+
+

पार्टी एकता चर्चाको खण्डन गर्दै माधव नेपालले जारी गरे अपानि

‘… हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनैपनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ’, अपानिमा भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:१०

४ चैत, काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै चलेका चर्चाहरु खण्डन गर्ने गरी नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले आइतबार अपानि–१४ जारी गरी गर्दै पार्टी पंक्तिलाई कुनैपनि अन्योलमा नपर्न निर्देशन दिएका छन् । अचानक सत्ता परिवर्तनका कारणले नेतृत्वको ध्यान त्यसतर्फ गएपनि कार्यकर्ता पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।

‘अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वभाविक भएपनि त्यसले हाम्रो अभियान र महाधिवेशन प्रभावित पार्न हुँदैन भन्ने कुरामा सम्पूर्ण पार्टी पंक्ति स्पष्ट हुनुपर्छ’, अपानिमा भनिएको छ ।

राष्ट्रिय राजनीतिमा एउटा सत्ता गठबन्धनको साटो अर्को गठबन्धन आउने बाहेक अरु कुनै घटनाक्रम नभएको समेत अध्यक्ष नेपालले प्रष्ट पारेका छन् । ‘सारतः हाम्रो पार्टी हिजो एउटा गठबन्धन सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ’, अपानिमा लेखिएको छ, ‘हाम्रा मन्त्रीहरुबाट परिणामुखी काम होउन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियो भनेर हामीले प्रयास गर्नुपर्छ ।’

गत २१ फागुनमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटवार्ता बाक्लिएको छ ।

यी घटनाक्रमलाई लिएर एमाले र एकीकृत समाजवादी एकतासम्म पुग्ने तयारी भएको हुनसक्ने आशंका थियो । तर त्यस्तो आशंका खण्डन गर्नेगरी अध्यक्ष नेपालले अपानि जारी गरेका छन् ।

‘… हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनैपनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ’, अपानिमा भनिएको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारी पार्टी एकतातर्फ उन्मुख भएको भन्ने चर्चा खण्डनकै निम्ति अपानि जारी गरिएको बताउँछन् । ‘कसैले पार्टी एकता नै हुन लाग्यो भन्या छ, कसैले अहिलेको सत्ता गठबन्धन छोड्न लाग्यो भनेर हल्ला गरेको छ’ ती पदाधिकारी भन्छन्, ‘यस्तो हल्ला चिर्न पनि अपानि पठाएका हौं । अहिले हाम्रो ध्यान पार्टी निर्माण र महाधिवेशन हो ।’

अपानिमा सत्ता समीकरण परिवर्तनका क्रममा भएको गतिविधि र पार्टीले लिएको निर्णय पनि समावेश छ । अपानि मार्फत् अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत नदिदा नेपाली कांग्रेसको सरकार बन्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

तर त्यसरी कांग्रेस नेतृत्वमा सरकार बन्दा पनि राजनीतिक स्थिरता नहुने विश्लेषण अध्यक्ष नेपालले गरेका छन् । ‘एकातिर प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने..’ अपानिमा लेखिएको छ ।

तर पार्टीको अस्तित्वसमेत स्वीकार नगरेको एमाले समेतले सरकारमा सहभागी हुन र गठबन्धनमा समान रुपले सहभागी गराउने प्रतिबद्धता गरेकाले सरकारमा सहभागी भएको अपानिमा उल्लेख छ । ‘वार्ताका क्रममा हामीले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको छ’ अपानिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?