+
+

कमजोर बन्दै सत्ताका सदाबहार खेलाडी देउवा

सत्ताका निपुण खेलाडी मानिने देउवा कहिले सत्ता–समीकरणको जोडघटाउ त कहिले चुनावपूर्व गठबन्धनको हतियार प्रयोगमा थिए । कमजोर सूचना संयन्त्र र अविश्वसनीय सहयात्रीका कारण अब उनी क्रमशः कमजोर बन्दै गएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० चैत ४ गते २१:१४

४ चैत, काठमाडौं । सत्ता राजनीतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘चतुर खेलाडी’ को एउटा विम्ब बन्दै आएको छ । तत्कालको लाभ र प्रयोगवादी राजनीतिमा उनीसरह खप्पिस खेलाडी नेपालको राजनीतिमा अरु नभएको विश्लेषण हुँदै पनि आएको हो ।

सरकार बनाउन र भत्काउन ‘निपुण’ भनिंदै आएका देउवा र कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको एउटा संवाद कांग्रेसजनमा चर्चित छ । कांग्रेस नेताहरुका अनुसार देउवा चौथोपटक प्रधानमन्त्री भइसकेका थिए । त्यही बेला कुनै दिन देउवा र प्रदीप गिरीको भेट भएको थियो ।

गिरीले देउवालाई भनेछन्– तपाईंको कार्यशैली भएन । यो तरिकाको तपाईंको बुद्धिले हुँदैन ।

देउवाले जवाफ फर्काएछन् – म बुद्धि नभएको चारपटक प्रधानमन्त्री भइसकें । तिमी बुद्धि भएको अहिलेसम्म एकपटक पनि राज्यमन्त्री हुनसकेका छैनौ ।’

देउवा–गिरी संवादले पुष्टि गर्छ, देउवा सत्ताको खेलमा चातुर्य भएकै कारणले पटक पटक प्रधानमन्त्री हुन सफल भएका हुन् ।

सत्ताका लागि अस्वभाविक चलखेल गर्नसक्ने नेताको पहिचान बनाएका देउवाले २१ फागुनअघि प्रचण्डको पूर्वतयारी सुइँको नपाएकै हुन् ? नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार देउवालाई प्रचण्डप्रति झिनो अविश्वास भने पैदा भएको थियो ।

‘सभापतिले भेउ पाउनुभएको थियो । ३ फागुनको केन्द्रीय समितिको बैठक सुरु हुनुअघि चिनियाँहरु सल्बलाएको भन्नुभएको हो’ खतिवडाले भने, ‘कुरा गर्न पर्‍यो, बर्बाद हुँदैछ भनेर सभापतिको कोठामा बस्दा भन्नुभएको हो ।’

खतिवडाका अनुुसार देउवासँग त्यसबेला उपसभापति खड्का पनि साथै थिए । देउवाले संकेत पाएको भने पनि सत्ता टिकाउन पूर्वाभ्यास नगरेको नेताहरु बताउँछन् ।

देउवाको ‘कमजोर सूचना संयन्त्र’

१० पुस २०७९ र २१ फागुन २०८० मा राजनीतिका दुई उथलपुथल घटना भए । यी दुई घटनाको विश्लेषण गर्नेहरु देउवा सत्तामा उलटपुलट गर्नसक्ने खेलाडी हुन नसकेको विश्लेषण गर्छन् । कांग्रेसभित्रका नेताहरु टिप्पणी गर्छन, ‘सत्ता लिन र टिकाउनका लागि प्रयोगवादी राजनीतिमा खप्पिस देउवाले आफ्नो शैली कायम राख्न सकेका छैनन् ।’

१० पुस २०७९ मा देउवाले धोका पाउँदा पनि गत २१ फागुनमा प्रचण्डले चालेको कदमको भेउ पाउन सकेनन् । पुस २०७९ को पहिलो साता देउवा सत्तामै थिए । देउवा–प्रचण्ड सत्ताको सहयात्री भएकै बेला दुईपटक गठबन्धन भत्कियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देउवाको इच्छा चुनावमा जाने थियो । संविधान विपरीत संसद विघटन भएको भन्दै पार्टीका नेताहरु लागेपछि देउवाले चुनावको पक्षमा सार्वजनिक रुपमा मुख खोल्न सकेनन् । प्रचण्ड र माधव नेपाल बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री बन्न आग्रह गरेपछि उनका लागि नसोचेको पद हात लाग्यो ।

४ मंसिर २०७९ को चुनावबाट कांग्रेस पहिलो दल बन्यो । ‘ठूलो दल भएकाले पहिलो प्रधानमन्त्री कांग्रेसबाट नै हुनुपर्छ भनेर देउवाले अडान लिन सकेको भए प्रचण्डलाई विश्वासको मत दिन निर्णय गराउने थिएनन्’, कांग्रेसका एक नेता भन्छन् ।

तत्कालीन समयमा देउवा दुई तरिकाले सत्ता आफ्नै हातमा आउने विश्वस्त थिए । उनलाई विश्वास दिलाउन प्रवक्ता प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, देउवा पत्नी आरजु राणालगायत लागेका थिए ।

तत्कालीन समयमा देउवाले पार्टीभित्र अघि सारेका दुई विकल्पमा पहिलो थियो, प्रचण्डलाई ओलीले प्र्रधानमन्त्री मान्दैनन् । दोस्रोमा, दुई वा दुई भन्दा बढी दलबाट सरकार बन्न नसक्ने अवस्था बने त्यसबेला ठूलो दलको आधारमा आफैं प्रधानमन्त्री हुने थियो ।

‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न तयार हुँदै हुँदैनन् । त्यसपछि प्रचण्ड लत्रिएर मकहाँ आउन बाध्य हुने सोंच उनीमा थियो’, कांग्रेसका एक नेता तत्कालीन समय विश्लेषण गर्दै भन्छन्, ‘त्यसो हुन नसके ठूलो दलका आधारमा तपाईं नै प्रधानमन्त्री हुनुहुन्छ भनि उनका नजिक हुनेले सल्लाह दिए ।’

देउवाले सोचे जस्तो भएन । १० पुस २०७९ मा बालकोटमा रवि लामिछाने, राजेन्द्र लिङ्देन, सीके राउतलाई आमन्त्रण गरेर ओलीले नयाँ गठबन्धन बनाउन तयारी गरेको भेउ देउवाले पाउन सकेनन् । ओलीले प्रचण्डसँग सहकार्य नहुने आश्वासन दिएर कांग्रेसलाई अल्मल्याइदिए ।

ओलीको वचनबाट ढुक्क भएर बालुवाटार बसेका देउवाले प्रधानमन्त्री पद कायम राख्न सकेनन् । कांग्रेसले प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड बालुवाटारको बैठक छोडेर सिधै बालकोट लागे ।

‘कांग्रेसलाई आश्वासन दिइरहेका ओलीले आफ्नो घरमा नयाँ गठबन्धन बनाउन नेताहरु भेला गरिसकेका थिए’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘खाना खान भनी हिंडेका प्रचण्डलाई बोलाएर ओलीले प्रधानमन्त्री बनाए । देउवाले त्यहाँ भित्र भएको खेल थाहै पाएनन् ।’

देउवाको सूचना संयन्त्र यसपटक पनि असफल रहे । प्रचण्डले पटक पटक ओलीलाई बालुवाटार बोलाएर छलफल गरे । सुरुका दुईपटक देउवाको समर्थन लिएर प्रचण्डले ओलीलाई भेटेपनि पछिल्लो समय आफू खुसी भेट्न लागे ।

‘४/५ महिना अघिदेखि केपीसँग लगातार सम्पर्क रहेको प्रचण्ड आफैंले भनेका छन् । पहिलो दुईपटक देउवालाई सोधेर भेटेको हुँ । पछि आफ्नै तरिकाले भेट्न थालेको कांग्रेसका नेताहरुसँग भनेका छन्’, कांग्रेसका नेता भन्छन् ।

दुई कम्युनिस्ट मिलेर मात्रै सरकार बनाउन सम्भव नहुने अवस्था छ । उक्त गठबन्धनमा जानबाट कांग्रेसले अरु दललाई रोक्न पूर्वतयारी गर्न सक्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, एकीकृत समाजवादी लगायतसँग संवादमा देउवा रहेनन् ।

‘दुई दलको गठजोडमा यी दलहरु सहभागी हुन सक्छन् भनेर पहिले देखि रोक्ने प्रयास हुनुपर्ने होइन । माधव नेपाल, उपेन्द्र यादव, रविसँग कुरै गरेनन्’, कांग्रेस नेता भन्छन् ।

सत्ताबाट विमुख हुने अवस्था आएपछि मात्रै प्रधानमन्त्रीको वचन दिँदै देउवा दलका नेताहरु भेट्न थाले । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई उनकै घरमा पुगेर भेटे । जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई बुढानीलकण्ठमा बोलाए । रास्वपाले पनि कांग्रेसबाट प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरेको छ । देउवा पत्नी आरजु राणाको सन्देश पुर्‍याउन रास्वपाका शीर्ष तहका नेताहरुलाई फोन आएको उक्त पार्टीका नेताहरु दाबी गर्छन् ।

कांग्रेस सहितको गठबन्धन ब्यूँताउन महत्वपूर्ण भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्का सरकारमै थिए । कुनैपनि बेला यस्तो हुनसक्छ भनि आकलन गर्नै सकेनन् । खड्का मन्त्री परिवर्तन गर्न तयार देखिएपनि आफ्नो मन्त्री पद पनि जान्छ कि भन्ने भयले थप सक्रिय हुन नसकेको नेताहरु बताउँछन् ।

कांग्रेसलाई सत्ता बाहिर पुर्‍याउन २० फागुनमा प्रचण्डले अर्को चलाखी गरे । २१ गते विहान ८ बजे गठबन्धनको बैठक बस्ने भन्दै अघिल्लो दिन खबर गरे ।

जबकि, अघिल्लो राति नै नयाँ गठबन्धनका लागि सहमति बनिसकेको थियो । रास्वपाका उच्च तहका एक नेताका अनुसार उक्त बैठक बस्नका लागि भनेर बोलाइकै थिएन । उनी भन्छन्, ‘नयाँ गठबन्धन बनाउने निर्णय अघिल्लो दिन नै भएको थियो । कांग्रेसलाई अलमलमा राख्न बैठक बोलाए जस्तो गरियो । बिहान स्थगित गरियो ।’

बैठक स्थगित भइसकेपछि बल्ल कांग्रेसले केही गढबढ भएको सुइँको पायो । प्रधानमन्त्रीलाई भेट्न उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौला २१ फागुनको विहान पुगे । कांग्रेससँगको सत्ता सहकार्य सम्भव नभएको प्रचण्डले निष्कर्ष उनीहरुलाई सुनाए ।

त्यसपछि भने प्रचण्डका लागि देउवाले धेरै त्याग्न तयार भए । मन्त्री सबै परिवर्तन, राष्ट्रिय सभाका अध्यक्ष माओवादीलाई, प्रधानमन्त्रीमा प्रचण्डलाई थप एक वर्ष लगायतमा कांग्रेसले प्रतिबद्धता जनायो ।

नयाँ गठबन्धनका लागि अघिल्लो दिन नै निर्णयमा पुगेका प्रधानमन्त्री प्रचण्ड कांग्रेसको प्रस्ताव स्वीकार्ने अवस्था थिएनन् । देउवाले २१ फागुनको दिउँसो मन्त्रीहरु बोलाएर गठबन्धन कायम रहने अवस्था नरहेको सुनाए ।

कांग्रेससँग दूरी बढाउन निहुँ खोजिरहेका प्रचण्डका लागि कोशी प्रकरण, महासमितिमा पेश भएका प्रतिवेदन, मन्त्री हेरफेरमा अड्चन लगायत कारण बने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?