+
+

मुख्यमन्त्री जम्कट्टेलले नेमकिपासँग मागे विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १२:२६

४ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आफ्नो पक्षमा बहुमत पुर्‍याउन सक्रिय भएका छन् । यसै क्रममा उनले विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भक्तपुरमा भेटेर सरकार गठनमा सघाउन अनुरोध गरेका हुन् ।

नेता गोसाईंले नेमकिपासँग मुख्यमन्त्रीले विश्वासको मत मागेको बताए । तर आफूले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको उनले जानकारी दिए । ‘उहाँहरू आउनु भएको थियो । सरकारलाई विश्वासको मत दिनुस् भनेर आग्रह गर्नुभयो । मैले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको छु’, उनले अनलाइनखबरसँग भने, ‘पहिला भारी बहुमत हुँदा पनि गतिलो ढंगले काम गर्नुभएन, त्यसकारण यो स्थिति आयो । संकट आउँदा चाहिं सबै चाहिने, अरु बेलामा कोही नचाहिने गर्नु प्रजातान्त्रिक होइन, यो शैली राजनीतिक संस्कारभित्र पर्दैन भनेँ ।’

गोसाईंले दुरदर्शी ढंगमा सरकारले काम गर्ने एजेण्डा ल्याए विश्वासको मतबारे सोच्न सकिने बताए । नेमकिपा योजना र बजेटमा केन्द्रित भएर बार्गेनिङमा नलाग्ने पनि उनले बताए । ‘भेटमा उहाँहरूले विगतमा गल्ती कमजोरी भएकै हो भन्नुभयो । अब सुधार गरेर अगाडि बढ्छौं भनेर प्रस्तुत हुनुभएको छ,’ गोसाईंले भने, ‘मैले वचन चाहिं दिएको छैन ।’

नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । तर वर्तमान सत्ता गठबन्धनको नेकपा एमालेसँग २७, माओवादीसँग २१ र नेकपा (एकीकृत समाजवादी)को ७ गरेर जम्मा ५५ सिट पुग्छ । यो समीकरणमा बहुमतका लागि नेमकिपाको ३ वा हाम्रो नेपाली पार्टीको २ मत निर्णायक छ । बागमतीमा राप्रपाको सभामुखबाहेक १२ मत छ । प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।

हाम्रो नेपाली पार्टीले भने सरकारलाई दिएको समर्थन कायम राखेकाले सरकारमा सहभागी हुन प्रस्ताव नै गरिएको सचेतक ढकालले बताएका छन् । ढकालले राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टी सकारात्मक देखिएको जानकारी गराए ।

पछिल्लो पटक नेमकिपासँग भएको छलफलबारे ढकालले भने, ‘नेमकिपासँग विश्वासको मत मागेका छौं । उहाँहरूलाई सरकारमा सहभागी गराउन होइन, विश्वासको मतका लागि मात्रै कुरा गरेका हौँ ।’

हाम्रो नेपाली पार्टीसँग पनि छलफल जारी राखिएको र विगतमा पूरा गर्न नसकेका प्रतिबद्धता आगामी कार्यकालमा सम्बोधन गरेर जाने विषयमा छलफल भएको ढकालले बताए । ‘पहिलो कांग्रेसकै कारण हाम्रो नेपाली पार्टीका माग पूरा गर्न नसकेका हौँ । धेरै मन्त्रालय र संसदीय समिति पनि कांग्रेसलाई चाहिने भएकाले साना पार्टीलाई अप्ठ्यारो परेको हो । उहाँहरूले कुरा बुझ्नु भएको छ’, उनले भने । केन्द्रीय गठबन्धनमा भागबण्डाको विषय टुंगो लागेपछि बागतीमा सरकार विस्तारले गति लिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?