अर्बपति एलन मस्कका योजना तथा घोषणाहरुले प्राय विश्वलाई नै चकित पारिदिने गर्दछ । पछिल्लोपटक मस्कले माइक्रोब्लगिङ साइट एक्स (पहिलाको ट्वीटर)मा गरेको एउटा टिप्पणीले पनि ठूलै तरंग पैदा गरेको छ ।
ट्वीटर (हालको एक्स) कम्पनी खरीद गरेर त्यसमा विभिन्न खालका प्रयोग तथा परिवर्तनहरु गर्दै आएका मस्कले एक्स प्लाटफर्ममा अब स्मार्ट टिभी पनि सुरु गर्ने भएका छन् ।
हुनत कम्पनीले यसअघि नै एक्समा लामो भिडियोहरु पोस्ट गर्ने सुविधा उपलब्ध गराइसकेको छ । गतवर्ष एकजना प्रयोगकर्ताले त एक्समा एउटा पूरै फिल्म नै अपलोड गरिदिएका थिए ।
तथापि पछि उक्त पोस्टलाई हटाइएको थियो । अब एक्समै स्मार्ट टिभी फिचर पनि थप गर्ने मस्कको घोषणाले भविष्यमा खासगरी युट्युबलाई ठूलै धक्का पुग्ने विश्लेषण गरिएको छ ।
मस्कले भने : छिट्टै आउँदैछ
सोसल मिडिया प्रयोगकर्ता DogeDesigner ले एक्समा एउटा तस्वीर पोस्ट गरे, जसमा स्मार्ट टिभीको भित्र एक्स प्लाटफर्म देखाइएको थियो । उक्त पोस्टलाई पुनःपोस्ट गर्दै एलन मस्कले Coming Soon अर्थात् छिट्टै आउँदैछ भनेर लेखे ।
Coming soon https://t.co/JlnlSL7eS9
— Elon Musk (@elonmusk) March 9, 2024
मस्कको उक्त पोस्टपछि नै अनुमान लगाइएको छ कि कम्पनीले छिटै नै स्मार्ट टेलिभिजनमा एक्स एप जारी गर्नेछ, जसमा भिडियो आदि हेर्न सकिनेछ ।
युट्युबलाई सकस
इन्टरनेट जगतमा गुगल कम्पनीको भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबको प्रभुत्व कसैबाट लुकेको छैन । स्मार्टफोन होस् वा स्मार्ट टिभी होस्, युट्युबको मद्दतले करोडौँ मानिसहरुले विभिन्न भिडियो तथा टेलिभिजन शोहरु समेत हेर्ने गरेका छन् ।
प्रयोगकर्ताले केही विज्ञापनसँगै युट्युबमा निशुल्क रुपमा सामग्रीहरु हेर्न पाउँछन् । पछिल्लो समयमा भिडियो स्ट्रिमिङमा युट्युबलाई फेसबुकले ठूलै टक्कर दिइरहेको अवस्थामा स्मार्ट टिभीका लागि एक्स एप लञ्च भयो भने त्यसले युट्युबलाई धक्का पुग्ने आकलन छ ।
यद्यपि स्मार्ट टिभीका लागि समेत कुनै एप लञ्च गर्ने विषयमा एक्सले कुनै आधिकारिक घोषणा भने गरेको छैन ।
– एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया 4