+
+

यी हुन् संसारका आकर्षक पुल (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १२:४८
मलेसियाको सेरी वावासन ब्रिज

प्राचीन होउन् वा आधुनिक, विश्वका कैयन् पुलहरु निकै नै चित्ताकर्षक तथा प्रख्यात छन् । कतिपय पुलहरु लम्बाइका कारणले त कतिपय उचाइका कारणले अनि केही चाहिं पुलको ढाँचा, इन्जिनियरिङ्ग र सौन्दर्यका कारणले गर्दा चर्चित हुन्छन् ।

विश्वमा साँच्चिकै आर्किटेक्चरल आश्चर्य भन्न सकिने केही चर्चित पुलहरु यी हुन् :

१. लांगकावी पुल, मलेसिया : समुद्र सतहभन्दा करीब ७ सय मिटर उचाइमा रहेको यो घुमाउरो पुल उष्ण वर्षावनको माथिबाट गएको छ । १ सय २५ मिटर लामो यो पुलबाट निकै मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

२. क्वेस्वाचका झोलुंगे पुल, पेरु : वनस्पतीको फाइबरबाट बनेको यो पेरुको एकमात्र पुल हो । यसमा रस्सी तथा बाँधिएको डोरीको प्रयोग गरिएको छ । यो पुल हरेक वर्ष मर्मत गरेर नयाँ डोरीहरु फेरिन्छ । एक पटकमा चार जना मानिसले यो पुल तर्न सक्दछन् ।

३. रोयल गोर्ज पुल, अमेरिका : अमेरिकाको कोलोरोडोमा अर्कान्सस नदीमाथि रहेको यो पुलको उचाइँ २ सय ९१ मिटर छ । सन् १९२९ मा बनेको यो पुल सन् २०११ सम्म विश्वकै सबैभन्दा अग्लो पुलको रुपमा थियो । यो निकै रमणीय अवलोकन विन्दुको रुपमा रहेको छ ।

४. झांगजियाजीको काँचको पुल, चीन : चीनको झांगजियाजी पर्वतहरुको मुटुमा रहेको यो काँचको पुल ४३० मिटर लामो तथा जमिनको सतहबाट ३ सय मिटर उचाइँमा रहेको छ । हुनान प्रान्त प्रकृति निकुञ्जको यो एक प्रमुख आकर्षणको रुपमा रहेको छ ।

५. अकाशी स्ट्रेट पुल, जापान : कोबेलाई अवाजी टापुसँग जोड्ने यो पुलको लम्बार्य ३ हजार ९११ मिटर छ । यो विश्वकै दोश्रो लामो झोलुंगे पुल हो ।

६. गोल्डेन गेट पुल, अमेरिका : सन् १९३७ मा निर्माण सम्पन्न भएको यो चर्चित रातो पुल सनफ्रान्सिस्कोको एक प्रतिक नै हो । यो पुललाई आधुनिक वास्तुकलाको सबैभन्दा सुन्दर नमूना मानिन्छ ।

७. एरोउका पुल, पोर्चुगल : ५ सय १६ मिटर लामो यो पुल सन् २०२१ म विश्वकै लामो पैदल हिड्ने पुल बनेको थियो । जमिनको सतहभन्दा १ सय ७५ मिटरको उचाइँमा झुण्डिएको यो पुल यसका दुुबै छेउँमा रहेका भी आकारका दुई ठूला पिल्लरका कारण पनि चर्चित छ ।

८. हांगझाउ बे पुल, चीन : ३५ किलोमिटर लामो यो पुल विश्वका सबैभन्दा लामो सामुद्रिक पुलमध्ये एक हो । सन् २००८ मा ट्राफिकका लागि खुल्ला भएको यो पुलले चीनका दुई ठूला बन्दरगाह सांघाइ र निंग्बोलाई जोड्दछ ।

९. ब्रुकलिन पुल, अमेरिका : न्युयोर्कमा रहेको यो पुलले इस्ट नदी वारपार गरेर ब्रुुकलिनलाई म्यानहटनसँग जोड्दछ । १८२५ मिटर लामो यो झोलुंगे पुल पूर्वी तटीय महानगरको एक प्रतीककै रुपमा रहेको छ ।

१०. ओसन्ड पुल, डेनमार्क र स्विडेन : कूल ७ हजार ८ सय मिटर लामो यो पुलबाट गाडी र रेल दुबै गुड्छन् । यो पुलले डेनमार्कको राजधानी कोपनहेगनलाई स्विडेनको माल्मो सहरसँग जोड्दछ । यो पुलको १ किलोमिटर भाग समुद्रको माथि रहेको छ ।

११. टिटलिस क्लिफ वाक, स्विजरल्याण्ड : स्विस आल्पसको सुन्दर दृश्यावलोकन गर्न सकिने यो पुल १ मिटर चौडा र १ सय मिटर लामो छ । सन् २०१४ मा उद्घाटन भएको यो पुल १६४० फिटको भिरमा निर्माण गरिएको छ ।

१२. रान्डा झोलुंगे पुल, स्विजरल्याण्ड : सन् २०१७ मा बनेको यो पुल करीब ५ सय मिटर लामो छ। पोर्चुगलको एरोका पुल नबन्नुअघिसम्म यो विश्वकै लामो झोलुंगे पुलको रुपमा थियो ।

१३. भास्को डि गामा पुल, पोर्चुगल : १२ किलोमिटर लामो यो पुलले उत्तरी लिस्वनस्थित टागुस सामुद्रिक धाप क्षेत्रलाई पार गर्दछ । सन् १९९८ मा उद्घाटन भएको यो पुलको उद्घाटन भास्को डिगामाले भारत जाने मार्ग पत्ता लगाएको ५ सयौँ वर्षको उपलक्ष्यमा भएको थियो । लिस्वनमा सन् १७५५ मा गएको भूकम्पभन्दा साढे ४ गुणा शक्तिशाली भूकम्पको धक्का धान्नसक्ने गरी यो पुलको डिजाइन गरिएको छ ।

१४. नेस्सियो पुल, नेदरल्याण्ड : करीब ८ सय मिटर लामो यो पुल सन् २००६ बाट सञ्चालनमा आएको हो । यसले एम्स्टर्डम–राइने नहरलाई पार गर्दछ । यसमा दुईवटा स्वचालित हातहरु छन् जसबाट हाइड्रोलिक प्रविधि प्रयोग गरी यस पुललाई उठाउन सकिन्छ ।

१५. मिलाउ भायाडक्ट पुल, फ्रान्स : दक्षिणी फ्रान्सको टार्न उपत्यकामा रहेको यो पुल विश्वकै अग्लो पुल हो । यसको सबैभनदा अग्लो भाग भुइँबाट ३४० मिटर माथि छ । यो पुल सन् २००४ मा सञ्चालनमा आएको थियो ।

 

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?