+
+

बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

कतिमा होला सर्वोत्तमको पहिलो कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते ९:५६

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि तय गरिने निश्चित मूल्य सीमा नै ओपनिङ रेञ्ज हो ।

बजारमा नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका लागि हाल कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र सोको अधिकतम ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तोकिने गरेको छ । तर बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा के गर्ने भन्ने विषयमा नेप्से सञ्चालक समितिमा पनि छलफल भएको थियो ।

अंकित मूल्य १ सयमा जारी भएका सेयरका लागि दोस्रो बजारमा पहिलो कारोबार हुँदा अधिकतम मूल्य प्रतिसेयर नेटवर्थको ३ गुणासम्म दिइने गरेको छ । यहीं व्यवस्था बुक बिल्डिङ विधिबाट आउने सेयरका लागि उपयुक्त हुने /नहुने विषय अझै पनि वहसमै छ । तर नेप्से बोर्ड बैठकले हाललाई कुनै पनि निर्णय नगरेकाले पुरानै व्यवस्थाअनुसार मूल्य तय हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको थियो । सो कम्पनीको आईपीओ सम्भवतः आउने साता दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु हुनेछ । बुक बिल्डिङ विधिबाट जारी हुने सेयरका हकमा ओपनिङ रेञ्जको व्यवस्था परिवर्तन गर्ने विषयमा हाललाई कुनै निर्णय भइ नसकेको पराजुलीले बताए । ‘बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा ओपनिङ रेञ्जको व्यवस्था परिवर्तन गर्ने भन्ने विषयमा बोर्डबाट कुनै निर्णय भएको छैन, त्यसकारण हाललाई पुरानै व्यवस्थाअनुसार मूल्य सीमा तय हुनेछ’ उनले भने ।

सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ । यहीं प्रतिसेयर नेटवर्थलाई मान्यता दिइँदा नेप्सेले बजारमा यस कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम मूल्य १८५ रुपैयाँ १९ पैसादेखि अधिकतम मूल्य ३ गुणा अर्थात् ५५५ रुपैयाँ ५७ पैसासम्म तय गर्नेछ । बजारमा पहिलो पटक सोही मूल्यसीमाभित्र कारोबार हुनेछ ।

पहिलो कारोबार जति मूल्यमा हुन्छ, त्यसपछिका प्रत्येक कारोबारमा सो मूल्यलाई आधार मान्दै २ प्रतिशतका दरले मात्रै घटबढ हुन सक्ने व्यवस्था छ । दिनभरमा भने १० प्रतिशतसम्म मूल्य घटबढ हुन सक्छ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ जारी गरेको थियो । गत शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भइसकेको छ । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?