+
+

नर्स हत्या प्रकरण : साथीको मोबाइलमा आएको थियो हत्याको म्यासेज

हरि अधिकारी हरि अधिकारी
२०८० चैत ३ गते ९:१४

३ चैत, विराटनगर । विराटनगर महानगरपालिका- ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै  प्रेमी जोडिएका छन् । यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन ।

घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका प्रेमी फरार छन् ।

धिरेन्द्र गिरीको घरमा  डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो ।

हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरी स्रोतको दाबी छ ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दासको शव हेर्दा बिहीबार नै हत्या भएको जस्तो देखिन्छ । ‘घटनाको प्रकृति हेर्दा हिजोअस्ति नै हत्या भएको जस्तो देखिन्छ,’ उनले भने,‘ हामी अनुसन्धान गर्दैछौं, सबै विषय खुलिसकेको छैन ।’

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट  छ ।

हत्यापछि साथीलाई म्यासेज 

प्रहरीका अनुसार बिहीबार दिनभर दास बस्ने कोठामा बाहिरबाट चाबी लागेको थियो । तर, शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको (शंकास्पद व्यक्तिको पनि) साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो ।

अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु  भनी लेखिएको छ । म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराइन् ।

शुक्रबार दिउँसो करिब १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा विभत्स अवस्थामा शव देखे, त्यसपछि प्रहरीलाई खबर गरे ।

प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएका थिए । ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरु कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा छ । तर, प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी नै हुन भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अमिन पनि स्वास्थ्यकर्मी हुन् । उनी सिराहामा नै काम गर्छन् ।

‘विभिन्न कुराहरु आएका छन्, हामी अनुसन्धान गर्दैछौं, निष्कर्षमा पुगिएको छैन,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘शंकास्पद व्यक्तिमाथि निगरानी बढाएका छौं ।’  प्रहरी स्रोतका अनुसार प्रेममा खटपट हुँदा दासको हत्या भएको देखिन्छ ।

‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्,’  कार्कीले भने,‘ विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?