौटा उन्मुक्त सम्मेलन हो। यसमा कुनै जाति, धर्म, क्षेत्र, आर्थिक वर्ग वा लिङ्गको कुनै भेदभाव थिएन। विश्व सामाजिक मञ्च स्वयम् यौटा फोरम मात्र हो, यसमा कोही सदस्य वा पदाधिकारी छैन। यो विश्वभर आफ्ना हकअधिकारका लागि लडिरहेका जनताको खुल्ला मञ्च मात्र हो।
सम्मेलन कुनै औपचारिक उद्घाटन वा समापनको औपचारिकतामा समेत बाँधिएको थिएन। अन्त्यमा कुनै यौटा सग्लो घोषणा गर्न भन्दा पनि सबै सहभागी समूहहरूले आफ्नो–आफ्नो रेजोलुसन मञ्चमा टाँसिदिए र बिदा भए।
सहभागीहरूले आफ्नो ठाउँ, शहर वा देशमा भएका सामाजिक-आर्थिक समस्या र त्यससँग जुध्न गरिएका प्रयासहरूका बारे विभिन्न माध्यमबाट प्रस्तुतिहरू दिएका थिए। सहभागीहरू एकेडेमिक भन्दा पनि ग्रासरुटका अभियन्ताहरू नै बढी थिए। गरिबी, वातावरण बचाउ, जल र जमिन माथिको अधिकारको लागि गरिएको संघर्ष, दिगो आजीविका, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, साना उद्यमशीलता लगायत अनगिन्ती मुद्दाहरूको बारे प्रस्तुति दिइएको थियो।
तर यत्रो महत्वको घटनामा नेपालको रेस्पोन्स आश्चर्य लाग्ने खालको नै हुन पुग्यो। आयोजकले बोलाए बोलाएनन्, कस्तो कम्युनिकेसन गरे त्यो त मलाई थाहा छैन, तर न सरकार न मिडियाले नै यसलाई चासो दिएको देखियो। यसले एक हिसाब नेपाली मिडियाको अवस्था पनि देखायो।
यो सम्मेलन सुविधाभोगी भन्दा पनि विश्वभरका सुविधाबाट वञ्चित समुदायको अभिव्यक्ति थियो र सम्भवत: त्यसैको कारण मिडियाले यतापट्टि धेरै वास्ता नगरेको हो कि भन्ने आशंका पनि जन्मिएको छ।
यो सम्मेलनले सामाजिक आन्दोलनलाई अभिव्यक्ति दिने उद्देश्य राख्दछ। नेपालमा पनि गुठी सम्बन्धी आन्दोलन, हालैको लघुवित्त पीडित आन्दोलन, मिटरब्याज पीडित आन्दोलन, सहकारी पीडितको आन्दोलन, दूध, उखु आदि किसानको आन्दोलन जस्ता वास्तविक धर्ती टेकेका होम-ग्रोन आन्दोलनहरू पनि छन्। तर धेरैको गुनासो यस्ता होम-ग्रोन आन्दोलन भन्दा पनि आयोजकहरूले आफ्नै सर्कलका एनजीओहरूलाई मात्र सहभागी गराउने गरी कार्यक्रम आयोजना गरेका हुन् भन्ने थियो।
वास्तवमा वैदेशिक सहयोग पाउँदा मात्र क्रियाशील हुने एनजीओद्वारा समर्थित वा प्रवर्धित आन्दोलन भन्दा स्वस्फूर्त रूपले आफ्नै बुतामा उभिएका माथि उल्लेख गरिएका होम-ग्रोन आन्दोलन बढी प्रभावकारी हुने सबैले अनुभव गरेको कुरा हो। र स्मरणीय छ, यसपालिको यो सम्मेलनको स्थानीय आयोजक चाहिं नेपालकै गैरसरकारी संस्था महासंघ नै थियो।
विश्वभरका सहभागीहरूले काठमाडौंमा आएर आफ्ना संघर्षका कुरा सुनाइरहँदा, सिंहदरबारमा साम्यवादी नेता प्रचण्ड प्रधानमन्त्रीको रूपमा आसीन थिए। त्यही हप्ता देशको प्रमुख पार्टी नेपाली कांग्रेसको महासमितिको बैठक भइरहेको थियो र महामन्त्री गगन थापाले आफ्नो सांगठनिक प्रस्तावमा कसरी सामाजिक आन्दोलनलाई संगठित गर्ने भन्ने रणनीतिको बारेमा गोदावरीमा प्रस्तुति दिइरहेका थिए।
यस्तोमा सके नेपालको सरकार, यी दुवै पार्टी र त्यो नभए पनि कथित कम्युनिस्ट पार्टीहरूले यो सम्मेलनलाई मजैले प्रभावित पार्नुपर्ने थियो। कम्युनिस्ट नेताकै सरकार भएका बखत सरकारकै सहभागितामा यो कार्यक्रम भएको भए पनि खेर जाने केही थिएन। त्यो नभए पनि सरकार कार्यक्रमको वरिपरि घुम्न सक्थ्यो, सिक्न सक्थ्यो, प्रभावित गर्न सक्थ्यो, तर उसले त्यस्तो गर्दै गरेन र तिनको त्यस्तो सार्थक उपस्थिति त्यहाँ देखिएन। यसबाट यिनीहरूको भनाइ र गराइमा रहेको विशाल खाडल प्रष्ट देख्न सकिन्छ।
यसै कुरातिर संकेत गर्दै एक जना प्रतिष्ठित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका प्रमुखले मुखै फोरेर भनेका थिए कि सामाजिक मुद्दाहरू नेताहरूको प्राथमिकतामै पर्दैनन्। उनी भन्दैथिए कि अहिले हामी विश्व सामाजिक मञ्चमा छौं, यदि यो विश्व आर्थिक मञ्चको कार्यक्रम हुन्थ्यो भने देश-देशका नेताहरू असिनपसिन गरेर आइपुग्ने थिए। र, घटनाक्रमले त्यो कुरा सही नै देखिन पुग्यो।
कतिपयलाई मेरो लेख पढिसकेपछि यो पनि लाग्न सक्छ कि विश्वको कुरा सुनेर, बुझेर हामीलाई के फाइदा ? यसबाट सीधै लाभ त केही देखिन्न। यसमा के हो भने अहिलेको जस्तो अभूतपूर्व हिसाबले जोडिएको विश्वमा सबै सामाजिक मुद्दाहरू अन्तरसम्बन्धित छन्। विषयहरू राष्ट्रको सीमादेखि मुक्त छन् र समाधान पनि त्यसैगरी क्षेत्रीय र वैश्विक हुन जरुरी छ।
त्यस्तो स्थितिमा हाम्रो नेपालको समस्या वा मुद्दा पनि विश्व परिवेशद्वारा प्रभावित हुन्छ कुनै न कुनै रूपमा। तसर्थ हाम्रा सामाजिक, विकासजनित र समानताका मुद्दाहरू विश्वलाई बताउनका लागि विश्व सामाजिक मञ्च अत्यन्त प्रभावकारी मञ्च हुनेथियो। र, त्यस मार्फत हामीले हाम्रो मुद्दाका लागि अन्तर्राष्ट्रिय समाजको सहयोग, सहानुभूति र समर्थन प्राप्त गर्न सम्भव थियो।
कतिपयले कार्यक्रमका ज्यादा जसो प्रस्तुति र सहभागीहरू हेर्दा के यो कम्युनिस्ट शैलीको मञ्च वा कम्युनिस्ट सिद्धान्तबाट प्रभावित कार्यक्रम पो हो कि भन्ने ढंगले पनि बुझ्न खोजेको जस्तो देखियो। तर वास्तविकता त्यस्तो हैन। मञ्चले नवउदारवादी अर्थ व्यवस्थाको चाहिं आलोचना गर्छ, तर त्यत्तिकै भरमा यसलाई लेफ्ट वा राइट भनिहाल्न मिल्ने म देख्दिनँ।
अन्तत: यो सबै हेरेपछि के हामी नेपालीको विश्वसँग सञ्चार, समन्वय गर्ने ल्याकत वा रुचि नभएको हो वा त्यसबाट हामीले प्रत्यक्ष फाइदा नदेखेर हो नेपालले यत्रो ठूलो घटनालाई केही हैन जस्तो गरेर पठाइदिएको ? भन्ने प्रश्न माथि गहिरिएर सोच्नुपर्ने भएको छ। अथवा कि हामी हाम्रो सामाजिक मुद्दामा संवेदनशील छैनौं कि ? के हाम्रो सबै परिवर्तनको मुद्दा (एनजीओ) निर्देशित हो, जसले गर्दा बाहिरिया सहयोग नपाए यी परिवर्तनको मुद्दा हराएर जानेछन् ?
प्रतिक्रिया 4